‘कोरोना रोकथामका लागि सबै खटिएका छौँ’



विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसका संक्रमितहरु नेपालमा दिनप्रतिदिन बढिरहेका छन् । कोरोना संक्रमितको संख्या शुक्रबारसम्मको तथ्यांक अनुसार देशका विभिन्न जिल्लाहरुमा गरी पाँच हजार ६२ पुगेको छ । पछिल्लो समय १६ जना डिस्चार्ज भएसँगै निको भएर घर फर्कनेको संख्या नेपालमा आठ सय ७७ पुगेको छ भने मृतको संख्या १६ रहेको छ । बाँकेमा कोरोना संक्रमितको संख्या २ सय ९५ पुगेको छ । १ सय ५५ जना निको भएर घर फर्किँदा १ जनाको भने मृत्यु भएको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्लाका सबै पालिकाहरु सक्रिय रुपमा लागि परेका छन् । सरकारले लागू गरेको लकडाउनको पूर्ण पालना गर्दै आवागमन तथा व्यापार व्यवसाय सञ्चालन भइरहेका छन् । लकडाउनको सबैभन्दा बढी प्रत्येक्ष असर दैनिक ज्याला मजदुरी गर्नेहरुलाई परेको छ । लकडाउनकै कारण विभिन्न उद्योग, व्यवसाय तथा कलकारखानाहरु बन्द भएपछि देशभित्र तथा बाहिरबाट मजदुरहरु घर फर्कने क्रम जारी छ । उनीहरुलाई कोरोनाको संक्रमण हुन सक्ने आशंकामा बाँकेसहित सबै जिल्लाका स्थानीय तहहरुले क्वारेन्टाइनमा ल्याएर राख्ने गरेका छन् । यसरी बैजनाथ गाउँपालिका वडा नम्बर ३ ले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण र क्वारेन्टिनमा रहेका नागरिकहरुको व्यवस्थापन लगायतका कार्यहरु कसरी गरिरहेको छ भनेर वडा अध्यक्ष रामचरण थारुसँग यानबी साहुले गरेको कुराकानी ।

१. बैजनाथ गाउँपालिका वडा नं.३ मा पछिल्लो समय कोरोना रोकथाम तथा नियन्त्रणका लागि के कस्ता कार्यहरु गरिरहनु भएको छ ?

कोरोनाको संक्रमण फैलिँदै गएपछि पछिल्लो समय भारतमा मजदुरी गर्न गएका नेपाली दाजुभाईहरु घर फर्किरहनु भएको छ । कोरोनाकै कारण उहाँहरु समस्यामा परेपछि अहिले पनि घर फर्कने क्रम जारी रहेको छ । त्यसमा बैजनाथ गाउँपालिकाका विभिन्न वडाका नागरिकहरु पनि हुनुहुन्छ । वडा नं.३ मा पनि कयाँै व्यक्तिहरु आइसक्नु भएको छ भने अझै कोही आउने क्रममै हुनुहुन्छ । भारतका विभिन्न ठाउँ तथा सिमानाकाहरुमा अलपत्र नागरिकहरु घर फर्कन सुरु भएदेखि हामीले हाम्रो वडाका क्वारेन्टिन सुरु निर्माण गर्यौं । यसअघि नै वडामा रहेको सरस्वती आधारभूत विद्यालयमा निर्माण गरिसकिएको थियो भने पछिल्लो समय भारतबाट धेरै नागरिकहरु आएपछि नौबस्ताको नेपाल राष्ट्रिय माध्यामिक विद्यालयमा पनि क्वारेन्टिनको व्यवस्था गर्यौं । यसको लागि वडाका जनप्रतिनिधि, कर्मचारी सबै आफ्नो ठाउँबाट खटिनु भएको छ । भारतबाट आएका नागरिकहरुलाई ल्याउनका लागि गाडिको व्यवस्था गरेका छौँ । ल्याइसकेपछि क्वारेन्टिनमा राख्नुभन्दा पहिले उहाँहरुलाई कोरोना मापदण्ड अथवा सामाजिक दुरी कायम, सरसफाई, औषधी उपचार लगायतका कुराहरु पहिले नै जानकारी गराएर कोठामा प्रवेश गराउँछौँ । उहाँहरुलाई मास्क र सेनिटाइजरको व्यवस्था पनि गरिदिएका छौँ । भारतबाट आएर ती क्वारेन्टिनमा बसेका नागरिकहरुलाई १४ दिनपछि आरडीटी जाँच गर्ने गरेका छौँ । रिपोर्ट नेगेटिभ आएकालाई ७ दिन होम क्वारेन्टिनमा बस्ने गरी घर पठाउने गरेका छौँ भने पोजेटिभ आएकाहरुलाई पुनः पीसीआर गरेर रिपोर्ट पोजेटिभ आएमा उपचारका लागि आइसोलेसनमा पठाउने व्यवस्था मिलाएका छौँ ।

