कोरोना भाइरस (कोभिड–१९) विश्वमा महामारीको रुपमा फैलिएको छ । नेपाल पनि यसबाट अछुतो रहन सकेको छैन । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले लकडाउन गरेको छ । विभिन्न पालिकाहरुले कोरोना संक्रमण फैलिन नदिनको लागि तयारी गरेका छन् । बाँकेको कोहलपुर नगरपालिकाले समेत कोरोना भाइरस रोकथाम तथा विपन्न वर्गहरुका लागि राहत वितरण गरिरहेको छ । यसै सन्र्दभमा कोहलपुर नगरपालिका १० मा कोरोना नियन्त्रणका लागि कस्ता कदमहरु चालिएका छन् भनेर वडाध्यक्ष निम बहादुर चलाउने (निरज)सँग डिल्ली शाहीले कुराकानी गरेका छन् ।
१. कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि वडा कार्यालयले के गरिरहेको छ ?
- अहिले विश्व नै ठुलो महामारीसँग लडिरहेको छ । कोरोना भाइरसले नेपाल पनि अछुतो रहन सकेको छैन । नेपाल सरकारले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्नेका लागि एउटा लकडाउनको यन्त्र प्रयोग गरिरहेको छ । त्यसलाई पूर्ण रुपमा लागु तथा कार्यान्वयन गर्नका लागि कोहलपुर नगरपालिका र हाम्रो वडा कार्यालयबाट निरन्तर खटिरहेका छौं । लकडाउनको समयमा श्रमजीवी मजदुर, किसान, विद्यार्थी, अन्य गरिखाने वर्गहरुलाई निकै समस्या परेको कारणले नेपाल सरकारले राहतको कार्यक्रम घोषणा गरेको छ । सोही अनुरुप हाम्रो वडा कार्यलयबाट पनि राहत वितरण गरिरहेका छौं । कोरोना संक्रमणबाट बच्न र रोकथाम गर्नेका लागि विभिन्न सूचनाको माध्यमबाट वडाबासीहरुलाई सचेतना गराईरहेका छौं ।
२. कोरोना संक्रमण फैलिएका क्षेत्रबाट तपाईको वडामा लुकिछिपी प्रवेश गर्न सक्ने सम्भावना हुनसक्छ । यसतर्फ वडा कार्यालयले के गरिरहेको छ ?
- कोरोना संक्रमण क्षेत्रबाट अहिलेसम्म वडामा लकुछिपी आएका छैनन् । हाम्रो वडाबासीहरु अध्ययन गर्ने र काम गरी दुई पैसा कमाउनका लागि छिमेकी देश भारतमा गएका छन् नगएका होइनन् । तर अहिले सम्म केही व्यक्तिहरु आएका छन् । भारतबाट केही व्यक्तिहरु आएका थिए तर उनीहरुको स्वास्थ्य परीक्षण गरी समुदायमा आउन दिएका
छौं भने पछिल्लो समयमा भने बाहिरबाट आउनेको संख्या भने शून्य रहेको छ ।
३. तपाईको वडाबाट कति घरपरिवारलाई राहत वितरण गर्नुभयो र कसरी राहत वितरण गरिरहनुभएको छ ?
