नेपालगञ्ज ।
बाँकेको नेपालगञ्जमा शुक्रबार थप एक जनामा कोरोना संक्रमण पुष्टी भएको छ । नेपालगञ्जमा यो सँगै कोरोना संक्रमितहरुको संख्या २४ जना पुगेको छ । भेरी अस्पताल, नेपालगञ्जका मेडिकल सुपरीटेन्डेन्ट (मेसु) डा. प्रकाश थापाले १६ वर्षका किशोरमा कोरोना संक्रमण पुष्टी भएको हो ।
पछिल्लो पटक लिइएको एक सय ३० वटा स्वावको परीक्षण गर्दा एकजनामा कोरोना देखिएको हो । बाँकेमा अघिल्लो दिनको १ सय दुई, बिहीबारको ४८ वटा स्वाबको परीक्षण हुन बाँकी थियो । यसमा १ सय ३० वटाको रिपोर्ट आएको हो । नेपालगञ्जमा अघिल्लो शुक्रबार पहिलो पटक वडा नम्बर ७ निवासी ६० वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टी भएको थियो ।
त्यसपछि उनको कन्ट्रयाक्ट टे«सिङका आधारमा वडा नम्बर ८ मा स्वाब परीक्षण गर्दा २२ जना ब्यक्तिमा संक्रमण पुष्टी भएको थियो । नेपालगञ्जमा थप देखिएसँगै नेपालमा कोरोना संक्रमित एक सय दुई जना पुगेका छन् । नेपालगञ्जमा संक्रमितको सम्पर्कमा रहेका सबै व्यक्तिको अझै स्वाब संकलन हुन सकेको छैन । संक्रमितको सम्पर्कवालाको खोजी गर्दै स्वाव लिने काम भइरहेको छ । यसैबिच सरकारले २८ वैशाखभित्र चार प्रदेशका १२ जिल्लामा ४ हजार ३७० जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन गर्ने लक्ष्य लिएको छ ।
कोभिड—१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले वैशाख २६, २७ र २८ गते ४ हजार ३७० जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने निर्णय गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह—प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार प्रदेश १ को उदयपुरमा पाँच सय, प्रदेश २ को बारामा दुई सय, पर्सामा पाँच सय जनाको स्वाब संकलन गरेर परीक्षण गरिनेछ ।
त्यस्तै गण्डकी प्रदेशमा नवलपरासी पूर्वबाट ४० जनाको स्वाब संकलन गरेर परीक्षण गरिनेछ । प्रदेश ५ मा नवलपरासी पश्चिम १५०, अर्घाखाँचीमा १८०, रुपन्देहीमा तीन सय, गुल्मीमा दुई सय, कपिलवस्तुमा ५ सय, प्युठानमा दुई सय, बाँकेमा एक हजार र बर्दियामा पाँच सय जनाको स्वाब संकलन गरेर परीक्षण गर्ने तयारी छ । स्वीटजरल्यान्ड सरकारको सहयोगमा नेपालमा बिहीबारमात्र ३० हजार पीसीआर परीक्षण किट प्राप्त भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शुक्रबारको दैनिक अपडेटमा अब पीसीआर परीक्षण बढ्ने बताए । सरकारले भारतबाट आई क्वारेन्टाइनमा बसेका, उच्च जोखिम क्षेत्रमा रहेका व्यक्ति र संक्रमितको कन्ट्याक ट्रेसिङबाट पहिचान भएका व्यक्तिहरुलाई प्राथमिकता दिएर कोरोना परीक्षण गर्ने बताएको छ ।










प्रतिक्रिया दिनुहोस्