कोहलपुर ।
तरुण दल नेपालगञ्ज नगर सभापति सन्दीपजंग शाहलाई हातहतियार तथा खरखजना मुद्दामा पाँच वर्ष सजाय माग गर्दै अदालतमा मुद्दा दर्ता गरिएको छ । सरकारी वकिल कार्यालय बाँकेले नगर सभापति शाहसहित चार जनालाई हातहतियार तथा खरखजना मुद्दामा पाँच वर्ष सजाय माग गर्दै जिल्ला अदालत बाँकेका मुद्दा दर्ता गरेको हो । गत कार्तिक १४ गते राती साढे ८ बजेको समयमा उनीहरु जानकी गाउँपालिका ६ मा रहेको नमस्ते भिलेज रिसोर्टबाट मेड इन युएसए लेखेको अटोमेटिक पेस्तोल र गोलीसहित पक्राउ परेका थिए ।
रिसोर्टमा पार्किङ गरिएको बा १८ च ४२११ नम्बरको कार चेकजाँच गर्ने क्रममा चालक बस्ने सिटको मुनि लुकाइराखेको अवस्थामा इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले पेस्तोल र गोली फेला पारेको थियो । पक्राउ परेका नगर सभापति शाहसहित चारै जनालाई हातहतियार तथा खरखजनासम्बन्धी मुद्दामा सरकारी वकिल कार्यालयले शुक्रबार बाँके जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । मुलुकी अपराध संहिता, २०७४ को हातहतियार तथा खरखजनासम्बन्धी उक्त कसूर स्थापित हुन आएमा हातहतियार जफत गरी पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।
अभियोग पत्रमा शाहसहित पक्राउ परेका माधव नेपाली, प्रितम थापा र यामबहादुर बुढामगरलाई सो कसूरअनुसार अधिकतम सजाय माग गरिएको जिल्ला सरकारी वकिलको कार्यालय बाँकेले जनाएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरले चारै जनामाथि हातहतियार तथा खरखजना मुद्दामा अनुसन्धान गरेको थियो । अनुसन्धानको प्रस्तावित राय बुधबार जिल्ला सरकारी वकिल कार्यालय बाँकेमा बुझाइएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेम बहादुर शाहीले जानकारी दिए ।
‘रायसहित प्रहरीले बुझाएको प्रतिवेदनको आधारमा सरकारी वकिलको कार्यालयले प्रतिवेदन अध्ययनपछि मुद्दा दर्ता गरेको हो,’ उनले भने, ‘पक्राउ परेका चारै जना अहिले पनी हाम्रै हिरासत रहेका छन् ।’ नगर सभापति शाहलाई प्रहरीले फसाउन खोजेको र त्यो हतियार प्रहरी आफैंले राखेको दाबी गर्दै तरुण दल बाँके आन्दोलित रहेको छ । तर, प्रहरीले भने निष्पक्ष ढंगले अनुसन्धान गर्दा बरामद हतियार उनकै भएको देखिएको जनाएको छ ।
‘हाम्रो अनुसन्धानबाट बरामद हतियार प्रहरीले राखेको भन्ने कतैबाट देखिएन । शाह र उनका साथीहरू सवार गाडीबाटै बरामद भएको प्रमाणित भएकाले सोही अनुसार कसूरदार ठहर गरी प्रस्तावित राय बुझाइएको हो,’ बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर ओलीले भने ।
नगर सभापति शाह बाहेक अन्य माधव नेपाली, प्रितम थापा र यामबहादुर बुढामगर कर्तव्य ज्यान मुद्दामा तीन वर्ष कैद भुक्तान गरेर आएकाले थप सजाय माग गरिएको बाँके जिल्ला सरकारी वकील कार्यालयका जिल्ला न्यायाधिवक्ता यामबहादुर बानियाले बताए । ‘कैद भुक्तान गरिसकेकाको हकमा दोब्बर सजाय हुने व्यवस्था छ,’ बानियाले भने ।









प्रतिक्रिया दिनुहोस्