- हाम्रो वडामा विद्यार्थी, सिकर्मी, डमर्की लगायत अन्य कोठा भाडामा बस्ने व्यक्ति गरेर जनसंख्या १० हजार जनसंख्या रहेको छ । हाम्रो वडा कार्यालय र समाजसेवीको सहयोगको तर्फबाट पहिलो चरणमा ५ सय ४४ जनालाई राहत वितरण गरेका थियौं । पहिलो चरणमा केही हदसम्म कस्तो घरपरिवालाई राहत पाउने र नपाउने भन्ने बारेमा कुनै जानकारी नआएपछि हामीले हतार गरेर राहत वितरण गयौं त्यति बेला केही कमजोरी भएको हो । दोस्रो चरणमा राहत वितरण गर्नेका लागि तथ्यांक संकलन गरेका थियो जसमा यहाँ वडामा भएका भाडामा बस्ने, सिमर्की, डमर्की, यातायातका साधनका चालक, अटो रिक्साका चालक, लगायत अन्य हुनेखाने बर्गका व्यक्तिहरुको तथ्थांक संकलन गरेपछि ८ सय जना रहेका छन् । कोहलपुर नगरपालिकामा ८ सय जनाका लागि राहतका लागि माग गरेका छौं कति पास हुने हो थाहा छैन तर यि भनेका वास्तविक राहत पाउने वर्गमा पर्दछन् । त्यसकारणले ‘हुने खानेले हुँदा खानेलाई’ सहयोग गरौं मैले अनुरोध गरेको छु । यहाँ आफ्नो घर भन्दा भाडामा बसेका बढि रहेका छन् । हामीले माग गरे अनुसार पास भएको खण्डमा खरिद नियमावली अनुसार खरिद गरी सामाजिक दुरी कायम गरेर राहत वितरण गर्नेछौं ।
४. कयाँै ठाउँमा राहत वितरण गर्दा वास्तविक पीडित भन्दा पहुँचवालाहरुले पाए भन्ने गुनासाहरु पनि आएका छन् । तपाईको वडामा के छ ?
- मेरो वडामा पहिलो चरणमा राहत वितरण गर्ने क्रममा गुनासाहरु आएका थिए । त्यति बेला ८० प्रतिशत राम्रो काम भएको छ भने २० प्रतिशत कमजोरी भएकै हो । तर दोस्रो चरणबाट यो गल्ती फेरी नहुनका लागि विभिन्न राजनितिक दल, विभिन्न टोलबाट टिम बनाई तथ्यांक संकलन गरेका छौं । वडा कार्यालयबाट दोस्रो चरणमा राहत वितरण गर्ने क्रममा ८ सय बराबर राहत लिने व्यक्तिहरु रहेका छन् तर यसमा ५० प्रतिशत भने भाडामा बस्ने व्यक्तिहरु रहेका छन् । भाडामा बस्नेहरुका लागि राहत नदिने हो कसरी नदिने ? उनीहरुको खानाको लागि चुलो पनि बल्दैन । यो संख्यालाई कोहलपुर नगरपालिकाबाट राहत दिन नस्क्ने जस्तो अवस्था आएपछि यसबाट कम गर्नका वडा कार्यलयबाट एउटा सूचना प्रसारित गरेको थियौं । जसमा उल्लेख थियो तपाईहरुले हामीलाई सहयोग भनेको नेपाल सरकारलाई सहयोग गर्नु हो । अहिले जसको गाँस, बाँस, कपास नहुँने लागि दिनुपर्दछ । कृपया त्यसैले यहाँहरुको सहयोगले अति विपन्न, कोठा भाडामा बस्ने, श्रमिक मजदुरले पायो भने कति खुसी हुन्छ त्यसैले यहाँहरुको नाम हटाउनु अनुरोध गर्दछौं भन्ने खालको सूचना प्रसारण गरेका थियौं । त्यसका कारणले १५० जना व्यक्तिहरुले आफ्नो नाम समेत हटाउनुभएको छ ।
५. नेपाल सरकारले राहत कार्यक्रम घोषण गरेको थियो । यहाँको वडा कार्यालयमार्फत घोषणा गरेका कार्यक्रम मध्ये के–के कार्यान्वयन र कस्तो योजना बनाउनुभएको छ ?
