कोरोना रोकथाम तथा नियन्त्रण गर्न, कोहलपुरमा पौने तीन करोड रुपैयाँ खर्च



डिल्ली शाही।

बाँकेको कोहलपुर नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रण गर्नका लागि पौने ३ करोड बढी रकम खर्च गरेको छ । नगरपालिकाले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७६/०७७ को फागुन ११ गतेदेखिबाट चालु आर्थिक वर्ष २०७७÷०७८ को असार मसान्तसम्म पौने ३ करोड रुपैयाँ खर्च गरेको हो । बुधवार सर्बदलीय बैठकमा सार्वजनिक गरिएको तथ्यांक अनुसार कोरोना रोकथाम तथा नियन्त्रणको लागि नगरपालिकाले कुल २ करोड ७८ लाख ३९ हजार ५ सय ९ रुपैयाँ खर्च गरेको छ ।

कोहलपुर नगरपालिकाका लेखा अधिकृत सुदिप सुनारका अनुसार कोभिड–१९ कहरका बीच नगरपालिकाले स्थापना गरेको विपत् व्यवस्थापन कोषमा भने कुल २३ लाख ९७ हजार २ सय ७६ रुपैयाँ जम्मा भएको छ । उक्त अवसरमा कोरोना कहरका समयमा नगरपालिकाले गरेका सम्पूर्ण खर्चको विवतरण समेत सार्वजनिक गरिएको थियो ।

कोहलपुर नगरपालिकाले ६ महिनाको अवधिमा गाडि भाडातर्फ १९ लाख ६ सय ४२ रुपैयाँ, स्वास्थ्य सामग्रीतर्फ ३४ लाख ९८ हजार ७ सय २२ रुपैयाँ खर्च गरेको छ । यस्तै कोहलपुर नगरपालिकाका १३ वटा वडाहरुले दोश्रो चरणमा कुल ११ लाख ३३ हजार ७ सय ७९ रुपैयाँ खर्च गरेका छन् भने कोहलपुरका वडा नम्बर ३, ८, ९ र ११ ले दोश्रो चरणको राहतमा खर्च गरेनन् ।

नगरपालिकाले सार्वजनिक गरेको तथ्यांक अनुसार आईसोलेसनमा खटिएकाको खाजा र आवास सुविधा बापत ५ लाख २० हजार २ सय ९० रुपैयाँ खर्च भएको छ । पिपरी कृषि विकास तालिम केन्द्र क्वारेन्टिन सेन्टर र अन्य क्वारेन्टिनको लागि २ लाख ९४ हजार १४ रुपैँयाँ खर्च भएको छ । गाडि मर्मत तर्फ खर्च १ लाख ४० हजार ७ सय २३ रुपैयाँ रहेको छ ।

नगरपालिकाका लेखा अधिकृत सुनारले सन्देश मुलक सूचना जारी र ब्यानर छपाईमा ३ लाख २२ हजार ७ सय ९८ रुपैयाँ खर्च गरेको जानकारी दिए । आईसोलेसनमा खटिएका दैनिक खाजा र व्यवस्थापनका लागि सामग्री खरिद् बाफत १३ लाख ४२ हजार ४ सय ९९ रुपैयाँ खर्च भएको उनले बताए । यस्तै कोहलपुर नगरपालिकाका १ देखि १५ नम्बर वडामा बनाइएका क्वारेन्टिनको लागि २८ लाख १९ हजार ९ सय ४२ रुपैयाँ भुक्तानी दिन बाँकी रहेको नगरपालिकाले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ भदौ १२ गते शुक्रबार