बर्दियामा थपियो निषेधाज्ञा, अवज्ञा गर्ने व्यवसायीको निर्णय



रावन विश्वकर्मा, बाँसगढी ।

बर्दियामा जारी निषेधाज्ञा पाँच दिन थप गरिएको छ । प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीको अध्यक्षतामा आईतवार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले जारी निषेधाज्ञा दोस्रो पटक थप गर्ने निर्णय गरेको हो ।

बैठकले भदौं ५ गते राती १२ बजेसम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको थियो । साउन २५ गतेदेखि २९ गतेसम्म घोषणा गरेको निषेधाज्ञालाई ३ दिन थप गर्दै साउन ३२ गते आईतवार राती १२ बजेसम्म पहिलोपटक पु¥याएको थियो ।

बर्दियामा कोरोना संक्रमण बढिरहेको र समुदाय स्तरमा समेत संक्रमण देखिएकाले जोखिमलाई नियन्त्रणमा राख्न निषेधाज्ञा थप पाँच दिन थप गरिएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जानकारी दिए । ‘निषेधाज्ञाको अवधिमा पनि अत्यावश्यक खाद्यान्न सामाग्री आवश्यक परे प्रहरीसँग सम्पर्क गरी किन्न सकिनेछ’ उनले भने ।

बैठकले अत्यावश्यक सेवा प्रवाह गर्ने सरकारी कार्यालयहरु र बैंक तथा वित्तिय संस्थाहरुले केही कर्मचारी राखि स्वास्थ्य सुरक्षा मापदण्डको पुर्ण पालना गरी अत्यावश्यक सेवा प्रवाह गर्ने निर्णय समेत गरेको थियो ।

त्यस्तै कोरोना संक्रमण देखिएका विरामीलाई राखी उपचार गर्ने लेभल–१ को अस्पताल बर्दियामा नभएकाले लक्षण देखिएका विरामीलाई राखी प्राथमिक उपचार गर्ने प्रयोजनका लागि साविक महिला विकास कार्यालय गुलरियाको भवनलाई आईसोलेसन सेन्टरको रुपमा तत्काल निर्माण समेत निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रशासकीय अधिकृत नारायण प्रसाद ढकालले बताए ।

निषेधाज्ञा पालना भए नभएको सम्बन्धमा स्थानिय तहहरुसँग समन्वय गरी अनुगमनलाई थप प्रभावकारी बनाउने उनले दाबी गरे ।

यता उद्योग बाणिज्य संघ जिल्ला समन्वय समिति बर्दियाले स्थानिय प्रशासनले ५ दिन थप गरेको निषेधाज्ञालाई अवज्ञा गर्ने निर्णय गरेको छ ।

बर्दियाका ८ वटै स्थानिय तहमा रहेका उद्योग बाणिज्य संघहरुको आकस्मिक टेलिफोन छलफल मार्फत कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा सहयोग गर्ने तर चाडपर्वको मुखमा आउँदा उपभोक्ता र व्यापारी मारमा पर्ने गरि जारी गरिएको निषेधाज्ञालाई अवज्ञा गर्ने निर्णय गरिएको उद्योग वाणिज्य संघ जिल्ला समन्वय समिति बर्दियाका संयोजक विर बहादुर चौधरीले जानकारी दिए ।

उनले स्वास्थ्य सुरक्षा मापदण्डको पुर्ण पालना गर्दै निश्चित समय अवधिमा व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने सबै उद्योग वाणिज्य संघहरुको माग रहेको बताए ।

यता बाँसगढी उद्योग वाणिज्य संघका अध्यक्ष रामसिंङ थारुले स्वास्थ्य सुरक्षाका मापदण्डको पुर्ण पालना गर्दै व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने बताए । स्थानिय प्रशासनले जारी गरेको अहिलेसम्मको निषेधाज्ञालाई पुर्ण रुपमा सहयोग गर्दै आएको तर हरितालिका तीज नजिकै आएको बेला व्यवसायीहरु मारमा पर्ने गरि निषेधाज्ञा थप गरिएको भन्दै उनले विरोध जनाए ।

‘विश्वमा महामारीको रुपमा फैलिएको कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि सबैको सहयोग अपरिहार्य छ’ उनले भने, ‘तर ५ दिनको निषेधाज्ञाले मात्रै कोरोना रोकथाम तथा नियन्त्रण गर्न सम्भव छैन् ।’

कोरोना कहरका बीचमा पनि आवश्यक सावधानी अपनाउदैं निश्चित समय र अवधिमा व्यवसाय खोल्न पाउनु पर्ने व्यवसायहरुको माग समेत रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ भदौ १ गते सोमबार