बारबर्दियाको बजेट ७८ करोड बढी



रावन विश्वकर्मा, बाँसगढी ।

बर्दियाको बारबर्दिया नगरपालिकाल ७८ करोड ८३ लाख बराबरको बजेट नगर सभामा प्रस्तुत गरेको छ । असार ५ गतेदेखि सुरु भएको बारबर्दियाको ७ औँ नगर सभामा आईतबार उपप्रमुख अञ्जु दहितले आर्थिक वर्ष २०७७-०८७ को लागि ७८ करोड ८३ लाख बराबरको बजेट प्रस्तुत गरेकी हुन् । नगरसभामा प्रस्तुत बजेटमा नगरका विभिन्न चुनौतिहरु समेत औल्याईएको छ । नगरका नागरिकहरुको स्वास्थ्य र जीवनको रक्षा गर्दै नगरको भौतिक, आर्थिक र सामाजिक विकास गरी जनताको आकांक्षा पुरा गर्ने नगरपालिकाको मुख्य चुनौती रहेको उप–प्रमुख दहितले बताइन् ।

नेपालको संविधानले स्थानिय तहलाई दिएको अधिकार क्षेत्र भित्र रहि फराकिलो राजस्व क्षेत्रको पहिचान गर्नु, सम्भावित आन्तरिक आय कमजोर हुनु र केन्द्रिय अनुदानको भरमा नगरपालिकाका सबै कार्यक्रमहरु सञ्चालन गर्नु पर्नेलाई समेत चुनौतीको रुपमा उल्लेख गरिएको छ । सिमित स्रोत साधन भए पनि धेरै बासिन्दाका मागहरुको आकांक्षा पुरा गर्नु पर्ने, आन्तरिक उत्पादनमा नगरलाई आत्मा निर्भर बनाउनु पर्ने र स्थानिय उत्पादनको बजार प्रबद्र्धन गर्नु पर्ने, बास्तविक सुकुम्वासीहरुलाई पहिचान गरी उनीहरुलाई जग्गा धनीपुर्जा उपलब्ध गराउनु पर्ने लगायतका चुनौतिहरु औल्याईएको छ ।

प्रस्तुत बजेटमा चालु खर्च तर्फ ६० प्रतिशत र पुँजीगत खर्च तर्फ ४० प्रतिशत विनियोजन गरिएको छ । जसमा चालु खर्च तर्फ ४७ करोड २९ लाख ४५ हजार र पुँजीगत खर्च तर्फ ३१ करोड ५३ लाख ५ हजार रहेको छ । बजेटमा नगरपालिका तर्फ २७ करोड ३७ लाख ५० हजार विनियोजन गरिएको छ । बारबर्दियाको बजेटमा पहिलो प्राथमिकता शिक्षा र दोस्रो प्राथमिकतामा कृषि क्षेत्रलाई राखि बजेट विनियोजन गरिएको हो । नगरमा रहेका विषयगत शाखा मध्ये शिक्षा युवा तथा खेलकुद शाखा तर्फ ३ करोड ३० लाख, कृषि शाखा तर्फ १ करोड ७८ लाख ५ हजार बजेट विनियोजन गरिएको छ ।

त्यस्तै स्वास्थ्य शाखा तर्फ १ करोड ५५ लाख, पशु सेवा शाखा तर्फ ७५ लाख, महिला तथा बालबालिका तर्फ ४० लाख, वन तथा विपद् व्यवस्थापन तर्फ ६५ लाख, आर्थिक विकास शाखा तर्फ १६ लाख ६५ हजार बजेट विनियोजन गरिएको प्रस्तुत बजेटमा उल्लेख छ । नगरपालिकाले बहुक्षेत्रिय पोषण कार्यक्रम तर्फ २ लाख, शहिद बिष्णु धनी प्राविधिक शिक्षालयमा ४० लाख, न्यायिक समिति तर्फ ७ लाख, कर्मचारी कल्याण कोष तर्फ १५ लाख, राजस्व शाखा तर्फ ६ लाख र १ देखि ११ वडाको लागि ५ करोड बजेट विनियोजना गरेको छ ।

बजेटमा संघिय सरकारबाट हस्तान्तरित कार्यक्रमम २८ करोड ७५ लाख, प्रदेश सरकारबाट हस्तान्तरित कार्यक्रम २ करोड ६३ लाख र अनुमानित योजनाको दायित्व हस्तान्तरण अन्तरर्गत ६ करोड ३७ लाख रहेको छ । आईतबार बसेको नगर सभामा असार ५ गते नगर प्रमुख दुर्गा बहादुर थारुले प्रस्तुत गरेको निति तथा कार्यक्रम बहुमतले पारित गरेको थियो । आईतबार प्रस्तुत बजेटमाथि आज सोमबार नगर सभामा छलफल गर्ने कार्यक्रम रहेको नगर प्रवक्ता दुर्गा बहादुर विश्वकर्माले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७७ असार ८ गते सोमबार