सोती हत्या प्रकरणका घाइतेको उपचार कोहलपुरमा, तनावमुक्त हुन मनोविमर्श आवश्यक



शुभाकर विश्वकर्मा । कोहलपुर ।

गत जेष्ठ १० गते रुकुम पश्चिमको सोतीमा भएको घटनामा बाँच्न सफल भएका मध्येका एक हुन्, जाजरकोटका गोविन्द सुनार । उनी ६ जना युवाको ज्यान जाने गरि भएको उक्त जातीय नरसंहारमा घाइते भएका जिउँदो साक्षी समेत हुन् । उक्त घटनामा सुनारको दायाँ हात र पिठ्युमा गहिरो चोट लागेको थियो । उनको घटना भएको करिब १ महिना लाग्दासम्म प्राथमिक उपचार बाहेक अन्य उपचार हुन सकेको थिएन । उनका अनुसार ६–७ जनाको युवाहरुको समुहले निर्घात कुटपिट गरेका थिए । ‘दायाँ हात र पिठ्यूमा मात्रै देखिने गरि चोट लागेको हो । शरिरका विभिन्न भाग अझैँसम्म दुखिरहन्छ ।

अहिले चाही विस्तारै आफै सन्चो हुँदै गएको छ’ सुनारले भने । आफूलाई अहिले पनि ठूला मान्छे देखेपछि डर लाग्ने र बेला बेलामा झर्किने समस्या रहेको उनको भनाई रहेको छ । उनले त्यस दिन आफू माथि आक्रमण हुँदा भेरीमा हाम फालेर बच्न खोजेपनि गाउँलेहरुले नदिको किनारबाट बाहिर निकालेर कुटपिट गरेको जानकारी दिए । अर्का घाइते ईन्द्रजंग शाहले पनि गाउँलेहरुले ठूलो समूहमा कुट्न थालेपछि रुदै खुट्टामा ढोक्दा समेत निरन्तर कुटिरहेको बताए । उनका अनुसार कृपाया हाम्रो साथीहरुलाई बचाई दिनुहोस भन्दै जति रोइकराई गर्दा समेत मानेनन् । आफूहरुलाई केही गाउँलेहरुले काँफल खानुहोस् भन्दै अलमल्याएको र पछि अरुले आक्रमण गर्न सुरु गरेको दाबी गरे । शाह भन्छन्, ‘हामीलाई यसरी कुटेकी भनेर साध्य छैन ।

त्यो दिन सम्झिदा पनि मलाई निकै डर लाग्छ । कसरी बाँचे हुँला भन्ने जस्तो लाग्छ ।’ उनको पनि खुट्टा र ढाडमा चोट गहिरो चोट लागेको थियो । सुनार र शाह मात्रै होइन १२ जना उक्त घटनामा घाइते भएका थिए । घाइते सबै जनामा चोट थियो तर उपचार हुन सकेको थिएन । आर्थिक अवस्था समेत कमजोर रहेका उनीहरुको एक महिनासम्म उपचार राज्यको तर्फबाट हुन सकेन । लामो समयसम्म विभिन्न पक्षबाट दबाव दिदा समेत राज्य पक्षबाट उपचार नभएपछि बाँकेका अधिकारकर्मीहरुले उनीहरुको उपचार गरेका हुन् ।

उनीहरुको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार गरिएको थियो । घाइतेमध्ये १० जनालाई कोहलपुरमा ल्याएर उपचार गरिएको हो । अधिकारकर्मीहरुका अनुसार कुल ८६ हजार जम्मा भएकोमा उनीहरुको उपचार, खाना र होटल खर्च गरि ६७ हजार रुपैयाँ खर्च भएको थियो । डाक्टरले सबैको अवस्था नर्मल भएको भन्दै सबैजनामा मनोवैज्ञानिक त्रासको समस्या अझै रहेकोले मर्नाविमर्श आवश्यक रहेको बताएका छन् । डाक्टरले बताए अनुसार सबैजनालाई उनीहरुलाई मानसिक रुपमा सवल हुनको लागि मनोविमर्श नै आवश्यक छ ।

घाइतेहरुको उपचारको लागि कोहलपुर आएका लोकेन्द्र चन्दले पनि उनीहरुको उपचार गरेर आफूहरु घर फर्किएको जानकारी दिए । आइतबार मिसन टुडे दैनिकसँगको टेलिफोनमा कुराकानी गर्दै १२ जना मध्ये २ जनासँग सम्पर्क हुन नसकेका कारण आउन नसकेको र बाँकी १० जनाको उपचार भएको बताए । असार ५ गते कोहलपुर आएका उनीहरु ६ गते उपचारपछि आइतबार जाजरकोट÷रुकुम फर्किसकेका छन् । यता मनोविमर्शकता नन्दराज आचार्य यस्ता घटनामा मानिसमा शारिरीक चोट औषधिले सन्चो भएपनि मानसिक रुपमा लागेको चोटको समाधान नहुने बताउँछन् ।

कर्णाली प्रदेशका विभिन्न जिल्लामा मनोबिमर्श सेवा दिइरहेको टिपिओ नेपालमा कार्यरत मनोविमर्शकर्ता आचार्यले यस्ता मानिसलाई अनिवार्य रुपमा मनोविर्मश सेवा अपरिहार्य रहेको जानकारी दिए । उनका अनुसार सोती घटनामा ६ जनाको ज्यान गएको देखेका र आफै पनि चोट खाँदै भाग्दै बेहोसीमा बाँचेका उनीहरुलाई त्यति बैले मनोविमर्श सेवा दिनुप¥थ्र्यो । तर राज्य पक्षले उनीहरुको मानिसक समस्यामा विषयमा ध्यान नै नदिएको उनको बुझाई छ । ‘सबै घाइतेलाई यो सेवा पहिले नै दिनु पर्ने हो । तर अब भने ढिलो गर्नु हुदैन । अब पनि मनोविमर्श सेवा नदिएमा उनीहरुमा भविश्य झन समस्या हुन्छ । तनावमुक्त हुनबाट बच्नको लागि मर्नाविमर्श सेवा नै औषधि हो ।’ उनले भने ।

जन्तरजातीय प्रेम सम्बन्धकै कारण भएको उक्त हत्या प्रकरणमा किशोरीका प्रेमी नवराज विक सहित थप पाँच जनाको ज्यान गएको थियो । उक्त हत्या प्रकरणमा लोकेन्द्र सुनार, गोविन्द शाही, टिकाराम सुनार, गणेश बुढा मगर र सञ्जिव विकको मृत्यु भएको हो । अहिले उक्त हत्या प्रकरणमा सलग्न भएको आरोपमा ३४ जना माथि अनुसन्धान भइरहेको छ । ती मध्ये पाँच जना फरार छन् भने अन्य सबै आरोपितहरु पक्राउ परिसकेका छन् । अहिले संसदीय छानविन समितिले उक्त प्रकरणको छानबिन गरिरहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ असार ८ गते सोमबार