कोहलपुर ।
कोरोना भाइरस (कोभिड–१९)का कारण बाँकेमा थप एक जनाको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत ७० वर्षीया महिलाको मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङवाङले जानकारी दिए ।
मृतक महिला कोहलपुर नगरपालिका वडा नम्बर २ निवासी हुन् । मृतक महिला न्यूमोनियाबाट ग्रस्त भई गत २३ गते उपचारको लागि अस्पतालमा भएको र सोही दिन स्वाब संकलन गरी जाँचको परीक्षणको लागि पठाईएकोमा कोरोना पुष्टी भएको थियो । उनको मृत्युपछि मात्रै कोरोना संक्रमित भएको पुष्टि भएको अस्पतालले जनाएको छ ।
सुरूदेखि नै ती महिलामा कोरोना भाइरसको स्पष्ट लक्षण देखिएको हुँदा अस्पतालमा समेत आइसोलेट गरी राखिएको थियो । यो सँगै कोरोना भाइरसका कारण जिल्लामा मृत्यु हुनेको संख्या ३ पुगेको छ । यसअघि बाँके, नरैनापुर गाउँपालिका वडा नम्बर ५ का २४ वर्षीय युवक र बैजनाथ गाउँपालिका निवासी महिलाको कोरोना भाइरसका कारण मृत्यु भएको थियो ।
बाँकेमा मृत्यु भएका तीनै जनालाई मृत्यु पश्चात कोरोना भाइरस पुष्टि भएको हो । आइतबार मृत्यु भएकी महिलाको आवश्यक सजगता अपनाएर नेपाली सेनाको भैरवप्रसाद गण राँझाको टोलीले सम्मानका साथ अन्तिम संस्कार राती नै गरिसकेको छ ।










प्रतिक्रिया दिनुहोस्