पछाडि लामो कहानी अगाडि सुन्दर बिहानी




शंकर अशान्त ।

बाँकेको कोहलपुर र मिसन टुडे दैनिक एकअर्काका परिपूरक जस्तो लाग्छ । कोहलपुर जस्तो माटो पाउनु मिसनको लागि सर्वाधिक महत्वपूर्ण थियो भने मिसन जस्तो बिरुवा पाउनु कोहलपुरको लागि गौरबको बिषय हो । कोहलपुरे मलिलो माटोमा मिसन टुडे अब्बल बिरुवा भएर टुसायो । धेरै घामपानी र आरोह अवरोहको साक्षी बनेर दुई पात तीन पात गर्दै हुर्कियो । सानै उमेरदेखि चलायमान भयो । जो हरेक बिहान सूचना र समाचारको प्यास मेटाउन हातहातमा पुग्यो । जिम्मेवारीको भारी बोकेर कहिले बण्डल बनेर दौडियो कहिले खुला आकारमा सलबलायो । अनगिन्ती ढोका बिसाउँदै जनहातेमालो गरिरह्यो । जन्मिंदा सबै एक्लै जन्मिन्छन् । मिसन पनि एक्लै जन्मियो । अहिले धेरैको लागि सार्वजनिक सम्पति भएको छ । हिजो जस्तै लाग्छ, कोहलपुरको एनटिभी चोकस्थित हेमराज अधिकारी दाइको प्रशन्न भाँडा पसल रहेको अन्डरग्राउण्ड घरमा मिसनको भ्रुण रोपिएको । त्यतिनै बेला स्थानीय स्तरमा पत्रिका चलाउने सोँचको जग बसेथ्यो । त्यही सोंचले साकार रुप लिएपछि मिसन टुडेको अस्तित्व सुरु भयो ।

पवन थापाको सम्पादनमा सन्ध्या बुलेट पत्रिका नेपालगञ्जमा छापिएर कोहलपुर आउँथ्यो । साँझ छापिएर साँझै पाठकसामु पुग्ने सन्ध्यामा दिनभरिको समाचार साँझै पढ्न पाइन्थ्यो । मिसनकर्मी विनोद पौडेलले सन्ध्यालाई रिसिभ गरी कोहलपुरमा वितरण गर्ने मेसो मिलाउनुभएको थियो । पत्रिकालाई गाउँसहर पुगाउने हकरहरु गणेश देवकोटा, बिमला नेपाली र हरिदेब ढकाल आजभोलि आ–आफ्ना पेशामा छन् । राजनैतिक अस्थिरताको तुवाँलो मुनी जनताले आफ्नो मिसन नभुल्न पार्टीहरुलाई झकझक्याउँथे । नेपाली पत्रकारिताले पनि प्रजातन्त्र लोकतन्त्र हुँदै गणतन्त्रसम्मको मिसनमा लामो यात्रा तय गरिसकेका थिए । धेरैको मुखबाट आइरहने सरल संक्षिप्त र व्यापक हुनु नै मिसन नाम अकाट्य हुनपुग्यो र यसको लोकप्रियता जन्मैदेखि सुरु भयो । चारपानाको सानो पत्रिका नेपालगञ्जमा मुद्रण भई कोहलपुर ल्याएर वितरण गर्ने काम पनि भयो ।

केही विशेषाङ्क बुटवलबाट तयार भएर आयो । केही पत्रिका यस्ता हुन्छन् जो जन्मिँदै तगडा हुन्छन् । कोही समयक्रममा बलिया होलान् भन्ने आसै आसामा कुपोषित हुन पुग्छन् । निरन्तरता दिन नसकी लामो बिसौनीमा बस्छन् । मिसन सुरुमै बेजोड भयो । जुन बेजोडता आजसम्म कायमै छ विनोदजीले ठूला साना निर्णय गर्दा सरसल्लाह गर्ने गर्नुहुन्छ । पत्रिका स्थापनादेखि स्तम्भ लेखनसम्मका कुरामा छलफल हुन्थ्यो । पत्रिकाको नारा के लेख्ने भन्ने सल्लाह भएथ्यो । निरन्तरताका प्रतीक वा सूचनामा तपाईंसँगको साझेदारी आदि–आदि । जुन सोलोगान पत्रिकाको सिरानमा अझै देख्न पाइन्छ । संयोगवस पहिलो अंकमा आफ्नो आलेख छापिएको कुरा स्मरण गर्छु । पत्रिकाको वाषिकोत्सवमा मिसनकर्मी विनोदजीले लेखक साहित्यकारहरुलाई बोलाउने चियापान गराउने सँस्कारको थालनी गर्नुभएको छ । सुझाव लेनदेन हुन्छ । शुभकामना साटासाट हुन्छ । सूचना र समाचारको क्षेत्रमा मिसनले आफूलाई पहाडझैं अटल बनाएर उभ्याएको कुराको तारिफ हुन्छ । वैचारिक धरातलका विश्लेषणत्मक गहकिला लेख लेखेर दामोदर पौडेलले मिसनका पाना धेरै नै सजाइसक्नु भएको छ । सागर गैरेले व्यस्त दैनिकीलाई चिरेर मिसनलाई धेरै लामा लामा आलेखले रंग्याउनु भएको छ ।

