कोहलपुर ।
पहाडि क्षेत्रमा शनिवार विहानैदेखि लगातार भैरहेको वर्षाका कारण राप्ती नदीमा पानीको सतहले ‘खतराको बिन्दु’ पार गरेको छ । दाङ, रोल्पा र प्युठानमा शनिवार विहानैदेखि परेको वर्षाका कारण राप्ती नदीमा बाढी आएपछि पानीको सतह खतराभन्दा माथि पुगेको थियो । राप्ती नदीमा पानीको सतहले ‘खतराको बिन्दु’ पार गरेको यसवर्ष पहिलोपटक हो । राप्ती नदीमा पानीको सतह ५.४० मिटर भन्दा बढी पुगेपछि खतराको निशान पार गरेको मानिन्छ । नदीमा पानीको सतहले शनिवार साँझ करिब ५ बजेतिर ‘खतराको बिन्दु’ पार गरेको थियो ।
राती सवा ८ बजे नदीमा पानीको सतह ५.९ मिटर भन्दा माथि पुगेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए । नदीमा पानीको सतहले खतराको तह पार गरिसकेपछि तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन साइरन बजाइएको थियो ।
नदीमा पानीको तह खतराको तह पार गरिसकेकाले तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन साइरन बजाइएको प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले जानकारी दिए । ‘हामीले गाउँपालिकाहरुलाई भनिसकेका छौं । तटीय क्षेत्रका बासिन्दालाई पनि सतर्क रहन साइरन बजाइसकेका छौं’ उनले भने, ‘२०७४ सालको बाढीमा ६ मिटर कटेपछि समुदायमा पानी पसेको थियो ।’ पानीको सतह ६ मिटर पुगेपछि राप्तीमा आउने बाढीले तटीय क्षेत्रका धेरै टाउँमा क्षति पु¥याउनेछ । कुसुममा रहेको बाढी मापन केन्द्रबाट बाढी नदी तटीय क्षेत्र होलियासम्म पुग्न करिब ४ देखि ५ घण्टा लाग्ने जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रका सूचना अधिकृत गौरी बुढाथोकीले बताए ।
आपतकालीन कक्षले उद्धार सामाग्रीसहित उद्धार टोलीलाई राप्तीसोनारी, डुडुवा र नरैनापुरमा सतर्क अवस्थामा राखेको जानकारी दिएको छ । नदी वरिपरिका गाउँमा पानी पस्ने अवस्था आउने बित्तिकै उद्धार टोली गाउँमा पुगिसक्ने गरी तयारी अवस्थामा राखिएको छ । राती ९ बजेबाट भने नदीमा पानीको सतह घट्दै जान थालेको थियो । माथिल्लो क्षेत्रमा विहानैदेखि भइरहेको वर्षा रोकिएपछि नदीमा पानीको सतह पनि घट्न थालेको हो ।
नदीमा पानीको सतह बढेपछि राप्तीसोनारी गाउँपालिकाका १ देखि ७ सम्मका वडाहरु, डुडवाका १ देखि ३ र नरैनापुरका ५ र ६ नम्बर वडा अत्याधिक जोखिममा हुन्छन् । भारतले राप्ती नदीमा लक्ष्मणपुर बाँध, कलकलवा तटबन्ध र सडकजस्तो बाँध बनाएपछि सन् १९८५ देखि वर्षेनी बाँकेका आधा दर्जन गाउँमा डुवानमा पर्दै आएका छन् । भारतले राप्ती नदीमा बनाएको लक्ष्मणपुर बाँधका ढोकाहरु समयमा खोलिदिँदा डुवानको जोखिम कम हुन्छ । तर, बाँधको ढोकाहरु खोल्दा आफ्नो देशमा डुवान हुने भएकाले भारतले ढोका खोल्दैन । जसले गर्दा बाँकेमा डुबान हुँदै आएको छ ।
बाढीमा फसेकाको उद्धार
राप्ती नदीमा पानीको सतह बढेसँगै नदीको बीच टापुमा केही मानिसहरु फसेका थिए । विभिन्न कामले नदीको बीच टापुमा पुगेका स्थानीय मानिसहरु एक्कासी आएको बाढीमा फसेका हुन् । उनीहरुको सशस्त्र प्रहरीको टोलीले उद्धार गरेर सुरक्षित ठाउँमा पु¥याएको थियो । सशस्त्र प्रहरी उपरीक्षक दिपक अधिकारीले राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ को गौशाला भन्ने ठाउँमा फसेका ६ जनाको उद्धार गरिएको जानकारी दिए । त्यसैगरी वडा नम्बर ५ ललही नजिकैको घाँसे टापुमा ५ जना महिलाहरु फसेका छन् । स्थानीय महिलाहरु दिउँसो त्यहाँ घाँस काट्न गएका थिए ।
सशस्त्र प्रहरी उपरीक्षक अधिकारीले त्यहाँ फसेका व्यक्तिहरुको उद्धारको लागि टोली पुगेको बताए । यो समाचार तयार पार्दासम्म शनिवार राती साढे १० बजेसम्म त्यहाँ फसेका महिलाहरुको उद्धार हुन सकेको थिएन । राती र पानीको बहाब समेत बढेकाले उद्धारमा समस्या भएको उद्धारकर्ताहरुले बताएका थिए । बाँकेमा शनिवार दिनभर पानी नपरेपनि नदी आसपासका रहेका मानिसहरु एक्कासी बाढी आएपछि फसेका हुन् ।









प्रतिक्रिया दिनुहोस्