विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण बाँके जिल्लामा पनि पछिल्लो समय बढिरहेको छ । सुरुमा बाँकेमा एक जनामा मात्र संक्रमण देखा परेपनि अहिले उक्त संख्या २५ पुगिसकेको छ । संक्रमण बढ्दै गएपछि यहाँका सबै पालिकाहरुमा उच्च सर्तकता अपनाइएको छ । सरकारले परिक्षणका दायरा पनि बढाएको छ । सरकारले जारी गरेको लकडाउनलाई थप प्रभावकारी बनाउन सबै पालिकाहरुले आ–आफ्ना पालिका प्रवेश गर्ने सिमानाकाहरुमा कडाई गरेका छन् । अत्यावश्यक काम बाहेक अन्य सवारी आवागमन तथा भिडभाड नगर्न आग्रह गरिरहेका छन् । जिल्लाको छिमेकी पालिका नेपालगञ्जमा समेत यसको संक्रमण देखा परेपछि बैजनाथ गाउँपालिकाले पनि आवश्यक निगरानी बढाएको छ । छिमेकी पालिकामा संक्रमण बढिरहेको बेला बैजनाथ गाउँपालिकामा वडास्तरबाट के कस्ता प्रयासहरु भइरहेका छन् भनेर बैजनाथ गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष काली बहादुर सिंहसँग यानबी साहुले गरेको संक्षिप्त कुराकानी ।
१. कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि वडा कार्यालयबाट के कस्ता कार्यहरु भइरहेका छन् ?
- बैजनाथ गाउँपालिकाका वडा नम्बर ४ मा हामीले सबैभन्दा बढी प्रचार प्रसार र सरसफाईलाई विशेष प्राथमिकता दिएका छौँ । वडाका विभिन्न टोलहरुमा माईकिङ्ग, जिगल प्रचार प्रसार, सचेतनामूलक पर्चा पम्पलेट वितरण लगायतका कामहरु गरिएको छ । त्यसका साथै सरसफाई अभियानलाई पनि विशेष प्राथमिकता दिइएको छ । वडाका विभिन्न २५ स्थानहरुमा हात धुनका लागि सावुन पानीको व्यवस्था मिलाइएको छ । भिडभाड हुने कार्यालय तथा संघ संस्थाहरुमा मास्क, सेनिटाइजरको व्यवस्था गरिनुका साथै किटनाशक विषादी छर्कने गरेको छौँ । नागरिकको स्वास्थ्य र सरसफाई दुबैमा विशेष ध्यान दिएका छौँ । आम नागरिकहरुलाई अत्यावश्यक काम बाहेक घरमै सुरक्षित बस्न आग्रह गर्दै अनावश्यक रुपमा भिडभाड नर्गन आग्रह गरेका छौँ । बाहिर निस्कनै परेमा मास्कको प्रयोग गर्न र कुनै पनि काम गर्दा सामाजिक दुरी कायम गरी आफू सुरक्षित रहन र सरकारले गरेको लकडाउनलाई पूर्ण रुपमा पालना गर्न आग्रह गरिरहेका छौँ । त्यसको लागि जनप्रतिनिधि र प्रहरीको प्रत्यक्षबाट निगरानी भइरहेको छ ।
२. संक्रमण फैलिएका अन्य विभिन्न ठाउँबाट तपाइको वडामा प्रवेश गर्नेहरुलाई कसरी निगरानी गरिरहनु भएको छ ?
- अहिले सबै पालिकारुमा कडाई गरिएको छ । त्यसले गर्दा अन्यत्रबाट कोहि व्यक्तिहरु त्यसरी आउने सम्भावना न्यून छ । यदि कोहि आइहालेको खण्डमा पनि हामीले निगरानी गरिरहेका छौँ । गाउँ टोलबासीहरुलाई पनि कोहि अपरिचित व्यक्ति आएमा खबर गर्न आग्रह गरेका छौँ । वडाभित्रका नागरिकहरुको हकमा कामको शिलशिलामा देशका विभिन्न जिल्ला गई लकडाउनका कारण करिब १ सय ९९ जना घर फर्कनु भएको थियो । उहाँहरुलाई परामर्श केन्द्रमा लिएर स्वास्थ्य परिक्षण गरायौँ । कोरोनासँग मिल्दाजुल्दा कुनै पनि लक्षणहरु नदेखिएपछि होम क्वारेन्टाइनमा बस्न आग्रह गर्दै घर पठाइयो । त्यस्तै भारतबाट आएका ८÷९ जनालाई पनि स्वास्थ्य परिक्षण गरेर होमक्वारेन्टाइनमा बस्न भनिएको छ । उनीहरुको सबैको स्वास्थ्यकर्मी र जनप्रतिनिधिको टोलिले निगरानी गरेको थियो । अहिले सम्म त्यस्तो कुनै समस्या देखिएको छैन । अन्य बाहिरबाट कोहि अपरिचित व्यक्तिहरु आएमा समुदायका व्यक्तिहरुबाट नै निगरानी गर्न भनेका छौँ । त्यस्तो व्यक्तिहरु कोहि आएमा तुरुन्त खबर गर्न आग्रह गरेका छौँ । वडामा कोहि त्यसरी आएको पाइएमा तुरुन्त क्वारेन्टाइनमा पठाउने व्यवस्था गरेका छौँ ।
३. तपाइको वडासँग जोडिएको राजमार्गबाट कति जनाको उद्धार गर्नु भयो ?
