लकडाउनमा कोहलपुर नगरपालिकाको राहत: दुई चरणमा साढे एक करोड रकम खर्च



कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकाले बिहीबारसम्म राहत वितरणको लागि साढे एक करोड रकम खर्च गरेको छ ।

लकडाउनका कारण समस्यामा परेकाहरुलाई राहत वितरणको लागि नगरपालिका एक करोड ४९ लाख ५५ हजार ७ सय ५१ रुपैयाँ खर्च गरेको हो । शुक्रबार पत्रकार सम्मेलन गरेर नगर प्रमुख लुट बहादुर रावतले बिहीबारसम्म दुई चरणमा गरेर उक्त रकम बराबरको राहत वितरण गरिएको जानकारी दिए ।

उनका अनुसार पहिलो चरणमा चार हजार ९ सय ३५ घरपरिवारलाई राहत वितरण गरिएको थियो । पहिलो चरणको राहत नगरपालिकाले ५६ लाख ३९ हजार ६ सय रुपैयाँ बराबरको दिएको हो ।

त्यसैगरी नगरपालिकाले दोस्रो चरणको राहतको लागि ८६ लाख ८ हजार ८ सय ११ रुपैयाँ बराबरको राहत वितरण गरेको प्रमुख प्रशासकिय अधिकृत वीरेन्द्रदेव भारतीले जानकारी दिए । उनका अनुसार दोस्रो चरणमा पाँच हजार एक सय ४७ परिवारलाई राहत साम्रगी वितरण गरिएको थियो ।

यो अवधिमा नगरपालिकाले औषधी खरिदका लागि सात लाख ६ हजार तीन सय ४० रुपैयाँ खर्च गरेको छ ।

पत्रकार सम्मेलन आय व्यय सार्वजनिक गर्दै नगरप्रमुख रावतले विपत व्यवस्थापन कोषमा गत वर्षको बाँकी मौज्दात ९ लाख ५० हजार ९ सय ६३, नगरपालिकाको खर्च खाताबाट रकमान्तर रकम ५७ लाख ६० हजार, विभिन्न व्यक्ति तथा संघ संस्थाहरुबाट प्राप्त १५ लाख ६ हजार ४ सय ९९, प्रदेश सरकारबाट प्राप्त १५ लाख, नगरसभाबाट विनियोजित रकममध्ये खर्च नभएको ३ लाख ३२ हजार ९ सय ८८ र नगर कार्यपालिकाबाट विपद् व्यवस्थापन कोषमा रकमान्तर २ करोड, ३३ लाख रुपैयाँ गरी जम्मा ३ करोड तेत्तीस लाख ५० हजार ४ सय ५० रुपैयाँ जम्मा भएको बताए ।

उनका अनुसार कोषमा अहिलेसम्म १ करोड ८३ लाख ३९ हजार ६ सय ९८ रुपैयाँ बैंक मौज्दात रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ जेठ ३ गते शनिबार