सुर्खेत ।
कर्णाली प्रदेशका विभिन्न जिल्लामा थप २८ जना कोरोना संक्रमित थपिएका छन् । बुधबार वीरेन्द्रनगरका १७ जनासहित प्रदेशमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रदेशका पाँच जिल्ला र अन्य प्रदेशका एक जिल्लाका व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको थियो । कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, चौरजहारी अस्पताल प्रयोगशाला रुकुम पश्चिम र दैलेख अस्पताल प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा संक्रमण पुष्टि भएको हो ।
नयाँ संक्रमित मध्ये सुर्खेतका १७ जना, रुकुम पश्चिमका चार जना, सल्यान र दैलेखका दुई-दुईजना, जाजरकोट, मुगु र चितवनका एक÷एकजनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जानकारी दिएको छ ।
बुधबार सबैभन्दा बढी प्रदेश राजधानी वीरेन्द्रनगरमा मात्रै १७ जनामा संक्रमण संक्रमण देखिएको थियो । वीरेन्द्रनगर नगरपालिका वडा नं. ६, ७, ८, ९, १०, १२ र १४ का सात जना महिलासहित १० जना पुरुषमा संक्रमण देखिएको महाशाखाले जनाएको छ ।
यो सँगै कर्णाली प्रदेशभर कोरोना संक्रमितको संख्या २ हजार ७ सय १९ जना पुगेको छ । पछिल्लो तथ्याङ्कअनुसार बुधबार प्रदेशमा थप १४ जना कोरोनामुक्त भएका थिए । प्रदेशमा हालसम्म कोरोनाको संक्रमणबाट मुक्त हुनेको संख्या २ हजार ३ सय ५४ जना रहेको महाशाखाले जनाएको छ ।
बुधबारसम्म प्रदेशभर ३ सय ५९ जना कोरोनाका सक्रिय संक्रमित रहेको प्रदेश स्वास्थ्य सेवा महाशाखा प्रमुख वृषबहादुर शाहीले जानकारी दिए । उनका अनुसार कर्णालीमा हालसम्म कोरोना संक्रमणका कारण ६ जनाको मृत्यु भइसकेको छ । कर्णालीका हुम्ला, डोल्पा र मुगु गरेर तीन जिल्ला भने कोरोना ‘फ्री’ भइसकेका छन् ।









प्रतिक्रिया दिनुहोस्