सवारी साधन कारवाहीमा, कारवाहीबाट ७० हजार राजश्व संकलन



कोहलपुर ।

बाँकेमा सरकारी निर्णय उल्लघंन गर्ने २ सय ४१ सवारी साधन शनिवार कारवाहीमा परेका छन् । जिल्ला विभिन्न स्थानबाट सरकारी निर्णयको अवज्ञा गरेको भन्दै उक्त सवारी साधनलाई कारवाही गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार सङ्क्रमक रोग ऐन २०२० बमोजिम १ सय २६ वटा सवारी साधनलाई कारवाही गरिएको थियो ।

जिल्लामा निषेधाज्ञा हटाएर स्थानीय प्रशासनले सवारी साधनमा गरेको जोर–बिजोर प्रणाली अटेर गर्ने १ सय १५ वटा सवारी साधनहरु कारवाहीमा परेका थिए । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास खड्काले सवारी साधन कारवाहीबाट ७० हजार १ सय राजश्व संकलन भएको जानकारी दिए । सङ्क्रमक रोग ऐन २०२० बमोजिम १ सय २६ वटा सवारी साधनलाई एक सयका दरले कारवाही गर्दा १२ हजार ६ सय रुपैयाँ संकलन भएको थियो ।

त्यसैगरी जोर बिजोर प्रणाली उल्लघंन गर्ने १ सय १५ वटा सवारी साधनलाई प्रति सवारी ५ सय रुपैयाँ जरिवाना गरिएको हो । सो बाफत ५७ हजार ५ सय रुपैयाँ राजश्व उठेको बाँके प्रहरीले जनाएको छ । शनिवार बाँकेमा बिजोर नम्बरका सवारी साधन सञ्चालन गर्ने अनुमती रहेको थियो । शनिवार सकंलन भएको सबै राजश्व जिल्ला प्रशासन कार्यालय बाँकेमा बुझाईएको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।

आज आइतबार भने जिल्लामा कोहलपुर नगरपालिका क्षेत्रभित्र बाहेक अन्य स्थानमा जोर नम्बरका सवारी साधन सञ्चालन हुन पाउने बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले जानकारी दिए । उनका अनुसार आज बिजोर नम्बरका सवारी साधनलाई सडकमा गुड्न निषेध गरिएको छ । सवारी साधनको नम्बर प्लेटमा अन्तिममा १, ३, ५, ७, ९ उल्लेख भएका सवारी साधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ साउन ३२ गते आइतबार