बाँकेमा थरिथरिका क्वारेन्टिन, ‘कतै डर लाग्दा, कतै रहर लाग्दा’



शुभाकर विश्वकर्मा । कोहलपुर ।

ठूलो साउण्डमा बजिरहेको छ नेपाली झ्याउरे गीत । कोही भूईमा बसेका छन् । कोही बेच्नमा बसेर तालि बजाउँदै छन् । तीन जना नाचिरहेका छन् । हेर्नेहरुले हौसला थपिरहेको देखिन्छ त उनीहरु गीतको ताल र सुरमा कम्मर मर्काउँदै छन् । मुखमा कालो मास्क, हाफ भेष्ट र जिन्सको प्वाइन्ट लगाएका यूवा, कालै मास्क लगाएकी कुर्ता सुरुवालमा सजिएकी एक महिला नाचिरहेका छन् । भने अलि पर एक अधबैसे पुरुष पनि एक्लै नाचिरहेको देख्न सकिन्छ । उनीहरुलाई उक्त गीतको ताल र सुरमा नाच्नको लागि प्रेरित गराइरहेका छन्, एक जना प्रहरी जवान । एक हातमा माइक भिरेका, मुखमा मास्क लगायका उनी नेपाल प्रहरीको पोसाकमा छन् ।

ती प्रहरी हुन्, प्रहरी बिट ढकेरीका प्रहरी जवान भरत खड्का । प्युठान घर भएका उनी अहिले जनता माविमा ड्युटीमा छन् । यो मनोरञ्जनात्मक दृष्य बाँकेको राप्तिसोनारी गाउँपालिका वडा नम्बर ९ मा रहेको जनता माविको क्वारेन्टिन स्थलको हो । यहाँ हरेक दिन क्वाारेन्टिनमा बसेकाहरुको दैनिकी यसरी नै बित्ने गरेको छ । क्वारेन्टिनमा बसेकाहरुलाई हौसला प्रदान गर्नको लागि यहाँ उनकै अगुवाईमा हरेक दिन बिहान साँझ नाच्ने र मनोरञ्जन गर्ने काम चलिरहेको छ । वडा कार्यालयले उक्त कार्यको लागि समन्वय गरेको छ । क्वारेन्टिनमा बसेका नागरिकहरुको तनाब कम गर्ने र शारिरिक तथा मानसिक रुपमा उनीहरुलाई सबल बनाउनको लागि दैनिक मनोरञ्जन दिने गरिएको वडा कार्यालयले जनाएको छ । वडा नम्बर ९ का अध्यक्ष महाविर ओलीले वडापालिकाको नीतिगत निर्णय नभएपनि क्वारेन्टिनमा बस्नेहरुको सक्रियतामा त्यस्तो कार्य गरिरहेको बताए । उनका अनुसार त्यहाँ बसेका सबै भारतबाट आएका हुन्, र उनीहरुले नै भारतबाट गीत बजाउने डेक नै ल्याएका थिए ।

उनीहरुले ल्याएको र विद्यालयमा रहेको साउण्ड सिस्टमको प्रयोग गरेर क्वारेन्टिनमा बस्नेहरुको तनाव कम गर्ने र मनोञ्जन गर्ने उद्देश्यले त्यस्तो कार्य भइरहेको उनको भनाई रहेको छ । जनता मावि क्वारेन्टिनमा अहिले दुई महिला र एक बालिका सहित ५२ जना रहेका छन् । उनीहरु सबै राप्तीसोनारी ९ का हुन् । ‘वडा पालिकाको खर्चमा उनीहरुको व्यवस्थापन भइरहेको छ । क्वारेन्टिनमा बसेकाहरुलाई सहज वातावरण सिर्जना गर्ने खालका सिर्जनात्मक कार्य भइरहेका छन्’ वडाअध्यक्ष ओलीले भने । राप्तीसोनारीको वडा नम्बर ९ मा कोरोना संक्रमण देखिएको छ । जम्मा चार संक्रमित मध्ये दुई जना निको भएर घर फर्किसकेका छन् भने दुई जनाको आइसोलेसन वार्डमा राखेर उपचार भइरहेको छ । यस्तै बैजनाथ गाउँपालिकाको वडा नम्बर ६ मा रहेको क्वारेन्टिनमा समेत नागरिकहरुको लागि दैनिक यस्तै मनोरञ्जन र योगा हुने गरेको छ ।

