नेपालगञ्ज ।
बाँकेमा आइतवार एकैदिन १६ जना सुरक्षाकर्मीसहित नयाँ २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा आइतवार साँझसम्म २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
४ सय ३० वटा नमुना परीक्षण गर्दा बाँकेका २४ र सल्यानका एक गरी कुल २५ जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।
संक्रमित भेटिएकामध्ये शसस्त्र प्रहरी गुल्म ४२ नम्बर नेपालगञ्जमा कार्यरत १६ जना शसस्त्र प्रहरी रहेका छन् ।
तीन जना ग्लोबल बैंक बाँकेका कर्मचारी, कोहलपुर नगरपालिका ११ का तीन जना र वडा नम्बर १२ का एक जना तथा खजुरा गाउँपालिका वडा नम्बर ६ का एक सर्वसाधारण गरी २४ जना बाँकेका र सल्यान कपुरकोटका एक जनामा कोरोना देखिएको उनले बताए । आईतबार कोरोना संक्रमण पुष्टि भएकाहरुमा ५ जना महिला र २० जना पुरुष रहेका छन् ।
यसअघि पनि बाँकेमा शसस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । साउन ३० गते जानकी गाउँपालिकामा संकलन गरिएको स्वाब परीक्षण गरिएको थियो ।
आइतवार भेटिएका संक्रमित यद्यपी जानकी गाउँपालिकाका व्यक्ति भने नरहेको कोरोना स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिए । हालसम्म भेरी अस्पताल नेपालगञ्जमा प्राप्त स्वाब नमुना २९,०४० रहेको छ ।
जसमध्ये २९,०३० नमुना जाँच गरिएको र १० वटा नमुना जाँच गर्न बाँकी रहेको छ । यी स्वाब नुमना परीक्षण गर्दा १२६८ जनामा कोरोना भाइरस संक्रमण देखिएको प्रयोगशालाले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्