नेपालकै अग्लोे हनुमानको मूर्ति कोहलपुरमा



शुभाकर विश्वकर्मा । कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ३ मा नेपाल कै सबैभन्दा अग्लो हनुमानको मूर्ति निर्माण गरिएको छ । स्थानीय एक व्यक्तिको व्यक्तिगत लगानीमा नेपालमा सबैभन्दा अग्लो ७५ फिटको हनुमानको मूर्ति निर्माण सम्पन्न भएको हो । मदनचोक निवासी द्रोणप्रसाद जैशीको व्यक्तिगत करिब ४० लाख लगानीमा शंकर भगवान मन्दिरको प्रांगणमा मुर्ति निर्माण कार्य सम्पन्न भएको छ । निर्माण कार्य सम्पन्न भएसँगै मूर्ति अवलोकन गर्न आउनेहरुको भीड लाग्ने गरेको छ । मूर्ति कोहलपुर– धनगढी सडकखण्डमा मदनचोकदेखि १ सय मिटर भित्र रहेको छ ।

जुन सडकबाट समेत स्पष्ट रुपमा देखिन्छ । तीन प्रदेशको ट्रान्जिटका रुपमा रहेको कोहलपुरको पहिचान अब सांस्कृतिक रुपमा समेत विकास हुने विस्वास लिइएको छ । उक्त मन्दिर व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका जैशीले हनुमानसहित राम, सिता र लक्ष्मणको समेत साना मूर्ति पनि निर्माण गरिएको जानकारी दिए । उनका अनुसार त्यो मूर्ति आफ्ना स्वर्गीय आमा र बुबाको सम्झनामा निर्माण गरिएको हो । ‘पहिला ११ फिट बनाउने योजना थियो । धेरैसँग सोधखोज पनि गरियो । पछि २५ फिट बनाउने कुरा भयो । तर मलाई विशेष बनाउनु पर्छ भन्ने लागेको थियो’ उनले भने ।

सबैले आमा बुबाको सम्झनामा बनाउने भए विशेष खालको निर्माण गर्न भनेर पनि सुझाए । त्यसको लागि उनले जति खर्च भएपछि हनुमानको मूर्ति विशेष खालको बनाउने योजना बनाएका थिए । मूर्तिको निर्माणका लागि अध्ययन÷ अवलोकनको लागि आफू नेपाल तथा भारतका विभिन्न धार्मिक क्षेत्रको भ्रमण गरेको उनले बताए । उक्त अवसरमा भारतको गुजरातमा १ सय ५ फिट र नेपालको गोदावरी ५५ फिट अग्लो एउटा मात्रै मूर्ति भएको थाहा भयोे । त्यस पछि एउटा इतिहास कायम हुने हिसाबले मूर्ति तयारी गर्ने सोच पलायो उनलाई । हनुमानको यो भन्दा ठूलो मूर्ति नेपालमा अन्त कतै नबनेको उनको भनाइ छ । जैशीका अनुसार नेपालमा अहिलेसम्म अन्य मूर्ति बनेको छैन ।

मूर्ति निर्माण गर्नुमा आफ्नो व्यक्तिगत स्वार्थ केही पनि नरहेको भन्दै कोहलपुरलाई साँस्कृतिक रुपमा समेत चिनाउको लागि पनि निर्माण गरिएको उनी बताउँछन् । आगामी दिनमा यो मूर्ति अवलोकनको लागि देश तथा विदेशहरुबाट सयौं मानिसहरु आउने आशा गरिएको पनि जैशीले बताए । उनी भन्छन्, ‘मानिस भएर जन्मिएपछि एकदिन मर्ने नै हो । बाचुञ्जेल केही राम्रो काम गर्नुपर्छ । भौतिक शरिर नरहेपनि आफ्नो निसाना छोड्नुपर्छ । फजुल खर्च गर्नु भन्दा देश र समाजका लागि राम्रै हुन्छ ।’ यस्तै उनले विकासको जिम्मा सरकार मात्रै नभएर आम नागरिकको समेत भएकोमा जोड दिए ।

मूर्ति निर्माणपछि छिटफुट रुपमा मान्छेहरु आउन थालिसकेकोले कोरोना महामारीपछि धेरै मानिस आउने समितिको विस्वास रहेको छ । मूर्ति बाहेक अन्य मन्दिरका संरचना निर्माणका लागि स्थानीय सरकार र व्यक्तिहरुबाट भने सहयोग प्राप्त भएको छ । स्थानीय सरकारबाट विभिन्न समयमा गरी ६ लाख रुपैयाँ सहयोग प्राप्त भएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

समितिले दिएको जानकारी अनुसार मन्दिरका पुजारीको आवास निर्माण गर्नको लागि वडाबाट एक लाख सहयोग प्राप्त भएको छ । समितिका अध्यक्ष जैशीले कोहलपुरका व्यवसायी सन्तोष उप्रेतीले होम कुण्ड निर्माणको लागि १ लाख सहयोग गर्ने वचन दिएको बताए । उक्त कुण्ड निर्माण भइरहेको छ । यता कोहलपुर वडा नम्बर ३ ले पनि उक्त मूर्ति निर्माण भएको र वडाको तर्फबाट गर्न सकिने सहयोग गर्न आफूहरु तयार रहेको जनाएको छ । वडा सदस्य रेखा सुनारले मुख्य सडकदेखि मन्दिरसम्म पुग्नको लागि बाटो पक्की बनाउने विषयमा वडामा सल्लाह भइरहेको जानकारी दिइन् ।

  • No tags available
प्रकाशित मिति : २०७७ साउन २७ गते मंगलबार