सुर्खेत ।
दैलेखको गुराँस गाउँपालिका वडा नं ७ ओर्खेनीकी मृगौला पीडित पुर्णिमा बुढामगरको उपचारको लागि सहयोग जुट्न थालेको छ । दुवै मृगौला फेल भएर कर्णाली प्रदेश अस्पतालमा उपचाररत २० वर्षीय उनको उपचारको लागि सहयोगीहरुबाट आर्थिक सहयोग जुट्न थालेको हो ।
साउन ५ गतेको अंकमा मिसन टुडे दैनिकले उनको विषयमा ‘मृगौला पीडित छोरी’ बचाईदिन बाबुको अपिल शिर्षकमा समाचार प्रकाशित गरेको थियो । मिसनसहित अन्य सञ्चार माध्यमहरुले आर्थिक अभावका कारण पूर्णिमाको उपचारमा समस्या भएको विषयमा समाचार आएपछि दैलेखी विद्यार्थी एकता समाजले मृगौला पीडित बुढामगर बचाउ अभियान नै सञ्चालन गरेको छ । उक्त अभियान मार्फत अहिले सहयोग जुट्न थालेको हो ।
दैलेखी विद्यार्थी एकता समाज कर्णाली प्रदेश सुर्खेतका सचिव दिपेन्द्र कुमार विसीले पूर्णिमाको उपचारको लागि सहयोग जुटिरहेको जानकारी दिए । उनका अनुसार अहिलेसम्म १० हजार रुपैयाँ सहयोग प्राप्त भइसकेको छ । घरको आर्थिक अवस्था नाजुक भएकी र डायलासिसको भरमा जीवन जिइरहेकी पूर्णिमाको लागि सहयोग गरिदिन सबैलाई अपिल समेत गरे ।
‘पूर्णिमाको घरको अवस्था निकै नाजुक छ । उनी उपचार अभावमा छटपटाइरहेकी छन् । उपचारको सहयोग पुगोस भन्नको लागि समाजले आर्थिक संकलन अभियान सुरु गरेको छ । हामी निरन्तर लागि रहेका छौं’ विसीले भने ।
यता मृगौला पीडित किशोरीका बुबा दलसिंह बुढामगरले अहिलेसम्म छोरीको उपचारको लागि ६ लाख रुपैयाँ खर्च भइसकेको बताउँछन् । उनका अनुसार मृगौला प्रत्यारोपणको लागि १० लाख रुपैयाँ आवश्यक छ । पूर्णिमाको उपचारका लागि सहयोगी हातहरुले प्रभु विकास बैंकको गुराँस गाउँपालिकामा रहेको खाता नं १५५०१२१०१७३०००११ मा ई सेवा आइएमइ पे का लागि ९८६६५१८३३६ मा जम्मा गर्न सकिने विसीले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्