बर्दिया ।
बर्दिया जिल्लाको बाँसगढी नगरपालिका वडा नं ६ दमौलीमा बिशेषज्ञ सहितको स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियन जिल्ला समिति बर्दियाले बिशेषज्ञ सहितको एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । शुक्रबार बिहानै देखि सुरु भएको स्वास्थ्य शिविरमा आँखा, कान, दाँत, हाडजोर्नी, छाला, सामान्य चिकित्सा एवं फिजिसियन लगायतका स्वास्थ्य सेवाहरु दिइएको थियो । शिविरमा आर्थिक एवं शारीरिक अवस्था कमजोर भएर नेपालगञ्ज सम्म जान नसक्ने बिरामीहरुले घर आगनबाटै निशुल्क चेक जाँच एवं औषधि सहितको सेवा लिएका थिए ।
शिविरमा बिरामीको बिहानै देखि भिड लागेको थियो । शिविरमा एघार सय बढीले निःशुल्क स्वास्थ्य सेवा लिएको आधिकारिक ट्रेड यूनियन जिल्ला समिति बर्दिया अध्यक्ष याम बहादुर खत्रीले जानकारी दिए । सेवा लिने मध्ये सबै भन्दा बढी हाडजोर्नीका बिरामीहरु रहेका छन् । स्वास्थ्य शिविरमा हाड जोर्नीका समस्या भएका चार सय ५० जना, आँखाका तिन सय दुई जना, सामान्य रोगका बिरामी दुई सय ७६ जना छालाका बिरामी एक सय ८६ जना दातका बिरामी ५९ जना ले सेवा लिएका छन् । गाउँघरमै निःशुल्क रुपमा विशेषज्ञ सहितको स्वास्थ्य सेवा पाएपछि स्थानीय भने खुसी ब्यक्त गरेका छन् । बाँसगढी नगरपालिका वडा नं ६ निवासी गंगादेवि अधिकारीले घरदैलो मै आएर स्वास्थ्य सेवा दिएको मा हर्षित भएकी छन् । उनले आँफू टाढा जान नसक्ने भएकाले पनि गाउँको दैलोमा आएको स्वास्थ्य शिविरले राहत दिएको बताईन् ।
एक महिनाको औषधि पाएको बताउँदै एक महिना पछि भेरी अस्पतालमा जाँचका लागि बोलाएको बताईन् । दुर्गम क्षेत्रमा आएर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेकोमा बाँसगढी नगरपालिकाका नगरप्रमुख शालिकराम अधिकारीले आयोजक टिमलाई धन्यवाद दिएका छन् । शिविरमा सबै भन्दा बढि ढाड र घुँडा दुख्ने समस्या भएका बिरामी भेटिएको भेरी अञ्चल अस्पतालका हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डा. प्रकाश बहादुर थापाले बताए । उनले भने , एक्सरे गरेर हेर्नुपर्ने र जटिल किसिमका बिरामीलाई पहिलो चरणको औषधि पश्चात भेरी अञ्चल अस्पतालमा चेक जाँचको लागि बोलाएको छु ।
ग्रामिण क्षेत्रमा बढी जसो निहुरिएर र घुँडा खुम्च्याएर काम गर्ने हुँदा यस्तो समस्या देखिने उनको भनाई छ । अन्य समस्या जटिल समस्या भएका बिरामीलाई थप उपचारका लागि भेरी अञ्चल अस्पतालमा बोलाईएको छ । भने आँखामा जटिल समस्या देखा परेका बिरामीहरुको लागि नेपालगञ्जको भिजन आँखा अस्पतालमा बोलाईएको छ । शिविरमा पहिचान आर्थिक अवस्था कमजोर भएका बिरामीलाई बाँसगढी नगरपालिकाको सिफारीसमा भिजन आँखा अस्पतालले निःशुल्क शल्यक्रियाको व्यवस्था गर्ने आयोजकले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्