कोहलपुर ।
बाँकेमा पहिलोपटक एक कोरोना संक्रमित महिलाको सफल शल्यक्रिया गरिएको छ । मंगलबार नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा संक्रमित महिलाको शल्यक्रिया गरिएको हो ।
अछामको बयलपाटा अस्पतालले सोमबार दिउँसो २६ वर्षिया महिलालाई कोहलपुर रिफर गरिएको थियो । भारतबाट बिरामी महिला आएको चिकित्सकहरुले थाहा पाएपछि अप्रेशन अघि स्वाब संकलन गरेर पीसीआर परीक्षणको लागि भेरी अस्पतालको प्रयोगशालामा पठाइएको हो ।
प्रयोगशालाले उक्त महिलामा कोरोना संक्रमण पुष्टि भएको सोमबार राती साढे १० बजे नै कोहलपुर मेडिकल कलेजलाई जानकारी गराएको थियो । कोरोना संक्रमित महिलाको चिकित्सकहरुले सुरक्षा सावधानी अपनाउँदै मंगलबार दिउँसो आन्द्राको सफल शल्यक्रिया गरेका थिए ।
ठुलो आन्द्रा बेरिएको अवस्थामा रहेकी महिलाको सवा १ घण्टा लगाएर चिकित्सकहरुले सफल शल्यक्रिया गरेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर सह–निर्देशक डा. नितेषकुमार कनोडियाले जानकारी दिए । उनका अनुसार अछाम चौरकोट गाउपालिका वडा नं. ५ घर भएकी महिला १८ हप्ताकी गर्भवती समेत रहेकी थिइन् ।
शल्यक्रियापछि महिला र पेटभित्रको बच्चाको अवस्था सामान्य रहेको उनले बताए । कोरोना संक्रमित महिलाको शल्यक्रियामा नेपालगञ्ज मेडिकल कलेज प्राचार्य डाक्टर मोदनाथ मरहठ्ठा, उप–प्राचार्य डाक्टर अनुप शर्मा तथा डाक्टरहरु प्रदीप थापा, आशिष भट्ट, शिरीष आचार्य एवंम स्टाफ नर्सहरु सुनिता योगी, शुष्मिता गुरु, निर्मला वैगार लगायतको टिमले सफल शल्यक्रिया गरेको हो ।
यस्तै विरामीको पैथोलोजी जाँच गर्ने प्राविधिक रमेश जिसी, पोष्ट अपरेटिभ स्टाफ नर्स खुस्बु वर्नवाल, मनीस योगी, बिपना सिंह तथा सहायक डम्बर जिएम, धर्मिलाल बुढा लगायतको टिमले काम गरेको अस्पतालद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।
अछामबाट सोमबार दिउँसो २ बजे कोहलपुर स्थित अस्पताल ल्याइएकी ती २५ वर्षकी महिलाको कोरोना जाँच गर्दा संक्रमण देखिएपछि सोमबार रातीदेखि अस्पताल शील गरिएको थियो ।
उनीलाई सिम्रिक एयरको हेलिकोप्टर मार्फत कोहलपुर ल्याइएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । शल्यक्रिया पश्चात महिलाको अवस्था सामान्य रहेको अस्पतालका उप–निर्देशक डाक्टर दिनेश श्रेष्ठले जानकारी दिए ।
‘हामीले बाँकेमा मात्र होइन पश्चिम क्षेत्रमा नै पहिलोपटक कोरोना संक्रमित महिलाको सफल शल्यक्रिया गर्न सफल भएका छौं’ उनले भने, ‘महिलाको अवस्था समेत सामान्य रहेको छ ।’ संक्रमितहरुको स्वास्थ्य समस्या जटिल भएकाको उपचारका लागि सरकारले कोहलपुर मेडिकल कलेजलाई थर्ड लेभलको कोरोना अस्पतालको जिम्मेवारी दिएको थियो ।
त्यो जिम्मेवारी मंगलबार आफुहरुले सफलताका साथ पूरा गरेको अस्पतालका प्रबन्ध निर्देशक डा. सुरेशकुमार कनोडियाले बताए । पहिलोपटक नै थर्ड लेभल कोरोना अस्पतालको रुपमा कोहलपुर मेडिकल कलेजले काम गरेको हो । सरकारले पश्चिम क्षेत्रमा नै गम्भिर खालका कोरोना संक्रमितको उपचार लागि कोहलपुर मेडिकल कलेजलाई मात्र तोकेको छ ।
आजबाट सेवा सुचारु
महिलाको रिपोर्ट पोजिटिभ आएपछि मेडिकल कलेजको कोहलपुर अस्पतालको ओपिडी विभाग र आपतकालीन कक्षलाई सोमबार रातीदेखि नै सिल गरिएको थियो ।
अस्पतालले मंगलबार बिहान एक विज्ञप्ति प्रकाशित गरेर कोरोना पोजिटिभ महिलाको आपतकालीन शल्यक्रिया गर्नुपर्ने भएकाले आन्तरिक व्यवस्थापनका लागि एक दिन मात्र कोहलपुर अस्पतालको सम्पूर्ण ओपिडी सेवा र आकस्मिक सेवा बन्द गरिएको जनाएको थियो ।
आज बुधबारदेखि सुरक्षित साथ अस्पतालका सबै सेवाहरू सुचारु गरिने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।
अस्पतालका प्रबन्ध निर्देशक कनोडियाले आजदेखि अस्पतालका सबै सेवाहरु सुचारु हुने जानकारी दिए । ‘मंगलबार एक दिनका लागि बन्द रहेका सेवाहरु बुधबादेखि सुरु हुनेछन्’ उनले भने, ‘सुरक्षा सावधानी अपनाएर सेवा सुरु हुनेछ ।’









प्रतिक्रिया दिनुहोस्