शुभाकर विश्वकर्मा । कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १४ का रमेश बुढा नमूना विद्या सदनमा पढ्छन् । १० वर्षीय रमेशको दैनिकी अहिले माछा मार्दै बित्ने गरेको छ । लकडाउन नहुँदो त उनी अहिले दैनिक विद्यालय जाने र उज्जवल भविश्य निर्माण गरिरहेका हुन्थे । तर कोरोना भाइरसका कारण लकडाउन भएका कारण विद्यालय नखुल्दा उनी फुर्सदमै छन् । लकडाउनको शुरुवाती दिनमा खास्सै बाहिर ननिस्कने उनी पछिल्लो समय भने छरछिमेकका साथीहरुसँग कहिले बारीतिर बरालिन्छन् त कहिले माछा मार्न खोलातिर जान्छन् । असारको पहिलो साता भेट्दा रमेश सहित एक हुल बच्चा वडा नम्बर १४ को एक खोलामा माछा मारिरहेका थिए । उनीहरुको दैनिकी नै केही समययता माछा मारेरै चलिरहेको छ । उनले लकडाउनमा खोलामा माछा मार्दै दैनिकी बित्ने गरेको बताए । उनका अनुसार कोरोनाका कारण विद्यालय नखुल्दा अरु कुनै माध्यम नभएपछि दिन भुलाउनको लागि माछा मार्न गएको हो ।
‘विद्यालय नलागेको धेरै समय भयो । पहिला पहिला घर मै पढ्थे । अरु कुनै विकल्प नै छैन । त्यसैले साथीहरुसँग माछा मार्न जाने गरेको छु ।’ उनी दैनिक जसो बढिमा आधा किलोसम्म माछा मारेर ल्याउने गरेको बताउँछन् । माछा मारेर बेच्ने गरेको र त्यो पैसा जम्मा गरेको उनले बताए । उनी भन्छन्, ‘माछा मारेको रुपैयाँ जम्मा गरिरहेको छु । पछि विद्यालय लाग्दा कापी कलम किन्छु ।’ सरकारले बैकल्पिक तरिकाबाट पढाउन शुरु गरेपनि कतिपय ठाउँमा भने त्यो प्रभावकारी देखिएको छैन ।
सरकारले सञ्चालन गरेको अनलाइन÷रेडियो कक्षाको पहुँच नभएका कारण रमेश जस्तै धेरै बालबालिका कोही बिनाकाम फुर्सदमा बस्ने गरेका छन् । कोही भने दिनभरी साथीहरुसँगै खेल्दै समय कटाइरहेका छन् । यस्तो अवस्थामा बालबालिकालाई सिर्जनात्मक काममा लगाउनु पर्ने कतिपयकोे भनाई छ । तर रमेश जस्ता कतिपय बालबालिका जोखिम मोलेर दैनिक खोलाहरु तिर गइरहेका यहाँ प्रशस्तै देखिन्छन् ।
कोहलपुर क्षेत्रका विभिन्न खोला तथा नालाहरुमा बालबालिकाहरु भेटिने गरेका छन् । यसमा अभिभावहरुको भने ध्यान जान सकेको देखिदैन । कोहलपुर–११ मा बस्दै आएका बैजनाथ गाउँपालिका ६ का बसन्त शाही भने लकडाउनको समयदेखि अधिकांश समय फुर्सद मै हुन्छन् । नीजि विद्यालयमा पढ्ने उनी लकडाउनका कारण विद्यालय बन्द भएपछि अधिकांश समय टेलिभिजन हेरेरै बिताउँछन् । ‘अहिले त पढ्नै मन लाग्दैन । धेरै भयो किताब नै समातेको छैन । कहिले स्कूल लाग्ला झै भएको छ । साथीहरुसँग खेल्न पाइन्थ्यो । नयाँ कुरा सिकिन्थ्यो’ उनले भने । उनी मात्रै होइन यस्तै धेरै विद्यार्थीको माग छिटो विद्यालय खुलोस भन्ने नै छ । अभिभावक सिता शाही लकडाउनले विद्यार्थीहरुको पढाई बे्रक लागेको बताउँछिन् । उनी भन्छिन्, ‘सरकारले विद्यालय सुरक्षा अपनाएर खुलेको भए पनि हुन्थ्यो ।
बच्चाहरुलाई जति भने पनि सम्झाउन सकिदैन । लकडाउन कहिले खुल्ला जस्तो भइसक्यो । कम्तिमा विद्यालयमा जाँदा केही कुरा त सिक्थे । यहाँ निकै समस्या भइसक्यो ।’ कोहलपुरमा नीजि विद्यालयसँग सम्बन्धित निकायहरुले रेडियो कक्षा कार्यक्रम सञ्चालन गरेका छन् । कक्षा १ देखि १० कक्षासम्मको कक्षा संचालन भइरहेको छ । यहाँका तीन वटा विद्यालयमा रेडियो मार्फत पढाइ हुन्छ । नेपाली, अंग्रेजी, विज्ञान र गणित विषय पढाई हुने गरेको छ । कोहलपुर रेडियो सञ्चालन गरिरहेका रेडियो मध्ये कक्षा ८ देखि १० कक्षासम्मको रेडियो कार्यक्रम सञ्चालन गरिरहेको रेडियो मिसनका संयोजक यानवी साहु यस्ता कार्यक्रमहरुको पहुँच गाउँ स्तरसम्म नपुगेको बताउँछन् । उनका अनुसार तीन कार्यक्रम सहर केन्द्रीत भएका छन् ।









प्रतिक्रिया दिनुहोस्