स्वास्थ्यकर्मीलाई क्षमता विकास तालिम



कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका अन्र्तगत रहेका स्वास्थ्यकर्मीहरुको लागि क्षमता विकासका लागि तीन दिने तालिम शुरु भएको छ । गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा सहज होस् भन्ने उद्देश्यले तालिम शुरु भएको हो । मंगलबार कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले क्षमता विकास तालिमकोे उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै नगर स्वास्थ्य संरक्षक समेत रहेका प्रमुख रावतले नगरपालिकाको सहज सेवा प्रवाहको लागि स्वास्थ्यकर्मीको भूमिका महत्वपुर्ण रहेको बताए ।

स्वास्थ्य सेवाको अभावमा कोही पनि नगरबासी अब रोग ग्रस्त हुन पर्दैन उनले दाबी गरे । नगर भित्रका सबै स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुले गरेका कामहरु, प्रदान गरिएका सेवाहरुको अभिलेख स्पष्ट राख्ने, आवश्यक परेको समयमा सम्बन्धीत सबै पक्षले हेर्न सक्न गरी अभिलेखिकरण गर्ने विधि र प्रणालीको बारेमा आ–आफ्नो क्षमता विकास गर्न यस तालिम उपयोगी हुने नगर प्रमुख रावतको भनाई रहेको थियो ।

नगर स्वास्थ्य शाखा प्रमुख गिर बहादुर गुरुङले तालिमबाट प्रदान गरिने स्वास्थ्य सम्बन्धी सेवाहरुको प्रभावकारीता, त्यसको व्यवस्थापन तथा स्पष्ट अभिलेखिकरण गर्ने गराउने विधि तथा प्रणालीको बारेमा स्वास्थ्यकर्मीका क्षमता विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । तालिममा स्वास्थ्य क्षेत्रको सेवा प्रभावको अभिलेख राख्ने, प्रतिवेदन तयार पार्ने, सरकारी तथा अन्य संघ संस्थाहरुसँगको सम्बन्ध विस्तारको सहयोगी होस् भनेर सञ्चालन गरिएको उनले
बताए ।

नगर स्वास्थ्य शाखाले आयोजना गरेको सो तालिम नगर स्तरका सबै स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य सेवा केन्द्र, शहरी स्वास्थ्य क्लिनिकहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई दिइने छ । सोमबार देखि शुरु भएको तालिममा आधारभूत स्वास्थ्य सेवा केन्द्रमा कार्यरत बाह्र जना स्वास्थ्यकर्मीहरुको सहभागिता रहेका नगर स्वास्थ्य शाखा प्रमुख गुरुङले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७६ मंसिर ४ गते बुधबार