नेपालगञ्ज ।
बाँकेमा ठूलो परिमाणको लागूऔषध अफिमसहित कारोबारी पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रहरी निरीक्षक हरिबहादुर बस्नेत नेतृत्वको टोलीले १० किलो लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको हो । बिशेष सूचनाको आधारमा पुगेको प्रहरी टोलीले राप्तीसोनारी गाउँपालिका–१ कुसुमबाट उनीहरुलाई सोमबार बिहान नियन्त्रणमा लिएको थियो । लागूऔषध अफिमसहित पक्राउ परेका दुवै जनालाई सोमबार पत्रकार सम्मेलन गरेर जिल्ला प्रहरी कार्यालय बाँकेले सार्वजनिक गरेको छ ।
बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाका अनुसार पक्राउ पर्नेमा रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर–८ का ५३ वर्षिय धनबहादुर सेन र दाङ घोराही उप–महानगरपालिका वडा नम्बर १९ का २४ वर्षिय निशान घर्ती मगर रहेका छन् । ‘दाङबाट लागूऔषध अफिम बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिका १ कुसुम नाका हुदैं बाँके जिल्लामा ल्याउन लागेको भन्ने सूचना आएको थियो’ पत्रकार सम्मेलनमा उनले भने, ‘जिल्लाबाट प्रहरी निरीक्षकसहितको टोली परिचालन गरेर सोमबार बिहान साढे ६ बजे पक्राउ गर्न सफल
भयौं ।’ जिल्लाबाट खटिएको प्रहरीको विशेष टोलीले कुसुम बजारस्थित बाटोमा शंकास्पद हिडिरहेका बेला चेकजाँच गर्दा पलास्टिकको १० वटा पोकामा राखेको अफिम बरामद गरेको थियो ।
प्रहरी उपरीक्षक रानाले पक्राउ परेका दुवैजना विगतमा पनि लागूऔषध अफिमको कारोबारी रहेको अनुसन्धानबाट खुलेको जानकारी दिए । ‘उनीहरु लामो समयदेखि लागुऔषध कारोबारमा संलग्न रहेको अनुसन्धानबाट खुलेको छ’ उनले भने–‘आफ्नै लगानीमा लागुऔषध गन्तब्यमा पु¥याउन बाँके ल्याएको अनुसन्धानबाट खुलेको छ । बरामद गरिएको लागुऔषध अफिम पछिल्लोपटककै सबैभन्दा ठूलो परिमाणको हो ।’ पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ । लागुऔषध नियन्त्रण ऐन २०३३ को दफा १४ (छ) को उपदफा (३) बमोजिम १५ वर्ष देखी जन्म कैद र ५ लाख देखी २५ लाखसम्म जरिवाना हुनसक्ने व्यवस्था
छ ।









प्रतिक्रिया दिनुहोस्