२. वडा नं.३ मा कति क्षमताको क्वारेन्टिन निर्माण गर्नु भएको छ ?

हामीले वडा नं.३ मा भारतबाट नागरिकहरुका दुई वटा क्वारेन्टिन निर्माण गरेका छौँ । वडाभित्र रहेका नेपाल राष्ट्रिय माध्यमिक विद्यालय र सरस्वती आधारभूत विद्यालय गरी दुई वटा सामुदायिक विद्यालयहरुलाई नै क्वारेन्टिनमा परिणत गरेर व्यवस्थापन गरेका छौँ । सुरुमा एउटा मात्र निर्माण विद्यालयलाई क्वारेन्टिन बनाएका थियौँ । भारतबाट आउनेको संख्या धेरै भएपछि समस्या भएर अर्को विद्यालयमा पनि क्वारेन्टिनको व्यवस्था गर्यौ । अहिले दुबै विद्यालयमा गरेर करिव दुई सय जना अट्न सक्ने क्षमता रहेको छ ।

३. तपाइको वडामा अहिलेसम्म भारतबाट कति जना व्यक्ति आउनु भएको छ र कति जना घर फर्किनु भयो ?

अहिलेसम्म भारतबाट वडा नं.३ मा आउने नागरिकहरुको संख्या करिव २३३ रहेको छ । उहाँहरुमध्ये केहिलाई आरडीटी गरेर रिपोर्ट नेगेटिभ आएकालाई ७ दिन होम क्वारेन्टिनमा बस्ने गरी घर पठाएका छौँ । अन्य अहिले सरस्वती आवि, बैरहवामा ७६ र नेरामावि, नौबस्तामा ६२ जना बसिरहनु भएको छ ।

४. क्वारेन्टिनमा रहेका व्यक्तिहरुको सुरक्षाका लागि सुरक्षा प्रवन्ध कसरी मिलाउनु भएको छ ?

क्वारेन्टिनमा बसेका व्यक्तिहरु भाग्न सक्ने सम्भावना पनि हुन्छ । कयाँै वडाहरुमा क्वारेन्टिनबाटै भाग्ने गरेको पनि पाइन्छ । त्यसको लागि सुरक्षाको व्यवस्था त चाहियो नै । हामीले पनि वडा नं.३ मा रहेका दुई वटै क्वारेन्टिनमा सुरक्षा व्यवस्था गरेका छौँ । अहिलेसम्म हाम्रो वडाका क्वारेन्टिनबाट कोहि पनि भागेका छैनन् । तैपनि भाग्न सक्ने सम्भावना हुने भएकाले हामीले हवल्दारको नेतृत्वमा २४ घण्टा सुरक्षाकर्मी खटाएका छौँ । क्वारेन्टिन भित्र कुनै समस्या भएमा उहाँहरुले हामीलाई तुरुन्तै खबर गर्नु हुन्छ । ती समस्याहरु हामी सबै बसेर समाधान गर्छौँ ।

५. वडा नं. ५ मा अहिलेसम्म कुनै व्यक्तिमा कोरोनाको संक्रमण देखिएको छ ?

