सिजीका ४२ जनालाई कोरोना संक्रमण



कोहलपुर ।

बर्दियाको बाँसगढीमा रहेको सिजी फुड्सका थप ४२ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा सिजीका थप ४२ जनामा कोरोना देखिएको हो ।

बाँसगढीमा एकैदिन यती ठूलो संख्यामा कोरोना संक्रमित देखिएको बाँसगढी नगरपालिकाका प्रमुख सालिकराम अधिकारीले जानकारी दिए ।

सिजीका संक्रमितमध्ये २९ जना महिला र १३ जना पुरुषहरु रहेका छन् । संक्रमित सबैजना कामदारहरु नै हुन् । स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीका अनुसार केही दिनअघि एक कामदारका कोरोना पुष्टि भएपछि केहीको स्वाब संकलन गरेर परीक्षणका लागि पीसीआर ल्यावमा पठाइएको थियो ।

फेरी आइतबार सिजीमा कार्यरत ३ सय ५० बढी कर्मचारी र कामदारहरु मध्ये १ सय २७ जनाको पीसीआर परीक्षणको लागि स्वाब संकलन गरिएको छ । प्रमुख गिरीका अनुसार आइतबार देखिएका ४२ जना संक्रमितहरुको ठेगाना बाँसगढी नगरपालिका, बढैयाताल गाउँपालिका र केही अन्य जिल्लाका रहेका छन् ।

संक्रमितमध्ये बाँसगढीका विभिन्न वडाका ३४ जना, बढैयातालका ४ जना र अन्य जिल्लाका ४ जना रहेको उनले जानकारी दिए । बाँसगढीमा कोरोनाको ‘हटस्पट’ सिजी फुड्स भनेपछि कम्पनीलाई सिल गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ भदौ २२ गते सोमबार