भारतका विभिन्न क्षेत्रबाट आएका नागरिकहरुको व्यवस्थापनको लागि दैनिक नाचगान, योगा, विभिन्न मनोबैज्ञानिक कक्षाहरु र तनाव व्यवस्थापन खालका गतिविधि भइरहेका छन् । बैजनाथ वडा नम्बर ६ का अध्यक्ष भद्र बहादुर बस्नेतले वडाका क्वारेन्टिनमा रहेका नागरिकहरुको लागि उनीहरुलाई घर जस्तो पारिवारिक वातावरण सिर्जना गर्नको लागि योगा र मनोरञ्जनात्मक क्रियाकलाप गर्ने गरिएको जानकारी दिए । त्यहाँ क्वारेन्टिन व्यवस्थापन समिति समेत गठन गरेर काम भइरहेको छ । ‘क्वारेन्टिन मै बसेका नागरिककोहरुको सहजताका लागि परामर्शदाता नियुक्त गरेका छौं । यहाँ हामीले मानव अधिकारका साथै स्वास्थ्य सम्बन्धि परामर्श दिन्छौं’ अध्यक्ष बस्नेतले भने । उक्त वडाका क्वारेन्टिनहरुमा सरसफाईको समेत राम्रो व्यवस्था रहेको छ ।

तर कोहलपुरका विभिन्न क्वारेन्टिनमा बसेका नागरिकहरुले भने समस्या हुने गरेको बताएका छन् । वडा नम्बर १४ मा रहेको राम मावि क्वारेन्टिनमा बसिरहेका सन्त बहादुर विकले क्वारेन्टिनमा सामान्य रुपमा दैनिकी बितिरहेको जानकारी दिए । उनका अनुसार अहिलेसम्म कसैले पनि कुनै प्रकारको कक्षा वा प्रशिक्षण दिएका छैनन् । भारतको गुजरातको होटलमा काम गर्ने उनी पाँच दिन अघि आएका थिए । त्यहाँ उनी सहित ३०–३५ जना रहेका छन् । सामान्य रुपमा आफूहरु बसिरहेको उनको भनाई थियो । ‘दिउँसो कहिले सुत्ने, फेसबुक चलाएर बस्ने यस्तै गरि चलिरहेको छ’ उनले भने, ‘स्वास्थ्य परीक्षण गर्ने भनेका छन् गरेका छैनन् ।’ उता वडा नम्बर १४ अध्यक्ष टेकचन हरिजन व्यवस्थित रुपमा वडाका नागरिकलाई क्वारेन्टिनमा राखिएको दाबी गरे । अझ् कोहलपुुर नगरपालिकाले त क्वारेन्टिनमा रहेका नागरिकहरुलाई मनोविमर्श कक्षा दिनको लागि एक जना मनोविमर्शकर्ता नै नियुक्त गरेको छ ।

अझै भेटिएनन् कोरोना संक्रमित

जिल्लाका अन्य स्थानीय तहका क्वारेन्टिनमा नागरिकहरुलाई मनोरञ्जन र मनोबैज्ञानिक कक्षा दिइरहँदा जानकी गाउँपालिकामा भने एक जना कोरोना संक्रमित भागे । नेपालगञ्जका ती संक्रमित जानकी गाउँपालिका वडा नम्बर २ को श्री माध्यमिक विद्यालयमा रहेको आइसोलेसनबाट भागेका थिए । उनी गत हप्ताको सोमबार त्यहाँबाट भागेको भएपनि अझै भेटिएका छैनन् । मध्यरातमा अत्यधिक गर्मी र लामखुट्टेको टोकाई सहन नसकेर शौचालय जान्छु भन्दै उनी भागेका थिए । गाउँपालिकामा पछिल्लो समय कोरोना संक्रमित थपिरहेका छन् । गाउँपालिकाले भने एक जना आइसोलेसनबाट भागेपछि भने क्वारेन्टिन र आइसोलेसन सेन्टरहरुमा कडाई गरिएको जनाएको छ ।

गाउँपालिकाका अध्यक्ष रामनिवास यादवले अहिले ती स्थानहरुमा सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिए । उनका अनुसार अहिले गाउँपालिका क्वारेन्टिनमा बसेका नागरिकहरुको स्वास्थ्य सुरक्षलाई समेत ध्यान दिइएको छ । ‘भागेका संक्रमित अझै भेटिएका छैनन् । हामीले प्रहरीलाई खोज्न आग्रह गरेका थियौं । उहाँहरुबाट खोजिरहेका छांै भन्ने उत्तर आएको छ ।’ मिसन टुडेसँगको कुराकानीमा अध्यक्ष यादवले भने । जिल्ला प्रहरी कार्यालय बाँकेले पनि उनी भागेर भारततर्फ गएको हुनसक्ने आंकलन गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ असार ३ गते बुधबार