आजदेखि चल्दै लामो दूरीका यातायात



कोहलपुर ।

करिब ६ महिनापछि आजदेखि देशभर लामो दूरीका सार्वजनिक यातायात चल्ने भएका छन् । गत चैत्र ११ गतेदेखि गरिएको लकडाउनका कारण बन्द रहेका लामो दूरीका सार्वजनिक यातायात आजदेखि सञ्चालनमा आउन लागेका हुन् । सोमबारको मन्त्रिपरिषद् बैठकले असोज १ गतेदेखि स्वास्थ्य मापदण्ड अपनाएर लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको थियो । करिब ६ महिनापछि बन्द रहेका सार्वजनिक यातायात व्यवसायीहरुले सञ्चालनको तयारी गरेका छन् ।

बाँकेका यातायात व्यवसायीहरुले समेत लामो दुरीका सार्वजनिक यातायात सञ्चालनको लागि सम्पूर्ण तयारी पूरा गरेका छन् । राष्ट्रिय यातायात व्यवसायी महासंघका बाँके जिल्ला संयोजक टंक बस्यालले यातायात सञ्चालनको तयारी पूरा भइसकेको जानकारी दिए । ‘विश्वकर्मा पूजा गरेर मात्र व्यवसायीहरुले आफ्ना यातायातका साधन सडकमा निकाल्नुहुन्छ’ उनले भने, ‘बिहीबारको लागि हामीले क्यू फ्री गरिदिएका छौं । साँझबाट लामो दुरी सवारीहरु सञ्चालनमा आउनेछन् ।’ यातायात कम्पनीहरुले बुधबार कोहलपुर, नेपालगञ्ज लगायतका बसपार्कमा रहेका आफ्ना टिकट काउण्टरहरु सरसफाई गरिसकेका छन् ।

‘यातायात कम्पनीले बुधबार नै काउण्टरहरु सरसफाई लगायतका सबै तयारी गरिसकेका छन्’ जिल्ला संयोजक बस्यालले भने, ‘काउण्टरमा समेत सुरक्षाका सबै मापदण्डहरु अपनाइएको छ ।’ सरकारले तोकेको मापदण्ड अनुसार सवारी सञ्चालनमा ल्याइने उनले बताए । गाडिमा सेनिटाइजर चालक र सहचालकलाई मास्क पञ्जाको व्यवस्था गरिने जिल्ला संयोजक बस्यालले जानकारी दिए । ‘गाडि स्टाफ र यात्रुको सुरक्षामा हामी गम्भिर छौं’ उनले भने, ‘मापदण्ड अनुसार क्षमताभन्दा आधा मात्र यात्रु राख्नेछौं । यात्रुहरुले समेत अनिवार्य रुपमा मास्क लगाउनुपर्नेछ ।’ सरकारले सबै सार्वजनिक यातायातले ५० प्रतिशत मात्रै यात्रु बोक्न पाउने व्यवस्था गरेको छ । जसमा व्यवसायीले थप ५० प्रतिशत भाडा यात्रुसँग लिन पाउनेछन् ।

यात्रु चढ्ने समयमा सवारी साधनको ढोकामा र भित्र अनिवार्य रूपमा सेनिटाइजर राख्नु पर्नेछ । चालक र सहचालकले भाइजर, पञ्जा र मास्क अनिवार्य लगाएको हुनुपर्नेछ । बस दैनिक डिसइन्फेक्सन गर्नुपर्नेछ । छोटो दूरीको सार्वजनिक यातायातका लागि मापदण्ड बनाए पनि लामो दूरीको लागि भने अझै मापदण्ड बनाइसकेको छैन । लामो दुरीका सवारीको लागि सरकारले मापदण्ड नबनाएसम्म पुरानै मापदण्ड लागू गरिने यातायात व्यवसायीहरुले बताएका छन् । यातायात व्यवसायीले यो दशैँमा खासै भीडभाड नहुने अनुमान गरेका छन् । लकडाउन सुरु हुनुअगाडि धेरै मानिस आफ्नो घर गएको भन्दै अहिलेको दशैमा भीडभाड कम हुने बताएका हुन् ।

६ महिनापछि सार्वजनिक यातायात सञ्चालनमा आउने भएपछि मजदुरहरु समेत खुसी भएका छन् । अखिल नेपाल यातायात व्यवसायी महासंघका केन्द्रीय उप–महासचिव राज कुमार बिसीले सार्वजनिक यातायात सञ्चालनमा आउने भएसँगै मजदुरहरुमा खुसी छाएको बताए । ‘लामो समय लामो दुरीका सार्वजनिक यातायात बन्द हुँदा यातायात मजदुर मारमा परेका थिए’ उनले भने, ‘अब केही भएपनि उनीहरुले राहत पाउँनेछन् ।’ गाडिका सबै कर्मचारीको कोरोना बिमा अनिवार्य गरिएको उनले जानकारी दिए । सवारी साधनको अनुगमन यातायात व्यवस्था विभाग, यातायात कार्यालय र ट्राफिक प्रहरीले गर्नेछन् ।

साथै संक्रमण बढेमा आवश्यक थप निर्णय जिल्ला प्रशासन कार्यालयले गर्न सक्ने निर्णय मन्त्रिपरिषदले गरेको छ । विभागको निर्देशिकामा बसहरुमा संक्रमणविरुद्धको सतर्कतालाई ध्यान दिइनुका साथै सवारी चालक, सहचालक र यात्रुको कर्तव्यसमेत प्रष्ट रूपमा तोकिएको छ । यात्रा गर्ने वा ओर्लने दूरी सुरुमै यकिन गरेर यात्रु आफैंले त्यसको खुद्रा भाडा मिलाएर दिनुपर्ने निर्देशिकामा छ । भाडा संकलनका लागि बसमा एउटा बक्स राखिने र यात्रुले त्यसैमा भाडा राखिदिनुपर्ने पनि निर्देशिकामा उल्लेख छ । चालक बस्ने ठाउँलाई पनि खुल्ला छाड्न पाइने छैन । निर्देशिकामा चालक एरियालाई प्लाष्टिकले नै भए पनि कभर गर्नुपर्ने उल्लेख छ । चालक र यात्रुका बीचमा कुनै सम्पर्क नहोस् भन्नका लागि चालक बस्ने ठाउँलाई सिल गर्न भनिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ असोज १ गते बिहीबार