बाख्रापालन व्यवसायमा महिला सक्रिय



कोहलपुर ।

कोहलपुर नगरपालिका वडा नम्बर ७ की सल्यान टोलकी रेश्मी विकलाई केही समय पहिला परिवार चलाउन समस्या हुन्थ्यो । उनी आफ्नो परिवार चलाउन दैनिक ज्याला मजदुरी गर्थिन् । जेनतेन विकको परिवार चलिरहेको थियो । तर अहिले उनको परिवर्तन भएको छ । हेफर नेपाल प्रोजेक्टले साना किसान उद्यमी सुुदृढिकरण परियोजना अन्तर्गत दुई वटा बाख्रा दिएपछि व्यवसाय गरेर अहिले उनको जीवन नै बदलिएको हो । उनले दुई वटा बाख्राबाट व्यवसाय सुरु गरेर अहिले व्यवसायिक रुपमा बाख्रा पालन नै गर्दै आएकी छन् ।

उक्त व्यवसाय नै अहिले बिकको आम्दानीको स्रोत बनेको छ । दुई वर्ष अघि वितरण गरिएका गरिएका दुई बाख्राहरुको संख्या बढेर अहिले चार पुगेको छ । उनका अनुसार अहिले उक्त गाउँका महिलाहरु मिलेर बचत समेत गरिरहेका छन् । उक्त समूहमा अहिले ६३ हजार ३ सय ८० रुपैयाँ बचत छ । यस्तै कोहलपुर नगरपालिका—१२ सुन्दरबस्तीकी सिता नेपालीको जीवनमा पछि अहिले निकै ठूलो परिवर्तन आएको छ । उनले पहिला आफूलाई घरबार चलाउन निकै समस्या हुने गरेको भएपनि अहिले भने बाख्रा पालन गर्न थालेपछि आर्थिक उपार्जन हुन थालेको बताइन् । पहिले आफ्नो घरव्यवहार चलाउन समस्या थियो ।‘ तर अहिले समस्या छैन । आर्थिक उपार्जन राम्रो भइरहेको छ । घरबार चलाउन समस्या छैन ।’ उनले भनिन्
उनले पहिलो पटक गाउँकै एक महिला समूहबाट उपहार स्वरुप बाख्रा पाएकी थिइन् । महिलाहरु आर्थिक रुपमा सबल हुनको लागि बाख्रा उपहार कार्यक्रमले सामाजिक सद्भाव र भातृत्व कायम गर्नुका साथै आर्थिक रुपमा समेत सम्बन्ध बिस्तार भएको उनको भनाई छ । समूहमा भने ३० रुपैयाँबाट बचत शुरु गरिएको र अहिले एक सय रुपैयाँ बचत गर्दै आएको बताइन् । नगर क्षेत्रका महिलाहरुको आर्थिक अवस्थालाई उकास्नका लागि कोहलपुर नगरपालिकाले गत वर्ष हेफर नेपाल प्रोजेक्टसंग साना किसान उद्यमी सुुदृढिकरण परियोजना कार्यक्रम लागू गरेको थियो । तर अहिले कोहलपुर नगरपालिका, हेफर प्राजेक्ट र महिला उपकार मञ्चको त्रिपक्षीय सम्झौता अनुसार ७१ लाख ९६ हजार ३ सय रुपैयाँको परियोजना सञ्चालन भइरहेको छ ।

सोही परियोजनामार्फत कोहलपुर नगरपालिका एक हजार ५ सय महिलाहरु लाभान्वित भएका छन् । परियोजनाकी अध्यक्ष तथा महिला उपकार मञ्चकी उपाध्यक्ष चन्द्रकला न्यौपानेले कोहलपुर नगरपालिकाको नौ वटा वडाहरुमा परियोजना सञ्चालन रहेको बताइन् । प्रत्येक उपहार समूह २५ जनाको महिला समूह निर्माण गरिएको र जिविकोपार्जन सम्बन्धि काम भइरहेको उनले जानकारी दिइन् । परियोजना अन्तर्गत कोहलपुर नगरपालिकामा मुल समूह २० वटा र ४० वटा उपहार समूह गठन भएको उनको भनाइ थियो ।

उनका अनुसार पहिलो चरणमा १५० बाख्रा, १० बोका र १० वटा खोर बनाइएका छन् । आइतबार परियोजनाको कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावत र महिला उपकार मञ्चका अध्यक्ष बिजुला अधिकारी र हेफर प्रोजेक्ट नेपालका संयोजक चन्द्रकला न्यौपाने सहितको टोलीले अनुगमन गरेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७७ असार ३१ गते बुधबार