शुभाकर विश्वकर्मा । कोहलपुर ।
कर्णाली प्रदेशका विभिन्न जिल्लामा उत्पादित अर्गानिक वस्तुहरुको डिलर कोहलपुरमा खुलेको छ । जुम्ला, मुगु र डोल्पा लगायतमा जिल्लामा उत्पादन हुने अर्गानिक वस्तुहरुको डिलर खोलिएको हो । पहिलो पटक अर्गानिक वस्तुहरुको बजारीकरण, प्रवद्र्धन र रोजगारीको अवस्था सिर्जना गर्ने उद्देश्यले शाखा कार्यालयको औपचारिक रुपमा उद्घाटन गरिएको छ ।
उद्घाटनमा बोल्ने अधिकांश वक्ताहरुले कर्णालीमा उत्पादित अर्गानिक ब्राण्ड अहिलेको आवश्यकता रहेकोमा जोड दिएका थिए । बजारमा पाईने विषदीयुक्त वस्तुको विस्थापन र स्वस्थ जीवनशैलीको अर्गानिक वस्तु आवश्यक रहेकोमा उनीहरुकोले जोड दिए । शारिरीक, मानसिक र स्वास्थ्यका दृष्टिले अर्गानिक वस्तुहरुको प्रयोग अपरिहार्य रहेको उनीहरुको भनाई रहेको थियो ।
कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले कर्णालीको अर्गानिक उत्पादन संस्थागत रुपमा कोहलपुरमा आउनु खुसीको कुरा भएको बताए । बढ्दो परनिर्भरता, विषादीयुक्त खानेकुरा र बजारमा पाईने जंगफुटका कारण मानिस स्वस्थ बन्न नसकिरहेको दाबी उनले गरे । ‘स्वस्थ रहन अर्गानिक ब्राण्ड आवश्यक छ’ उनले भने, ‘बाटोघाटोमा पाईने धुँलो धुँवा युक्त खानेकुरा भन्दा अर्गानिक वस्तु निकै स्वस्थकर हुन्छ ।’ राम्रा वस्तुको बजारीकरणको लागि लगनशिलता र मिहेनत आवश्यक रहेकोमा उनले जोड दिए ।
रोयल जुम्ला कोशेली अर्गानिक घरका सञ्चालक ऋतिक रोशन बुढाले अर्गानिक जिल्ला जुम्लामा उत्पादित वस्तुहरुको बजारीकरणको लागि कोहलपुरमा शाखा कार्यालय स्थापना गरिएको जानकारी दिए । उनका अनुसार देशभरका मुख्य सहरहरुमा कर्णालीको उत्पादन पुयाउने उद्देश्य छ । जुम्लामा प्रधान कार्यालय रहेको कोशेली अर्गानिक घरको सुर्खेतमा यस अघि शाखा विस्तार भईसकेको छ । कोहलपुर दोस्रो शाखा हो । छिट्टै काठमाडौँ र पोखरामा समेत शाखा विस्तारको तयारी भइरहेको उनले बताए ।
कोहलपुरमा कर्णालीमा उत्पादित ३८ प्रकारका वस्तुहरु पाईने सञ्चालक बुढाले जानकारी दिए । जुम्लामा उत्पादन हुने सिमी, कालीमार्सी चामल, फाँपरका परिकार, ओखर खरायोको टोपी राडीपाखी उपलब्ध रहेको बताईएको छ । यस्तै मुगुको ध्यु, मह र डोल्पामा उत्पादन हुने चियाका परिकार रहेको शाखा म्यानेजर बसन्ती सुनारले जानकारी दिईन् । उनका अनुसार अर्गानिक वस्तुहरुको विक्रि वितरण मात्रै नभई अर्गानिक घरले बेरोजगारीहरुलाई रोजगारी समेत प्रदान गर्नेछ ।








प्रतिक्रिया दिनुहोस्