सुदीप अधिकारी । बर्दिया ।
बर्दिया राष्ट्रिय निकुञ्ज अन्र्तगत मध्यवर्ती क्षेत्रमा पर्ने ठाकुरद्धारा मन्दिर नजिक रहेको धार्मिक वन अतिक्रमण गरि बनाइएका घरटहरा हटाउन खोज्दा विवाद भएको छ । निकुञ्ज प्रशासनले घरटहरा हटाउनका लागि स्थानीयबासीन्दालाई नियन्त्रणमा लिन थालेपछी विवाद उत्पन्न भएको हो । बर्दिया ठाकुरबाबा नगरपालिका –९ ठाकुरद्वारा बजारको मन्दिर नजिक रहेको धार्मिक वनको अतिक्रमित बस्ती हटाउन भन्दै स्थानीयबासीलाई नियन्त्रणमा लिन गएका निकुञ्ज कर्मचारी र स्थानीयबीच बिहीबार विहान विवाद हुँदा दुबै पक्ष बिच सामान्य धकेलाधकेल समेत भएको थियो ।
बिहानै बस्ती हटाउन भन्दै निकुञ्जको टोली पुगेपछि स्थानीयबासीहरु विरोधमा उत्रिएका थिए । अतिक्रमित बस्ती हटाउन भन्दै सुतिरहेको अवस्थामा विहानै स्थानीयलाई पक्राउ गर्न गएको बर्दिया निकुञ्जको टोली र स्थानीय बिच विवाद सुरु भएको वडाध्यक्ष राधा चौधरीले बताइन् । निकुञ्जका कर्मचारीले हरेक दिन बस्तीका स्थानीयलाई पक्राउ गरि निकुञ्ज लैजाने र कागजमा सही गराउन थालेको र आज पनि दुई जनालाई पक्राउ गरि लैजान खोजेपछि स्थानीयबासीन्दा बिरोधमा उत्रिएको वडाध्यक्ष चौधरीले बताइन् । ५४ वटा घरटहराहरु निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने धार्मिक वनको जग्गा अतिक्रमण गरि बनाइएको निकुञ्जको भनाई छ । अतिक्रमित घरटहरा हटाउने प्रकृया सुरु गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए ।
जिल्ला वन समन्वय समिती, वन वन्यजन्तु वातावरण तथा जैविक विविधता समिती, निकुञ्ज र नगरपालिकाको सर्वपक्षिय बैठकबाट बस्ति हटाउने निर्णय भएको हुँदा उक्त निर्णय कार्यान्वयन गर्ने अभियान सुरु गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत बरालले बताए । ठाकुरद्धारा मन्दिर परिसर नजिक मध्यवर्ती क्षेत्रमा बसोबास गरिरहेका केही स्थानीयबासीन्दाले सुचना टाँस गरि निश्चित दिन तोकेर हट्न भन्नुपर्ने जनाएका छन् भने केहीले आफूहरू वर्षौंदेखि बस्दै आएकाले नहट्ने अडान लिएका छन् । निकुञ्ज प्रशासन भने बस्ती हटाएर छाड्ने अडानमा रहेको छ ।
धेरै पटक सुचना दिई अतिक्रमित बस्ति हटाएर उक्त क्षेत्र खाली गर्न अनुरोध गरिएको तर उनीहरुले अटेर गर्दै आएको निकुञ्जको भनाई छ । निकुञ्जको अतिक्रमित बस्ती हटाउन कर्मचारी खटाइएको र तत्काल बस्ती हटाएरै छाड्ने प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए । उक्त क्षेत्रमा अहिले निकुञ्ज कर्मचारी, निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना र नेपाल प्रहरी बस्तीमा खटिएको छ । ठुलो संख्यामा स्थानीयबासीन्दा पनि अबरोध गर्न सडकमा उत्रिएका छन् ।









प्रतिक्रिया दिनुहोस्