महानन्द ढकालले साहित्यका अनेकानेक खुराक मात्रै पस्किनुभएन बरु मिसनको साहित्यिक सम्पादककै भूमिका सम्हाल्नुभयो । अक्षरलाई प्रेम गर्ने लेखक पत्रकार र साहित्यकार धेरैको साझा चौतारी बनिरह्यो मिसन । पूर्णिमाका साहित्यिक गतिविधिले सधैं अग्रस्थान पायो । मेला महोत्सवमा मिडिया पार्टनर बन्यो । विद्यालयका गतिविधि र समाचारले प्राथमिकता पाए । स्थानीय विषयवस्तुको प्लेटफर्म बन्यो । जन्मिएको केही वर्षमै मिसन टुडे बर्दिया, सुर्खेत, दाङ, बुटवलका सहरी क्षेत्रमा पुग्यो । पश्चिममा महेन्द्रनगरसम्म पुग्यो । कतारमा समेत सम्पर्क केन्द्र बनायो । कहिले कान्तिपुरको काखमा बसेर गयो । कहिले नागरिकको हात समाएर गयो । अलग स्वाद अलग प्यास र अगल विषय अनि रुपरंङ लिएर मिसन गुडिरह्यो सुदूरपश्मितर्फ र फैलिरह्यो मध्यपश्चिम । बाँसगढी, गुलरिया, नेपालगञ्ज, सुर्खेत, दाङ र बुटवल लगायत धेरै ठाउँमा सम्पर्क कार्यालय समेत स्थापना भयो । ती ठाउँमा कुनै मान्छेले मिसन टुडे स्पर्श गरेको देख्दा कोहलपुरको सुगन्ध नाकैमा ठोकिएको महसुस पनि भयो ।

आजको दिनमा आईपुग्दा मिसन भन्नाले पत्रिकालाई मात्रै बुझिँदैन बरु मिसन रेडियो, मिसन टिभी र मिसन अनलाइन न्युजसम्मलाई बुझ्न पर्ने भएको छ । अनि आफ्नै मिसन अफसेट प्रेसले छापाखानाका सेवा प्रदान गरिरहेको छ । यस्तो लाग्छ विनोदजी सञ्चार उद्यमी भएर धेरैको रोजगारी उत्पान गरिरहनु भएको छ । धेरैको रोजिरोटीसँग मिसन हाउस जोडिएर आएको छ । यसलाई प्रशंसा होइन बरु परिश्रमको उच्च कदरमा कन्जुस्याई नगरिएको रुपमा बुझ्नुपर्छ । पत्रिका निकाल्नु र निरन्तर चलाउनु फरक फरक कुरा हुन् । मिसन जन्मिनुलाई भन्दा निरन्तर प्रकाशन हुनुको विशेषताले चिनिन्छ । केही वर्ष यता नेपालगञ्जबाट कुनै पत्रिका कोहलपुरमा आउन सकेनन् । मिसन लगायत केही पत्रिकाले कोहलपुरेलाई पेपर पत्रिकामा आत्मनिर्भर बनाउने कोशिस गरिरहे । कोशिस गर्नेहरु पनि थाक्दै जान थाले । मिसन सधैं जाँगरिलो बन्यो । बधाई र शुभकामना लिएर मिसन आयो । श्रद्धाञ्जली र समबेदना मिसनमै छायो । खेलकुद, स्वास्थ्य, उद्योग, व्यापार, पर्यटन, कृषि, यातायात लगायत सबै आयाम समेट्ने काममा मिसन कामयाबी रह्यो । बृद्धका कथा बालबालिकाका कथा । हाँसोका कथा अनि आँशुका व्यथा सबै समेटिए । एउटा जीवन्त पत्रिकाले कति चर्को घाम सहनुपर्छ र कति चिसो सिरेटो भोग्नुपर्छ होला भन्ने कुराको साक्षी मिसन आफै हो । पत्रिकालाई सरसर्ती हेरेर यसो भएन, उसो भएन भन्नेलाई थाहा हुन्न । उपचारमा लापरवाही उजागर गर्दा, भ्रष्टाचारको पर्दाफास गर्दा मिडियाले भोग्ने दवावका साक्षी पत्रिकाहरु नै हुन् । सबैको साझा सम्पत्ती हुनका लागि सबैको आवाज बन्नुपर्ने चुनौती हुनेगर्छ । यति भएर पनि विकृति र विसंगतिलाई साफ इन्कार गर्नेदेखि सामाजिक प्रगति र राजनैतिक परिवर्तनका लागि आँखा चिम्लिएर समर्थन गरिदिनु पर्ने जनपक्षीय पत्रिकाका धर्म हुने गर्छन् । यी यावत कुरामा मिसन सकेसम्म चुकेको देखिन्न । विगत नब्बे दिनदेखि विश्वव्यापी रुपमा महामारीको रुप धारण गरेको कोरोना भाइरसले संसारलाई सताइरहेको छ । लामो समयको लकडाउनको सामना गर्नु प¥यो ।

