लागुऔषध अफिमसहित बाँकेको कुशुमबाट दुई जना पक्राउ



लागुऔषध अफिमसहित बाँके प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । दाङबाट बाँके ल्याउँदै गरेको अवस्थामा १० किलो अफिम सहित उनीहरुलाई बाँकेको कुशुमबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

बाँकेको राप्तीसोनारी–१ कुशुम बजारमा हिडिरहेका रुकुम पूर्वको उत्तरगंगा गाँउपालिका–८ का धनबहादुर सेन र घोराही उपमहानगरपालिका–१९ का बसन्त घर्ती मगरलाई चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट १० पोका अफिम बरामद गरिएको प्रहरीले जनाएको छ ।

दाङबाट अवैध लागुपदार्थ सहित केही ब्यक्ति बाँके प्रवेश गर्न लागेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षकसहितको टिमले कुशुम बजारबाट उनीहरुलाई नियन्त्रणमा लिएको बाँकेका प्रहरी प्रमुख ओम बहादुर रानाले जानकारी दिए ।
सोमबार जिल्ला प्रहरी कार्यालय बाँकेको परिसरमा पत्रकार सम्मेलन लागुऔषध अफिम सहित पक्राउ परेका ब्यक्तिलाई सार्वजनिक गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ भदौ २९ गते सोमबार