- नेपाल सरकारले घोषणा गरेका कार्यक्रमहरु एकदमै स्वागत योग्य रहेका छन् । यति वेला देश नै विपद्मा परेको छ । यो समयमा गैर सरकारी, अर्ध सरकारी, निजी संस्था र अन्य सहयोगी दाताहरुले सहयोग गर्ने समय हो । हामीले नेपाल सरकारले घोषणा गरेका कार्यक्रमहरुलाई कार्यान्वय गराउन तिव्र रुपमा लागि रहेका छौं । अब नयाँ योजना बनाउने समय पनि आइसक्यो । यो लकडाउनले आफु स्वयम् निर्भर नभए सम्म भविष्यमा नेपालमा निकै चूनौति थपिने चिन्ता लागेको छ ।
६. लकडाउनका कारणले कृषकहरु निकै मर्कामा परिरहेका छन् । यसतर्फ तपाईको वडा कार्यालयले के गरिरहेको छ ?
- अहिले हाम्रो वडामा उत्पादन भएको तरकारी पूर्ण रुपमा खपत भएको छ । तर अहिले लकडाउन भएकोले किसानको तरकारी खपत भएको छ । छिमेकी देश भारत तथा अन्य देशबाट विभिन्न तरकारी निर्यात गरेपछि नेपाली तरकारीले प्रतिस्पर्धा गर्ने नसक्ने भएपछि निकै समस्यामा रहेका छन् । कृषकहरुले उत्पादन गरेका बस्तुको ग्यारेण्टी कृषक नै हो । नेपालमा भएको नेतृत्व टिमले गर्दा किसानहरु निकै समस्या भएको छ । बाँकेका कृषकहरुले रुपैडियाको तरकारीसँग प्रतिपस्र्धा गर्ने सक्ने अवस्था छैन । कोहलपुरका केही वडाहरुमा तरकारी कुहिएर गएको छ । कृषकहरुले बजार सम्म ल्याउने, बिक्रि गर्ने, उचित मुल्य नपाउने जस्ता कुराहरुले कृषकहरु झनै चिन्तित बनेका छन् । यसको लागि नेपाल सरकारले कृषकले उत्पादन गरेका बस्तुहरुको पूर्ण रुपमा ग्यारेन्टी लिनुपर्दछ । नेपाल सरकारले सुरुवातमा नै कृषकहरुलाई बिउबिजन, उत्पादन गर्नका लागि जग्गा उपलब्ध, भाडामा जग्गा सौलियत, जस्ता यावत कुराहरुमा योजना बनाउनुपर्दछ । यति मात्र गरेर कृषकहरुका समस्या र्टदैनन् । कृषकहरुको उत्पादन गरेको तरकारी, अन्य बस्तुहरुको बजारीकरण गर्ने र सो तरकारी नगरपालिकाले खरिद गरी अन्य जिल्ला अथवा छिमेकी देशमा पठाउन सकिन्छ । यस्तो खालको नयाँ योजना बनाउन अति आवश्यक रहेको छ । कृषकहरुले उत्पादन गर्ने मात्र होइन् उसले उत्पादन गरेको बस्तुहरुको मुल्य अनुसारको जिम्मा नेपाल सरकारले लियो भने नेपालमा सबै कृषकहरु आत्मनिर्भर बन्नेछन् ।
७. अत्यमा वडाबासीलाई के भन्न चाहानुहुन्छ ?
- कोरोना भाइरस (कोभिड—१९) कारणले विश्व नै महामारीमा फसेको छ । महामारीबाट नेपाल पनि छुट्न सकेको अवस्था छैनन् । महामारीबाट बच्न र रोकथाम गर्नेका लागि नेपाल सरकारले लकडाउनको यन्त्रलाई प्रयोग गरिरहेको छ । यसलाई कार्यान्वयन गराउनका लागि हाम्रो वडा कार्यालय निरन्तर खटिरहेको छ । वडाबासीहरुलाई वडाबाट प्रसारण गरिएको सूचनालाई आधारमानी अत्यावश्यक काम बाहेक घर बाहिर नस्किन अनुरोध गर्दछु । हाम्रो वडामा भएका सहयोगी दाताहरु हुनुहुन्छ भने वडा कार्यालयमा सम्पर्क गरी सहयोग गर्न समेत अनुरोध गर्दछु ।









प्रतिक्रिया दिनुहोस्