योजना कार्यान्वयन गर्न समस्या भो



शिवु खनाल । दाङ ।

स्थानिय पूर्वाधार विकास साभेदारी कार्यक्रम (सांसद कोष) को बजेटबाट दाङको लमही नगरपालिका वडा नम्बर ५ मा रहेको देउखुरी बहुमुखी प्रशासनिक भवन निर्माणको लागि विनियोजन भएको ५० लाखमध्ये बजेटमा जम्मा ३७ लाख मात्रै निकासा भयो । क्याम्पसको भवन निर्माण उपभोक्ता समितिले १३ लाख रुपैयाँ नोक्सान
व्यहोर्नु प¥यो । उपभोक्ता समितिको श्रमदान १० प्रतिसतभन्दा बढी रहने पालिकाको नियमले नोक्सानको दर अझ बढ्छ । क्याम्पस एउटा उदाहरण मात्रै हो । सोही शिर्षकमा लमही आँखा अस्पतालको लागि भवन निर्माणमा विनियोजन गरिएको बजेटमा पनि उस्तै समस्या छ ।

उपभोक्ताले बजेटको सिलिङ हेरेर काम गर्ने र कामको आधारमान भइ प्राविधिक स्टेमेटको आधारमा बजेट निकासा हुने परिपाटीका पूर्ण बजेट खर्च नभएर फिर्ता जाने समस्या छ । देउखुरी बहुमुखी क्याम्पस प्रशासनिक भवन निर्माण समितिका अध्यक्ष प्रकाश जिसीले कार्यविधिमै समस्या रहेको बताउँछन् । क्याम्पस संचालक समितिका उपाध्यक्ष तथा निर्माण समितिका अध्यक्ष समेत रहेका जिसीले भने, ‘कामको अनुसारको रकम नपाउने र बजेट अनुसारको काम नहुने यो समस्याले उपभोक्ता समितिको कार्य प्रकृयामा नै प्रश्न उठेको छ ।

प्राविधिकले रकमअनुसारको विल नउठाउने तर काम यो भएन भनेर बारम्बार प्रश्न गरिरहने भन्दा माथिल्लो निकायबाट कार्यविधिमै परिवर्तन ल्याउँदा सहज हुन्छ ।’ जिसीले जस्तै समस्या लमही आँखा अस्पताले पनि व्यहोरेको छ । काम गरे अनुसारको रकम निकासा नहुँदा आँखा अस्पताल जस्ता सामुदायिक संस्थाले धेरै झन्झट व्यहोर्नु परेको आँखा अस्पताल भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष तिलक केसीले बताए । ‘बजेटकै विषयमा कतिपटक नगरपालिकाका प्राविधिकसँग झगडा भयो, उहाँहरु रकम दिन नमान्ने हामीहरु रकम चाहियो भन्ने यो लिने दिने जस्तो भयो’ उनले भने । उपभोक्ताका कुरा सुनिसकेपछि दाङ क्षेत्र नम्बर १ का संघीय सांसद मेटमणि चौधरीले योजना कार्यान्यनमा देखिएका समस्या पूर्वाधार विकास कार्यक्रममा मात्र नभएर सबैमा रहेको बताएका थिए ।

उनले भने ‘यहाँहरुको दाबी अनुसार भन्दा पनि प्राविधिक स्टेमेट अनुसार भुक्तानी दिने व्यवस्था छ, आगामी दिनहरुमा स्टेमेटकै आधारमा काम गर्दा सहज हुन्छ ।’ संघबाट विनियोजन भएका सबै बजेट स्थानीय तहबाटै अनुगमन तथा भुक्तानी हुने गर्दछ । बजेट विनियोजन गर्दा विनियोजित बजेट बराबरको रकम भुक्तानी नहुने समस्याले उपभोक्ता बजेट कार्यान्वयनमा चासो नदेखाउने समस्या बढ्ने नागरिक समाज दाङका उप–संयोजक निमवहादुर थापाले बताए । योजना कार्यान्वयनमा केहि प्रकृया झन्झटिला जस्तो मानिए पनि पारदर्शीता र जवाफदेहीताको हिसावले आवश्यक रहेको प्राविधिकहरु बताउँछन् । लमही नगरपालिका इन्जिनियर सौगात वलीले स्टेमेट अनुसार काम नहुँदा रकम कम निकासा हुने गरेको बताए । ‘हामी प्राविधिकहरुलाई रकम काट्ने रहर हुँदैन, निर्माण सामाग्री स्टेमेट अनुसार प्रयोग नगर्ने र पूरा नगर्दा समस्या भएको हो’ उनले अगाडि भने ।

बजेटको कमी हँुदैनः सांसद चौधरी

संघीय सांसद चौधरीले आफ्नो निर्वाचन क्षेत्रमा बजेटको कमी हुन नदिने बताएका छन् । शनिबार दाङको लमहीमा स्थानिय पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट सम्पन्न भएका योजनाको समिक्षा कार्यक्रममा उनले यस्तो कुरा बताएका हुन् । सांसद चौधरीले चालु आर्थिक वर्षमा सम्पन्न गर्ने गरी दाङ क्षेत्र नम्बर १ का एक अर्ब ६ करोड भन्दा बजेट विनियोजन भएको जानकारी दिए । संघीय मन्त्रालयको विभिन्न शिर्षकबाट विनियोजन भएका बजेटसहित चालु आर्थिक वर्षमा उक्त बराबरको बजेट रहेको उनको भनाई रहेको थियो ।

सांसद क्षेत्र विकास कार्यक्रमको बजेटबाट आफुले शिक्षा क्षेत्रमा जोड दिए पनि आगामी आर्थिक वर्षदेखि अन्य क्षेत्रमा समेत बजेट विनियोजन गर्ने उनले प्रतिबद्धता जनाए । कार्यक्रममा सहभागि संघीय सांसद गंगा थारु सत्गौंवाले जनताको इच्छा अनुसार आफुहरुले देउखुरी क्षेत्रमा प्रशस्त योजनाको लागि पहल गरेर बजेट समेत निकासा समेत भइरहेको जानकारी दिए । दाङको नाका क्षेत्रमा सुरक्षाकर्मिको भवन निर्माणको लागि बजेट व्यवस्थापन गरिएको उनले बताए । नाका क्षेत्रमा सुरक्षाकर्मी नै भौतिक पूर्वाधारको अभावमा समस्यामा रहेको भन्दै उनले मुसीनाका प्रहरी चौकी, डगमारा, खाङग्रा शस्सत्र प्रहरी, सुनपत्री शसस्त्र प्रहरीको भवन निर्माणको लागि चार करोड बजेट विनियोजन भएको जानकारी दिए ।

प्रकाशित मिति : २०७७ साउन २५ गते आइतबार