रावन विश्वकर्मा, बाँसगढी ।
बर्दियाको बाँसगढीमा रहेको प्राकृतिक रमणीय च्यामाताल सिमसार क्षेत्रमा पिकनिक स्पोर्ट बनाइएको छ । च्यामाताल क्षेत्रमा पिकनिक खान जानेहरुका लागि बाँसगढी नगरपालिकाले पिकनिक स्पोर्ट बनाइदिएको हो । बाँसगढीको विकट वडा नम्बर २ को राँझा टापुमा रहेको च्यामाताल सिमसार रहेको छ । यो क्षेत्रमा पर्यटकिय गतिविधि बढाउनको लागि व्यवस्थित पिकनिक स्थल बनाइएको बाँसगढी नगरपालिकाले जनाएको छ । च्यामाताल तथा त्यहाँको पिकनिक स्थलको बाँसगढी नगरपालिका प्रमुख सालिकराम अधिकारीले उद्घाटन गरेका छन् ।
उनले सिमसार क्षेत्रको प्राकृतिक सौन्दर्यताको जगेर्ना गर्दै पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न समुदायले अग्रसरता देखाउनु पर्ने बताएका थिए । ‘आर्थिक उत्पादनका स्रोत कृषि र पर्यटकिय क्षेत्र हुन’ उनले अगाडि थपे, ‘यसको विकास र संरक्षणको महत्वपुर्ण जिम्मेवारी पनि समुदायको नै हुन्छ ।’ नगर प्रमुख अधिकारीले तालको सरसफाई, व्यवस्थापन, संरक्षण र प्रवद्र्धनमा समुदायले नै चासो देखाउनु पर्नेमा जोड दिए ।
बाँसगढी नगरपालिका २ का अध्यक्ष घमण्ड चन्दले सिमसार क्षेत्रलाई पर्यटकिय स्थलको रुपमा विकास गर्न सकिने थुप्रै आधारहरु रहेको जानकारी दिए । तालमा भित्रदेखि पानी निस्कने र बाह्रै महिना पानी भईरहने भएकाले जंगली जनावरहरु पानी खान आउने र विभिन्न जंगली जनावर तथा चराहरुको अवलोकन गर्न सकिने उनी बताउँछन् । च्यामाताल सिमसार संरक्षणको लागि गत आर्थिक वर्षमा बाँसगढी नगरपालिकाको १० लाख र स्थानिय पुर्वाधार साझेदारी कार्यक्रम अन्तरगत १० लाख गरी २० लाख खर्च गरिएको थियो । बर्दिया राष्ट्रिय निकुञ्ज बाघखोर मध्यवर्ती क्षेत्र अन्तरगत स्वर्गद्धारी र भगवती मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिको झण्डै ७ हेक्टर क्षेत्रफलमा प्राकृतिक सुन्दर च्यामाताल सिमसार क्षेत्र पर्दछ ।
प्राकृतिक सौन्दर्यताले भरिपुर्ण, जंगली जनावर र विभिन्न प्रजातिका चराजुरुङ्गीहरुको बासस्थान रहेको च्यामाताल सिमसार क्षेत्रलाई उचित संरक्षण र व्यवस्थापन गरी पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न पिकनिक स्पोर्ट बनाइएको हो । स्थानीय नवदुर्गा सहकारी संस्थाका अध्यक्ष शेर बहादुर शाहीले च्यामाताल सिमसार क्षेत्र राम्रो र हाम्रो बनाउन हरेक समस्यासँग जुध्न तयार रहेको बताए । सिमसार क्षेत्रलाई व्यवस्थित बनाउन ताल सरसफाई गर्नु पर्ने, जंगली जनावर र चराचुरुङ्गी अवलोकन गर्न सकिने भ्यु–टावर निर्माण गर्नु पर्ने, सिमसार क्षेत्रसम्म जाने बाटो मर्मत गर्नु पर्ने उनले माग राखे । पुर्वपश्चिम महेन्द्र राजमार्ग देखि उत्तर लखना चोकदेखि झण्डै १२ किलोमिटरको दुरीमा च्यामाताल सिमसार क्षेत्र अवस्थित रहेको छ ।









प्रतिक्रिया दिनुहोस्