कोहलपुर ।
बाँकेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका चिकित्सकसहित ३८ जनालाई क्वारेन्टिनमा राखिएको छ । गत मंगलबार र हिजो आइतबार अस्पतालमा उपचाररत बिरामीमा कोरोना पुष्टि भएपछि चिकित्सकसहित ३८ जनालाई क्वारेन्टिनमा राखिएको हो । पछिल्लोपटक आइतबार रुकुम पश्चिम सानीभेरी गाउँपालिका १ का ८२ वर्षिय एक वृद्धलाई कोरोना पुष्टि भएको थियो । पेटका बिरामी उनी गत २२ गते अस्पताल भर्ना भएको अस्पतालका उप–निर्देशक डाक्टर दिनेश श्रेष्ठले जानकारी दिए ।
‘उहाँ गत २२ गते नै अस्पतालको इमरजेन्सीमा भर्ना हुनुभएको हो’ उनले भने, ‘सोही दिन नै स्वाब संकलन गरेर परीक्षणको लागि नेपालगञ्ज पठाएका थियौं । आइतबार शल्यक्रियाको तयारीमा गर्दा नै पोजेटिभ देखिएको खबर आयो ।’ आइतबार कोरोना पोजेटिभ देखिएका बिरामीको सम्पर्कमा आएका ८ डाक्टरसहित २४ जनालाई क्वारेन्टिनमा राखिएको उनले बताए । ‘ढिलो गरी स्वाब परीक्षणको रिपोर्ट आउँदा बिरामीसँग धेरै जनाको सम्पर्क भइसकेको थियो’ उनले भने, ‘ट्रेसिङ गर्दा आइतबार नै ८ चिकित्सकसहित अन्य नर्स कर्मचारी गरेर २४ जनालाई क्वारेन्टिनमा राख्नुप¥यो ।’ वृद्धको आन्द्राको शल्यक्रिया गर्नुपर्नेछ ।
घरबाहिर कतै नगएका उनलाई कसरी कोरोना संक्रमण भयो भनेर खुल्न सकेको छैन । ‘वृद्धमा कसरी कोरोना संक्रमण भयो भनेर खोज्दैछौं’ बाँकेका कोरोना रोग फोकल पर्सन नरेश श्रेष्ठले भने, ‘उहाँको गृह जिल्लामा समन्वय गरेर स्रोत पत्ता लगाउँदै छौं ।’ ८२ वर्षिय बिरामीलाई २० वर्षिय नातिले घरबाटै एम्बुलेन्स मार्फत कोहलपुर मेडिकल कलेज ल्याएका थिए । अस्पतालमा गत मंगलबार पहिलोपटक एक जना बिरामीमा कोरोना संक्रमण देखिएको थियो । अछामबाट रिफर गरिएकी एक २५ वर्षिय महिलामा कोरोना देखिएको हो ।
उनको सोही दिन नै ठूलो आन्द्राको शल्यक्रिया गरिएको थियो । त्यतीबेला पनि उनको सम्पर्कमा आएका चिकित्सकसहित १४ जनालाई क्वारेन्टिनमा राखिएको अस्पतालका उप–निर्देशक श्रेष्ठले जानकारी दिए । ‘दुवै पटकमा गरी अस्पतालको ठूलो जनशक्ति क्वारेन्टिनमा राख्नुपरेको छ’ उनले भने, ‘सर्जरी वार्डको जनशक्ति झन् ७५ प्रतिशत नै क्वारेन्टिनमा रहेका छन् ।’ बाहिरबाट अस्पताले रिफर गरेका बिरामीका आफन्तहरुले ट्राभल हिस्ट्रीको बारेमा सही सूचना नदिदा समस्या हुने गरेको उनी बताउँछन् । ‘हामीलाई रिफर गरिएका बिरामीको बारे पुर्व जानकारी हुँदा त्यही अनुसार तयारी गर्छौं’ उप–निर्देशक श्रेष्ठले भने, ‘पुर्व जानकारी नहुँदा समस्या हुनको साथै कोरोना देखिएमा ठूलो जनशक्ति क्वारेन्टिनमा राख्नुपर्ने अवस्था आउँछ ।’
आइतबार वृद्धमा कोरोना पुष्टि भएपछि अस्पतालको सर्जरी वार्ड सिल गरिएको थियो । बिरामीलाई आइसोलेसन वार्डमा राखेर उपचार भइरहेको अस्पतालका सह–निर्देशक नितेश कुमार कनोडियाले जानकारी दिए । ‘सर्जरी वार्ड आइतबार सिल गरेका हौं । सोमबारबाट सेवा सुरु हुनेछ’ उनले भने, ‘बिरामीको अवस्था अहिले सामान्य रहेको छ । शल्यक्रियाको तयारी भइरहेको छ, सभ्भवत एक दुई दिनमै शल्यक्रिया हुन्छ । बिरामीको सेवाका लागि गएका डाक्टर, नर्स लगायत सबैलाई क्वारेन्टिनमा राखिएको उनले बताए ।









प्रतिक्रिया दिनुहोस्