लकडाउनसँगै बर्दियामा विकास निर्माण सुरु



सुदीप अधिकारी । बर्दिया ।

मुलुकमा लकडाउन लम्बिएसँगै विकास निमार्ण कार्य पनि प्रभावित हुन थाले पछि यहाँका स्थानिय तहहरुले लकडाउनकै अवधीमा नगरका अधुरा विकास निमार्ण पुरा गर्न थालेका छन् । लकडाउन अघि नै ठेक्का प्रक्रिया पुरा भइ स्थगन भएका विकास निमार्णका योजनाहरु पुरा गर्न थालिएको पालिकाहरुले जनाएका छन् । जिल्ला प्रशासन कार्यालय र स्थानिय तहको अनुमतीमा विकास निमार्णका कार्यहरु सुरु भएका छन् । जिल्ला प्रशासन कार्यालयले प्राथमिकताका आधारमा अति जरुरी योजनाहरु संचालन गर्नु पर्ने भएमा कार्यालयले तोकेको ढाचामा विवरण भरि पेश गर्न आहवान गरेको थियो ।

यसैको आधारमा निमार्ण व्यवसायी तथा कम्पनीहरुले प्रशासनबाट अनुमती लिइ निमार्ण कार्य धमाधम सुरु गरेका छन् । निमार्ण कार्य सुरु गर्ने निमार्ण कम्पनीहरुले आयोजनाको नाम, काममा खटिने जनशक्ति, प्रयोग हुने साधन, ढुवानी हुने सामाग्रीलगाएतको विवरण स्थानिय तह तथा जिल्ला प्रशासन कार्यालयलाई बुझाउनु पर्ने नियम बनाइएको छ । प्रशासन र स्थानिय तहबाट अनुमती प्राप्त गरेका निमार्ण कम्पनी तथा निमार्ण व्यवसायीहरुले विकास निमार्ण कार्य अघि बढाएका छन् । जिल्लाका विभिन्न पालिकाहरुमा लकडाउनका कारण अधुरा रहेका र केही नयाँ योजनाका काम सुरु भएको छ ।

विभिन्न पालिकाहरुमा सडक निमार्ण, सडक कालोपत्रे, कलर्भट पुलपुलेसा निमार्णलगाएतका विकासका कामहरु भइरहेका छन् । ठाकुरबाबा, बारबर्दिया, बढैयाताल, मधुवन, बाँसगढीलगाएतका पालिकाले रोकिएका विकासका काम सुरु गरेका छन् । लकडाउन अघि ठेक्का प्रक्रिया पुरा भएर स्थगन भएका विकासका कामहरु सुरु गरिएको बारबर्दिया नगरपालिकाका नगरप्रमुख दुर्गाबहादुर थारुले जानकारी दिए । उनले भने, ‘लामो समयको लकडाउनका कारण अलपत्र परेका सडक निमार्ण, कालोपत्रे, विभिन्न कार्यालयका भवन निमार्णलगाएतका काम सुचारु गरिएको छ ।

यसका साथै काम गर्दा सामाजिक दुरी र सुरक्षाका उपयाहरु पनि अपनाइएको छ ।’ काम गर्ने जनशक्ति बाहरीबाट नल्याइ आफनै नगरका मानिसलाई मात्र काममा परिचालन गरिएको नगरप्रमुख थारुले बताए । विकास निमार्णका काममा सबै पालिकाहरुले आफनै नगर भित्रकै जनशक्ति मात्र परिचालन गर्न निमार्ण व्यवसायीहरुलाई आग्रह गरेका छन् । कारोना भाइरसको संभावित जोखिमलाई मध्यनजर गरि सामाजिक दुरी कायम गर्दै जुन स्थानमा काम हुने हो त्यही ठाउँकै जनशक्ति परिचालन गरि विकासका काम अघि बढाइएको ठाकुरबाबाका नगरप्रमुख घननारायण श्रेष्ठले बताए ।

नगरप्रमुख श्रेष्ठले ठाकुरबाबा नगरपालिकामा सिँचाइको काम, वन्यजन्तु रोकथामका लागि तारबार, सडक ग्रेभल, कलभर्ट निमार्ण, सडकको ट्याक निमार्णलगाएतका विकासका काम सुरु गरिएको जानकारी दिए । सामाजिक दुरी तथा व्यक्तिगत सुरक्षाका उपायहरु अपनाउँदै प्रधानमन्त्री स्वरोजगार कार्यक्रम पनि सुरुवात गर्ने योजना रहेको नगरप्रमुख श्रेष्ठले बताए । बढैयाताल गाउँपालिकामा पनि अवरुद्ध ठूला विकास निमार्णको कार्यलाई तिब्रता दिइएको छ । पालिकाका अधुरा सडकहरु कालोपत्रे गर्ने, पुल निमार्ण, भवन निमार्णलगाएतका काम भइरहेको बढैयाताल गाउँपालिकाका प्रशासकिय अधिकृत अर्जुन सबेदीले बताए । संघिय, प्रदेश तथा स्थानिय तहअन्र्तगतका ठूला आयोजनाहरु सुचारु गरिएको प्रशासकिय अधिकृत सुबेदीले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७७ वैशाख २६ गते शुक्रबार