कोरोनाको संत्रास उस्तै र अझै उकालो लागिरहेको वेला लकडाउन तुलनात्मक रुपले खुकुलो भएपनि यसले अर्थतन्त्रमा पारेको कहाली लाग्दो असरले हरेक व्यक्ति आहत छन् । करिव चार महिनादेखिको अन्यौल र अत्यासको अँधेरोमा मिसन जस्ता सञ्चार सारथी जनताको ढुकढुकी बनेर आए । कोरोना संक्रमणको सन्त्रासले केही समय नागरिक र कान्तिपुरजस्ता ठूला पत्रिकानै बन्द भएको बेला मिसन टुडे मात्रै चार दिन गयल भयो । तर यसले आफ्नो प्रकाशन यात्रालाई निर्भीक भएर चलाइरह्यो । कोरोनाबाट कसरी बच्ने कसरी, कति संक्रमित भए, कति निको भए, कतिको दुःखद निधन भयो जस्ता समचारमात्रै होइन त्रासको आगोमा पिल्सिएका जनतालाई सान्तवनाका शीतल उपायहरु मिसनले प्राथमिकताका साथ स्थान दियो । अक्षरहरुको गठजोडमात्रै सबथोक होइन । त्यसैले सबै कृति सफल भैरहेका हुन्नन् । पाना भर्ने कर्मकाण्डीय भूमिकामा मात्रै रहेर पत्रिका सफल हुन नसक्ला । पब्लिक डिमाण्डदेखि व्यवसायिक मर्यादालाई अक्षुण राख्दै मिसनको यात्रा अविरल चलिरहनुपर्छ जसरी हिमनदी पग्लिएर भेरी, कर्णाली बगिरहन्छन् । मिसनले नयाँ नयाँ शोध गर्न सक्नुपर्छ । लेखक पाठक विज्ञापनदाता र स्वयम् राज्यका निकायले मिसनको ढोका धाउनेछन् ।

पत्रकारितामा कोहलपुर र नेपालगञ्जलाई समग्रमा बुझ्नु आवश्यक हुन्छ । प्रकाशन र सक्रियताका हिसाबले सुरुमा कोहलपुरको उपस्थिति नेपालगञ्जमै निर्भर रहन्थ्यो । त्यहाँ पनि रिपोर्टिंग गर्नेदेखि कागजमा राम्रा राम्रा आर्टिकल लेखेर पठाउनेहरु कोहलपुरका कम थिएनन् । मिहिनेती हातहरुको संलग्नताले सुनलाई सुगन्ध भरिरहन्थ्यो । अनलाइनको दुनियाँमा लाइक र शेयरिंङको पनि भ्यालु हुने जमानामा आइपुग्दा कोहलपुर र नेपालगञ्ज अन्योन्याश्रित बन्न पुगे । पेपर, एफएम, युटुब च्यानल र अनलाइन सँस्करणसम्म पुग्दा कोहलपुरमा सलबलाइरहेका सबै सम्मानित सञ्चारगृहले कोहलपुरको नाम चम्काइरहेका छन् । प्रतिस्पर्धी युगमा आफूलाई समयसापेक्ष निखार्दै तिखार्दै मिसनको लामो यात्रा सफल रहोस् । हिजोझैं आजझैं र भोलिपनि । पछाडि तिम्रो लामो कहानी अगाडि तिम्रो सुन्दर बिहानी ।

  • No tags available
प्रकाशित मिति : २०७७ असार १२ गते शुक्रबार