कोहलपुर ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शीर्ष तहमा भइरहेको विवादको असरमा स्थानीय स्तरमा प्रष्ट देखिएको छ । केही समय यता शीर्ष तहमा भइरहेको विवादको असर बाँकेको कोहलपुरमा समेत देखिएको हो । देशभर झै प्रधानमन्त्रीको पक्षमा प्रदर्शन भइरहेका बेला कोहलपुरमा समेत आइतबार प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेता कार्यकर्ताले प्रदर्शन गरेका थिए ।
उनी पक्षका नेता कार्यकर्ताले अहिलेको अवस्थामा प्रधानमन्त्री ओलीको विकल्प नरहेको दाबी गर्दै सरकार ढाल्न भारतको हात रहेको दाबी गरे । कोहलपुरको चौराहादेखि शुरु भएको प्रदर्शन न्युरोड–एन.टि.भि रोड हुँदै पुनःचौराहामा पुगेर कोण सभामा परिणत भएको थियो । प्रदर्शनमा ‘आज होइन भोलीलाई, हाम्रो समर्थन ओलीलाई’, ‘पार्टी एकता कायम गरांै’, ‘हिमाल, पहाड तराई, कोही छैन पराई’, ‘नेकपा जिन्दावाद’, ‘भारतीय विस्तारबाट मुर्दावाद’’ लगायतका नारा लगाइएको थियो । कोण सभामा बोल्दै वक्ताहरुले ओली नेतृत्वको सरकार ढाल्नको लागि देशी विदेशी शक्ति लागि परेको बताएका थिए । ओली पक्षीय नेता टेकराज आचार्यले नेपालमा वर्तमान सरकारको अर्को विकल्प खोजिनु नै दुभाग्र्य भएको बताए ।
उनका अनुसार वर्तमान प्रधानमन्त्रीको राष्ट्रबादी चरित्र माथि दाग लगाउने पार्टी भित्रै र बाहिरबाट समेत षडयन्त्र भइरहेको छ । उक्त अवसरमा बोल्दै युवा संघ नेपालकी नेतृ शोभा बमले पार्टी एकता भाँड्ने र सरकार परिवर्तनको कसरत विरुद्ध देशभक्त युवा वर्ग एकजुट भएर चुनौतीको सामना गर्नु पर्ने बताइन् । कोण सभालाई सम्बोधन गर्दै अनेरास्ववियू बाँकेका सह–संयोजक टेकेन्द्र मल्लले पनि प्रधानमन्त्री ओली कै विषयमा वकालत गरे । स्थानीय स्तरका नेता कार्यकर्ता एकतालाई कायम राख्नु पर्ने सोचमा रहेको भन्दै शीर्ष तहको विवाद समाधानको लागि सबै एकजुट हुनैपर्ने उनले बताए ।
प्रदर्शनमा प्रधानमन्त्री ओली पक्षिय नेताहरु सुर्य ढकाल, पुजन विश्वकर्मा, खिलप्रसाद भुषाल, खेमराज शर्मा लगायतका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो । प्रदर्शनमा पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव कुमार नेपाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा पक्षिय नेता कार्यकर्ताहरुको भने सहभागिता थिएन । प्रदर्शनमा ओली पक्षका करिब एक सय नेता कार्यकर्ताको सहभागिता थियो ।









प्रतिक्रिया दिनुहोस्