कोहलपुर ।
बाँकेको कोहलपुरमा शुक्रबार कोभिड–१९ विरुद्ध जनचेतनामुलक ¥याली निकालिएको छ । कोहलपुर उद्योग बाणिज्य संघको आयोजना र जिल्ला प्रशासन कार्यालय बाँकेको समन्वयमा सचेतनामूलक ¥याली निकालिएको हो ।
उक्त ¥यालीमा बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङ, प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओम बहादुर राना, संघका अध्यक्ष चक्र बहादुर अधिकारी लगायतहरुले बजार क्षेत्रमा मास्क वितरण गरेका थिए । बजारमा मास्क नलगाएका मानिसहरुलाई उनीहरुले निःशुल्क रुपमा मास्क वितरण गरेका हुन् । प्रमुख जिल्ला अधिकारी लगायतले मास्क नलगाएकाहरुलाई किन मास्क खाई ? भनेर प्रश्न गरेका थिए । प्रजिअ कुरुम्बाङले स्थानीयहरुलाई मास्कको प्रयोग गर्न आग्रह गर्दै अबदेखि प्रयोग नगरेको पाइएमा कारबाही गरिने बताए ।
उनको नेतृत्वको टोलीले कोरोना विरुद्धको जनचेतना जगाउने प्लेकार्ड बोकेर चौराहादेखि, न्यूरोड चोक, साँझा चोक हुँदै पिपल चौतारासम्म पुगेका थिए । सो क्रममा पसल, सडकमा हिड्ने पैदल यात्री, साइकल, मोटरसाइकल, रिक्सा तथा सवारी चालक लगायतहरुलाई ‘मास्क लगाउनुपर्छ है, लिनुस् मास्क’ भन्दै मास्क वितरण गरिएको थियो । बाँकेमा समुदाय स्तरमा कोरोना फैलिसकेकाले सचेतना अभियानलाई तिव्र पारिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । प्रजिअ कुरुम्बाङले बजारमा ५० प्रतिशत भन्दा बढी नागरीकहरुले मास्कको प्रयोग नगरेको पाइएको जानकारी दिए ।
‘बजारमा अधिकांश मानिसहरुले मास्क प्रयोग नगरेको पाइयो’ उनले भने, ‘मास्क मात्र होइन लकडाउन अन्त्य भएसँगै स्वास्थ्य प्रोटोकल अनुसरण गरेको पाइएको छैन ।’ समुदाय स्तरमा कोरोना संक्रमण फैलिसकेको भन्दै जिल्ला प्रशासन कार्यालय बाँकेले आज राती १२ बजेदेखि लागू हुनेगरी तीन दिनसम्म बाँकेमा निषेधाज्ञा जारी गरेको छ । बिहीवार मात्रै बाँकेमा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । ती मध्ये २८ जना क्वारेन्टिनमा नबसेका व्यक्तिहरु रहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । लकडाउन अन्त्य भएसँगै बजारमा भिडभाड बढ्दा कोरोना संक्रमण फैलिदो क्रममा रहेको बताइन्छ ।









प्रतिक्रिया दिनुहोस्