खस्किदै कोहलपुरको शिक्षा प्रणाली, बीचमै विद्यालय छाड्ने बढे



डिल्ली शाही ।

बाँकेको कोहलपुर नगरपालिकामा बीचैमा विद्यालय छाड्नेको संख्या बढ्दै गएको छ । नगर शिक्षा शाखाले सार्वजनिक गरेको प्रारम्भिक तथ्यांक अनुसार बीचमै विद्यालय छाड्ने संख्या बढी देखिएको हो । तथ्यांक अनुसार नगरका प्राथामिक तहमा १ सय ४१ जना, निम्न माध्यामिक तहमा ६० जना र माध्यामिक तहमा ७ सय ८२ जना गरी जम्मा ९ सय ९१ जनाले विद्यालय छोडेका छन् । यो संख्या शैक्षिक सत्र २०७६ मा बीचमै पढाई छोड्नेहरुको रहेको नगर शिक्षा शाखा प्रमुख अनन्त कुमार पौड्डयालले जानकारी दिए ।

‘हामिले संकलन गरेको तथ्यांक अनुसार गत शैक्षिक सत्रमा करिब एक हजार जनाले विद्यालय छाडेका छन्’ उनले भने, ‘यो हाम्रो लागि पक्कै गभ्भिर विषय हो ।’ कोहलपुर नगरभित्र ३० वटा सामुदायिक विद्यालयहरु रहेका छन् । विद्यालय बीचमै छाड्नेको तथ्यांक सामुदायिक विद्यालयको मात्र हो । सरकार तथा नगरपालिकाले वर्षेनी शैक्षिक सुधारको लागि भन्दै करोड बढी रकम सरकारी विद्यालयमा खर्च गरेपनि प्रतिफल भने कमजोर आएको छ । पछिल्लो समय कोहलपुरमा रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्किएको भन्ने समेत यो तथ्यांकले देखाएको सरोकारवालाहरु बताउँछन् ।

नगर शिक्षा शाखा प्रमुख पौड्डयालले सामुदायिकका विद्यार्थीहरुले बीचमै पढाई छाड्नुको मुख्य कमजोरी व्यवस्थापन समिति, विद्यालय प्रशासन र शिक्षक रहेको बताए । ‘विद्यालयले अभिभावकको दृष्टिकोणलाई परिवर्तन गर्न नसक्नु तथा विश्वास दिलाउन नसक्नु पनि अर्को कारण हो’ उनले भने, ‘सामुदायिक विद्यालयमा माध्यामिक तहसम्म निःशुल्क रुपमा पठनपाठन हुने भएपनि किन बीचमै पढाई छोड्नेहरु बढेका छन् । यसले समग्र शैक्षिक क्षेत्रको लागि गम्भिर प्रश्न उठाइदिएको छ ।’ कोहलपुर नगरपालिका नगर शिक्षा शाखाका विद्यालय निरीक्षक रवि मिजारले आफ्नो पेसातर्फको चासो भन्दा राजनितिकसँग नजिक भएको कारणले बालबालिकाले विद्यालय बीचमै छोड्नुपरेको दाबी गरे ।

‘विद्यालय व्यवस्थापन समितिका पदाअधिकारी र शिक्षकहरुले आफ्नो पेसातर्फ चासो नदिदाको परिमाण हो’ उनले भने, ‘आफ्नो पेसातर्फ ध्यान दिन छोडेर राजनितिकसँग नजिक हुँदा विद्यार्थीले बीचमै पढाई छोडे ।’ केही दिनअघि तथ्यांक सार्वजनिक गर्न आयोजित भर्चुअल कार्यक्रममा विद्यालय निरीक्षक मिजारले कोरोनाका कारणले विद्यालय बन्द हुँदा अभिभावकको घरमा पुगेर बालबालिकाको अवस्था बुझ्न शिक्षक नगएको बताएका थिए । ‘अहिले बालबालिकाले पढ्न पाएका छैनन् । उनीहरुलाई कसरी पढाउन सकिन्छ ? अनलाइन कक्षा कसरी गर्ने ? भन्ने खाल्का कुुराहरुलाई बढी चासो दियो भने यो समयमा सामुदायिक विद्यालय सफल हुनसक्छ’ उनले भने ।

‘सरकारले लकडाउन गरेको तीन महिना पुगिसक्यो तर अहिलेसम्म पनि शिक्षकहरुले बालबालिकाले पढिरहेका छ की छैनन् भनेर फोन समेत गर्नुभएको छैन होला’ उनले भने, ‘तर नेपालको राजनितिकको बारेमा भने उहाँहरु अगाडि हुनुहुन्छ । त्यसै कारणले गर्दा समेत बालबालिकाहरु विद्यालय छाड्ने गर्दछन् ।’ कोहलपुर स्थित कृष्ण माध्यामिक विद्यालयका प्रधानाध्यापक विरेन्द्र मल्ल समेत प्रत्येक वर्ष विद्यालय छाड्नेको संख्या बढ्दै गएको बताउँछन् । ‘कोहलपुरमा पहाडबाट आएर यहाँ मानिसहरु बस्ने गर्दछन्’ उनले भने, ‘उनीहरु आमाबुवासँग इण्डिया समेत जाने भएकोले बीचमै विद्यालय छाड्ने गरेको पाइन्छ ।’

शिक्षक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीको कमजोरीका कारण पढाई बीचमै छाड्ने विद्यार्थी बढेको भने उनी मान्न तयार छैनन् । वडा नं. १, २, १३ मा दलित र थारु जातिको बाहुल्यता भएकोले त्यहाँका बालबालिकाहरुले अन्य क्षेत्रका भन्दा बढीले विद्यालय छाड्ने गरेका छन् । नगरका सामुदायिक विद्यालयमा पढाई छाड्ने संख्या बढिरहँदा निजी विद्यालयमा भने यो समस्या रहेको छैन । क्रिसाका अध्यक्ष शिव प्रसाद डाँगीले विषम् परिस्थितिका कारणले केही बालबालिकाले छोडेपनि ठूलो संख्या नरहेको बताए ।

‘संस्थागत विद्यालयमा निगरानी र सुरक्षाका रुपमा पनि अभिभावकहरुले पूर्ण रुपमा विश्वास लिएका हुन्छन्’ उनले भने, ‘त्यसकारणले संस्थागत विद्यालयबाट बालबालिकाहरुले बीचमै कमै पढाई छोड्ने गरेका छन् ।’ कोहलपुर स्थित एक सामुदायिक विद्यालय व्यवस्थापन समितिका अध्यक्षले सबै आरोप व्यवस्थापन समिति र शिक्षकलाई लगाएर शिक्षा शाखाले आफ्नो कमजोरी लुकाउन खोजेको बताए । ‘कोहलपुरको शैक्षिक गुणस्तर क्रममा खस्किनुमा नगरपालिका जिम्मेवार छ’ उनले भने, ‘यसको जिम्मा नगरपालिका र शिक्षा शाखाले धेरै लिनुपर्छ । हामिलाई आरोप लगाउने आफुहरु उम्किन पाइदैन ।’

  • No tags available
प्रकाशित मिति : २०७७ जेठ ३० गते शुक्रबार