भोकभोकै चमौलीदेखि कोहलपुरसम्म, तीन गुणा बढी भाडा असुल्दै सवारी साधन



शुभाकर विश्वकर्मा । कोहलपुर ।

केही व्यक्तिको मुखमा मास्क थियो । कोही भुईमा पल्टिरहेका थिए त कोही पेटीमा बसिरहेका थिए । कोही भने सडकमा गाडी आउन बित्तिकै रोक्न खोज्थे । निकै थकित र पीडादायी भांगभगीमा देखिन्थे उनीहरु । कुल १५ जनाको समूह । २० देखि ३५ वर्ष उमेर समूहमा सुत्केरी महिला समेत थिइन् । भारतको उत्तराखण्डको चमौली भन्ने ठाउँबाट आएका उनीहरु केही दिन अघि कोहलपुरको चौराहामा भेटिएका थिए । भारतको चमौलीदेखि कोहलपुरसम्म सुत्केरी महिला र साना बालकदेखि युवासम्म तीनसम्म भोकभाकै आएका रहेछन् ।

लकडाउनको समयमा भोकभोकै आफ्नो मातृभूमि नेपालमा निकै संघर्षका साथ आएका मध्येका एक मजदुर हुन्, जुम्लाको तातोपानी गाउँपालिका–२ का मिम बहादुर बुढा । गत वर्षको माघ महिनामा उनी दुई जना साथीसँगै कालापहाड (भारत) गएका थिए । गाउँमा रोजगारीको कुनै पनि विकल्प नभएपछि धन कमाउन भारत गएको उनले बताए । गाउँको एक विद्यालयमा करारमा रहेको जागिर गुमेपछि बाध्यताले भारत जानु परेको बुढा बताउँछन् । ‘दुई चार महिना राम्रै काम भयो, ठिकठिकै चलिरहेको थियो । तर बीचमा कोरोनाको महामारी फैलिएपछि काम पनि गुम्यो, आम्दानीको स्रोत समेत गुम्यो ’ उनले निराश हुँदै भने । बुढाका अनुसार लामो समयको संघर्ष, दुःख र पीडा पछि बल्ल कोहलपुर पुगिएको हो । करिब तीन महिना अघि भारतमा कोरोना कहरका कारण लकडाउन हुँदा उनी बस्ने क्षेत्रमाम त्यसको प्रभाव थिएन् ।

सबैको काम निरन्तर चलिरहेको थियो । कमाई समेत राम्रो थियो । तर एक्कासी भारतमा रेल्वे सेवा सञ्चालन हुने र गाडी खुल्ने निर्णय भएपछि रोजगारीको शिलशिलामा भारतमा भएका अधिकांश नेपाली घर फर्किन थाले । सँगै भएका साथीहरु घर फर्किदा आफूहरु पनि घर आउनको लागि लामो समय पहल गर्नु परेको उनको भनाई छ । बुढा भन्छन्,‘ हामी गाउँको एक ठेकेदारकोमा काम गरिरहेका थियौ । हामीसँगै भएका नेपालीहरु सबै फर्किन थाले । हामीले पनि घर फर्किने जानकारी साउजीसँग ग¥यौ, हामीले काम गरेको ज्याला ल्याएर फर्किने निश्चित भयो ।’ लकडाउनको समय भएकोले पास लिनु पर्ने थियो । उनी र उनका साथीले त्यहीका एक जना व्यक्तिसँग पास मिलाई मागे । उनी बसेको ठाउँबाट रेल्वे स्टेशनसम्म पुग्नको लागि प्रति व्यक्ति ३ हजार रुपैयाँमा गाडी रिर्जभ गरे ।

उनीहरु जेष्ठ २३ गते साँझ पाँच बजे चमौलीबाट हिडे । त्यसपछि २४ घण्टा रेलमा यात्रा गरेर आएको उनले बताए । २५ गते विहान उनीहरु सुदूरपश्चिमको गौरीफण्टा नाका हुदैँ नेपाल प्रवेश गरेका थिए । त्यहाँकासम्म प्रति व्यक्ति भाडा ६ हजार भारु तिरेर आए । उनीहरुसँगै सुदूर पश्चिम र कर्णाली प्रदेशका झण्डै १ सय जति थिए । आफूहरु भने मुगु र जुम्लाका गरि १५ जनाको समूह रहेको उनले बताए । ‘कञ्चनपुर पुग्दा विहान ११ बजेको थियो । कसैले खाना त चाउचाउ समेत खान पाएका थिएनौ । त्यहाँबाट पनि गाडी रिर्जभ गरेरै आएको हो ।’ धनगढीदेखि कोहलपुसम्म भारु १ हजार रुपैयाँ भाडा लिन्छु भएको भएपनि गाडीवालाले प्रति व्यक्ति २ हजार लिएको उनको भनाई छ ।

२५ गते साँझ बर्दिया गाडीमा भोकै सुतेका उनीहरु २६ गते दिउँसो १२ बजे कोहलपुरको चौराहामा आइपुगे । सोही दिन साँझ मिसन टुडेसँग कुराकानी गर्दै बुढासँगै आएका मुगुका धनविर थापाले तीन दिनसम्म भोक, प्यास नभनि आएको र खाना समेत नखाएको बताए । उनका अनुसार लकडाउनको समयमा न राज्यले बुझ्यो त न स्थानीय सरकारका जनप्रतिनिधि कसैले पनि उनीहरुको समस्या बुझेनन् । ‘दुःख पाएपनि पैसा खर्च भएपनि केही गुनासो छैन । तर घर जान पाइदिएको भए हुने थियो । बरु रोग लागेपनि घरमै मरौला’ उनले भने । अब यहाँबाट पनि एक गाडीवालाले प्रति व्यक्ति ३ हजारमा लिन्छु भनेको छ ।

अब दुई दिनमा मुगु पुगिन्छ होला त्यस दिन गाडी चढ्नु भन्दा अघि मिसन टुडेसँग कुराकानी गर्दै सुत्केरी महिला मुगुकी हस्तना सुनारले भनेकी थिइन् । जुम्लाका मिम बहादुर बुढाले शनिबार टेलिफोनमा कुरा गर्दै आफु गाउँपालिकाको क्वारेन्टिनमा बसेको जानकारी दिए । यसैगरि दुःख पीडा सहेर सुदूरपश्चिम र कर्णालीका लाखौं नागरिक भारतबाट घर फर्किएका छन् । कोरोना कहरका कारण भारतबाट रोजगारी गुमाएर फर्किएका नेपालीहरुबाट यहाँका यातायात व्यवसायीहरुले तीन गुणा भन्दा बढी भाडा असुल्ने गरेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७७ जेठ ३२ गते आइतबार