सुर्खेत ।
गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु भएपछि दुई दिनदेखि तनावग्रस्त बनेको सुर्खेतको छिन्चु बजार बिहीबार साँझदेखि खुलेको छ ।
पीडित परिवार, गाडी साहु र यातायात व्यवसायीबीच सहमति भएपछि आन्दोलन स्थगित भएको हो । भेरीगंगा नगरपालिका–१२ छिन्चुमा फोर्स गाडीले मंगलबार राती ठक्कर दिँदा भेरीगंगा–४ का राजु बोहराको मृत्यु भएको थियो । मृत्युपछि बोहराका आफन्तले उचित क्षतिपूर्तिका मागसहित आन्दोलन गरेका थिए ।
मृतकका आफन्तले मंगलबार र बुधबारसम्म छिन्चु बजारसँगै सवारी साधन ठप्प पारेका थिए । सडक बन्द गराउँदा जुम्ला, कालिकोट, सुर्खेत, दैलेख, जाजरकोटबाट छिन्चु हुँदै बाहिरिने र भित्रिने यात्रुबीच बाटोमै अड्किएका थिए ।
छिन्चु बजारमा मंगलबार राति साढे ८ बजे सडक छेउमा हिँडिरहेका बोहरालाई गाडीले ठक्कर दिएको थियो । ठक्करपछि गम्भिर घाइते भएका बोहराको उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतले जनाएको छ ।
आफू सवार मोटरसाइकल रोकेर फोनमा कुरा गरिरहेको अवस्थामा बा ३ ख ६३५२ नम्बरको फोर्स गाडीले ठक्कर दिएको थियो । बिहीबार वार्ताका क्रममा मृतकका आफन्तलाई कानुनबमोजिम क्षतिपूर्ति दिने सहमति भएको हो ।









प्रतिक्रिया दिनुहोस्