बाँकेका ४४ ले जिते कोरोना, कोरोना जितेर शनिबार फर्किए पत्रकार–नर्स जोडी



नेपालगञ्ज ।

बाँके जिल्लाका ४४ जना कोरोना संक्रमितहरु कोरोनालाई जितेर घर फर्किएका हुन् । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना रोग फोकल पर्सन नरेश श्रेष्ठका अनुसार शनिबार साँझसम्म ४४ जना कोरोना जितेर घर फर्किएका छन् । बाँकेमा पहिलोपटक गत बैशाख १९ गते नेपालगञ्जका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसयता अहिलेसम्म जिल्लामा २ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । त्यसमध्ये एक युवाको मृत्यु भइसकेको फोकल पर्सन श्रेष्ठले जानकारी दिए । पछिल्लोपटक शनिबार ४ जना कोरोना संक्रमितहरु कोरोना जितेर घर फर्किएका थिए ।

शनिबार कोरोना जित्ने ४ जनामध्येमा नेपालगञ्ज उपमहानगरपालिका २ का नर्स र पत्रकार जोडी समेत रहेका छन् । नर्सिङ्ग संघ बाँकेकी अध्यक्ष लक्ष्मी केसी र श्रीमान पत्रकार मेघराज ओली झण्डै दुई हप्तापछि कोरोना जितेर शनिबार घर फर्किएका हुन् । खजुरा स्थित कोरोना अस्पतालमा स्वागत गर्न खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कक्षपति, नेपालगञ्ज उपमहानगरपालिकाका उप–प्रमुख उमा थापामगर, भेरी अस्पतालकी प्रमुख अस्पताल नर्सिङ्ग प्रशासक दुर्गालक्ष्मी श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष ठाकुरसिंह थारु, सचिव तिलक गाउँले लगायत अस्पताल पुगेका थिए । उनीहरुले उच्च मनोबल र स्वास्थ्य आचरणमा ध्यान दिएका कारण कोरोनाबाट मुक्ती पाएको प्रतिक्रिया दिए ।
संक्रमितलाई हेर्ने दृष्टिकोण फेर्नुपर्छ

अरु दिन जस्तै केसी खजुरा गाउँपालिकाबाट काम गरेर घर फर्किएकी थिइन । घरमै बसेर उनले कोरोनाका बिषयमा जिल्लामा नेतृत्वदायी भूमिका निभाइरहेका देशभरका नर्सको भर्चुअल बैठकमा सहभागिता जनाइन । बैठक सकिए लगत्तै उनलाई कोरोना पोजिटिभ भएको जानकारी दिइयो । ‘शुरुमा पत्यार नै लागेन ।’ उनीले भनिन्, ‘होइन होला भन्ने लाग्यो । तर रिर्पोट भनेको रिर्पोट नै हो मान्नै पर्यो । यत्रो सावधानी अपनाउँदा समेत कोरोना देखियो ।’

उनी खजुरा गाउँपालिकाको स्वास्थ्य शाखाको उपप्रमुख हुन् । संक्रमण भएको थाहा हुँदासम्म कोरोना बिरुद्ध गाउँपालिकाले चलाएका हरेक अभियानमा उनले फिल्डमा खटिएर सक्रियतापूर्वक काम गरेकी थिइन । खजुराको उढरापुरमा एकजना संक्रमण देखिएपछि उनी सहित अन्य स्वास्थ्यकर्मीको स्वाब परीक्षण गरिएको थियो । त्यसमा अरुको नेगेटिभ आए पनि केसीको पोजिटिभ आएको थियो । लगत्तै परिवारका सदस्यको पनि परीक्षण गरियो । जसमा छोराछोरीको नेगेटिभ र श्रीमानको पोजिटिभ देखियो । श्रीमान नेपालगञ्जका अग्रज पत्रकार हुन । उनी दुई दश भन्दा लामो समयदेखि पत्रकारिता गर्दै आएका छन् । संक्रमण देखिने बित्तिकै दुबैजानलाई खजुरास्थित कोरोना बिशेष अस्पतालमा आइसोलेट गरिएको थियो ।

संक्रमण अवधिभर दुबै जनाको स्वास्थ्य अवस्था सामान्य थियो । ‘स्वास्थ्य सुरक्षा उपाय अपनाउन कुनै कसर बाँकी राखेका थिएनौं । त्यही पनि भयो । अहिले कोरोना जित्यौं ।’ उनीहरुले भने । कोरोना रोग भन्दा समाजमा रहेको त्रसित मनोविज्ञान सबैभन्दा डरलाग्दो भएको ओली बताउँछन् । उनी भन्छन्, ‘रोगसँग लड्न सजिलो छ । जितिन्छ पनि तर यसका बारेमा समाजमा फैलिएको त्रसित मनोविज्ञानसँग लड्न धेरै मुस्किल हुन्छ जस्तो लाग्यो ।’ कोरोना बिरुद्धको अभियानसंगै सामाजिक मनोचिकित्सासँग सम्बन्धी जनचेतना फैलाउन आवश्यक भएको उनीहरुको भनाई छ । समाजमा संक्रमित हेर्ने दृष्टिकोण समेत फरक पाइएकाले त्यसलाई फेर्नुपर्ने बताउँछन् ।

  • No tags available
प्रकाशित मिति : २०७७ जेठ २५ गते आइतबार