कोहलपुरका ३ वटा वडाहरु र रत्नराजमार्गसँग हाम्रो वडाको सिमाना जोडिएको हुँदा राजमार्ग क्षेत्रमा कयौँ व्यक्तिहरु अलपत्र परेका थिए । उनीहरु सबैलाई कोहलपुर नगरपालिकासँग समन्वय गरेर बैशाख ८ देखि १३ गतेसम्म रत्नराजमार्ग प्रयोग गर्दै कर्णालीका विभिन्न जिल्लाहरुमा जाने नागरिकहरुका लागि कोहलपुरदेखि नै गाडीको व्यवस्था गरेर बबईसम्म पठायौँ । करिव २८ वटा गाडीहरुको व्यवस्था गरेर २१ सय बढीको उद्धार गरि बबईसम्म पु¥याउन सफल भइयो । त्यसपछि पनि पैदल हिडेर आएका नागरिकहरुलाई वडा नं.१ चिसापानीमा खान बस्नको व्यवस्था मिलाएर गाडीमा सम्बन्धित सिमानाका सम्म पु¥याइएको थियो ।
४. वडाबाट अहिलेसम्म कति घरपरिवारलाई राहत वितरण गर्नुभयो ?
हामीले वडा कार्यालयबाट दैनिक ज्यला मजदुरी गर्ने अतिविपन्नहरुलाई पहिलो चरणमा ३ सय २७ जनालाई राहत वितरण ग¥यौँ । दोस्रो चरणमा पहिले छुटेकासहित ३ सय ८ जनालाई वितरण गरिएको अवस्था छ । फेरि पछिल्लो चरणमा कोठा भाडामा बस्ने २ सय ९ जना व्यक्तिहरुलाई राहत स्वरुप चामल वितरण गरेका छौँ । अहिलेलाई राहत प्याकेजको कार्यक्रम सकिएको छ । अझै त्यस्तो कुनै व्यक्ति छुटेको रहेछ अथवा राहत नपाएको गुनासो आएको खण्डमा अनुगमन गरेर राहत उपलब्ध गराउँछौँ । कोहि पनि भोको बस्न नपरोस् भनेर योजना बनाएका छौँ । त्यसको लागि केहि खाद्य सामग्रीहरु स्टक पनि राखिएको छ ।
५. कयाँै ठाउँमा राहत वितरण गर्दा वास्तविक पीडित भन्दा पहुँचवालाहरुले पाए भन्ने गुनासाहरु पनि आएका छन् । तपाइको वडामा के छ ?
यस्ता गुनासाहरु आउनु स्वाभाविकै हो । वास्तमा यहाँ धनका भन्दा पनि मनका गरिबहरु धेरै छन् । उसले पायो, मैले किन पाइन ? भन्ने सोच छ मानिसमा छ । त्यसमा पनि कोहि हुने खाने, घरबास भएकाहरुले लोभका कारण धर्ना दिने जस्ता कार्यहरु पनि भए होलान् तर वास्तविक विपन्न नागरिकहरुले राहत पाएका छन् । त्यसमा पनि कोहि छुट्नु भएको होला । हामी पनि त्यसमा पुरै सफल भयौ भन्न सक्ने अवस्था रहेन । विवरण संकलन गर्दा कोहि छुट्नु भएको होला । उहाँहरु वास्तविक पीडित भएको खण्डमा राहत दिएर पठाउँछौँ ।
६. कयौँ ठाउँहरुमा लकडाउनका कारण कृषकहरुले उत्पादन गरेका कृषिजन्य वस्तुहरु विक्रि नहुँदा खेतबारीमै कुहिने अवस्था छ । तपाइको वडामा के छ ?
हाम्रो वडामा त्यस्तो खास्सै समस्या छैन । वडाका कृषकहरुले उत्पादन गरेका फलफुल तथा तरकारीहरु वडाभित्रै खपत भइरेको छ । केहि बाहिरी वडाहरुमा लिएर पनि विक्रि वितरण भइरहेको छ । अहिलेसम्म तरकारी तथा फलफुल मुल्य नपाएर वा लकडाउनका कारण किसानका खेतबारीमै कुहिएर फालने अवस्था छैन । हाम्रो वडामा त्यति धेरै पनि उत्पादन हुँदैन । भएको पनि वडाभित्रै खपत भएको छ । बचेको केहि बाहिर पठाउने गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्