वडा नं.३ मा क्वारेन्टिनमा बसेकाहरुलाई पहिलो चरणमा १२ जनालाई पीसीआर जाँच गर्दा दुई जनालाई पोजेटिभ देखिएको थियो । उनीहरुलाई गाउँपालिकाले वनकटुवामा निर्माण गरेको आइसोलेसनमा उपचारका लागि पठायौँ । रिपोर्ट नेगेटिभ आएका अन्य १० जनालाई होम क्वारेन्टिनमा बस्ने गरेर घर पठायौँ । पोजेटिभ दुई जना पनि बिहीबार घर फर्किसक्नु भएको छ । दोस्रो चरणमा पनि पाँच जनालाई आरडीटी पोजेटिभ देखियो । उनीहरुलाई पीसीआर गर्दा ५ जना मध्ये ४ जनालाई पोजेटिभ देखियो । उहाँहरुमध्ये पनि एक जना निको भएर घर फर्किसक्नु भएको छ । अन्य तीन जना उपचाररत हुनुहुन्छ भने तेस्रो चरणमा आरडीटी गर्दा दुई जनामा पोजेटिभ देखिएको छ । उहाँहरुलाई अहिले सरस्वती आविको क्वारेन्टिनमा छुट्टै राखेका छौँ । सात दिनपछि उहाँहरुको पनि पीसीआर गराउँछौँ ।

६. उनीहरुको व्यवस्थापन कसरी गरिरहनु भएको छ ?

अन्य पालिकाहरुमा क्वारेन्टिनमा बसेका व्यक्तिहरुका लागि घरबाट नै खाना नास्ताको व्यवस्था गर्ने गरेको पाइएको छ । तर हाम्रो पालिकाका सबै वडाहरुमा रहेका क्वारेन्टिनमा खाना पकाउने व्यवस्था गरेका छौँ । दाल, चामल लगायतका आवश्यक सामग्रीहरु खरिद गरेर ४÷४ जना खाना पकाउने व्यक्तिहरु राखेका छौँ । त्यहाँ बसेका नागरिकहरुका लागि खाना, नास्ताको व्यवस्था त्यहि हुन्छ । खाने र बस्ने विषयमा अहिलेसम्म त्यस्तो कुनै गुनासो पनि आएको छैन । उनीहरुको स्वास्थ्य सुरक्षका लागि मास्क र सेनिटाइजरको पनि व्यवस्था गरिएको छ ।

८. कयाँै ठाउँहरुमा क्वारेन्टिन सामाजिक दुरी नै कायम नगरि खचाखच राख्ने गरेकोले झनै संक्रमण फैलन सक्ने जोखिम पनि देखिन्छ । यहाँहरुको वडामा के छ ?

सुरु सरुका दिनहरुमा हाम्रो यस्तो समस्या देखिएको थियो । तर अहिले हामीले त्यसको पूर्ण रुपमा व्यवस्थापन गरिसकेका छौँ । अहिले क्वारेन्टिनमा बसेको व्यक्तिहरु उहाँहरु आफै सामाजिक दुरी कायम गरेर, मास्क र सेनिटाइजरको प्रयोग गरेर सुरक्षितसँग बसिरहनु भएको छ । त्यहाँ बसेको १४ दिन पुगिसकेपछि उहाँहरुलाई आरडिटी गर्छौ । रिर्पाट नेगेटिभ आएमा ७ दिन होम क्वारेन्टिनमा बस्ने गरी घर पाउने गरेका छौँ भने पोजेटिभ आएमा उपचारका लागि पठाउने गरिएको छ । शौचालय भने केहि व्यवस्थित गर्न सकिएको छैन । तर त्यस्तो अभाव नै छैन् । पहिलेकै शौचालय प्रयोग भइरहेका छन् । ती शौचालयहरुलाई नै सरसफाई गरेर प्रयोग गरिएको छ ।

९. वडामा निर्माण गरेका क्वारेन्टिन अपुग भएमा अथवा क्षमता भन्दा धेरै व्यक्तिहरु आएको खण्डमा कसरी व्यवस्थापन गर्नु हुन्छ ?

अहिलेसम्म त्यस्तो समस्या आएको छैन् । वडाले निर्माण गरेका दुई वटा क्वारेन्टिनमा नै व्यवस्थापन गरेका छौँ । पछिल्लो समय भारतबाट आउनेहरुको संख्या पनि क्रमशः घट्दै गएकोले पनि जहाँसम्म लाग्छ समस्या नहोला । यदि अहिलेका क्वारेन्टिन अपुग भएमा वडाभित्र रहेका अन्य विद्यालय तथा संघ–संस्थाहरुसँग समन्वय गरेर अघि बढ्छौँ ।

  • No tags available
प्रकाशित मिति : २०७७ जेठ ३१ गते शनिबार