थपियो अन्तःशुल्क नवीकरणको म्याद



कोहलपुर ।

सरकारले अन्तःशुल्क इजाजतपत्र नवीकरणको म्याद थप गरेको छ । अर्थ मन्त्रालय आन्तरिक राजस्व विभागले एक सूचना जारी गरेर अन्तःशुल्क इजाजतपत्र नवीकरणको म्याद थप गरिएको बताएको हो ।

अन्तःशुल्क ऐन, २०५८ को दफा ९ को उपदफा (५) बमोजिम अन्तःशुल्क इजाजतपत्र हरेक वर्ष साउन महिनाभित्र नवीकरण गरिसक्नुपर्ने व्यवस्था रहेको थियो ।

यसवर्ष भने कोरोना कहरका कारण असोज समान्तसम्म अन्तःशुल्क इजाजतपत्र नवीकरणको म्याद थप गरिएको राजस्व विभागले जनाएको छ ।

विभागले जारी गरेको सूचना अनुसार शुक्रबारको अर्थ मन्त्रीस्तरीय निर्णयाअनुसार म्याद थप गरिएको उल्लेख गरिएको छ । ‘हरेक महिनाको साउन महिनाभित्र नवीकरण गरिसक्नुपर्ने व्यवस्था रहेको थियो’ जारी सूचनामा भनिएको छ, ‘हाल कोभिड–१९ का कारण सिर्जित असहज परिस्थितीमा उक्त अवधी २०७७ असोज समान्तसम्म थप गरिएको छ ।’

सरकारले गरेको यो निर्णयको उद्योगी व्यवसायीहरुले भने स्वागत गरेका छन् । नेपालगञ्जका उद्योगी गिरीराज भूषालले सरकारले गरेको निर्णयले व्यवसायीहरुलाई केही राहत दिने बताए ।

‘सरकारले गरेको यो निर्णय सकारात्मक त रहेको छ । तर कोरोना कहरको मारमा परेका उद्योगी व्यवसायीहरुलाई अन्य राहात ल्याउनुपर्छ’ उनले भने ।

  • No tags available
प्रकाशित मिति : २०७७ भदौ १ गते सोमबार