रिहा नगरे आन्दोलन गर्ने तरुण दलको चेतावनी



कोहलपुर ।

नेपाल तरुण दलले नेपालगञ्ज नगर सभापती सन्दीपजंग शाहको साथबाट बरामद भएको भनिएको हतियार प्रहरीकै भएको दाबी गरेको छ । प्रहरीले झुठा बहाना बनाएर शाहलाई फसाउन खोजेको तरुण दलको आरोप लगाएको छ । नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले शुक्रबार एक विज्ञप्ति निकालेर सन्दीपजंग शाहको साथबाट बरामद भएको भनिएको हतियारको फिङ्ग प्रिन्ट जाँच गर्न माग गरेका छन् । उनले सन्दीपको पक्राउलाई ‘झुठा बहाना बनाइ फसाउने, सामाजिक आतंक सृजना गर्ने र लोकतन्त्रवादी तरुणहरुलाई दुःख दिने नियत’ भनेका छन् ।

विज्ञप्तिमा लेखिएको छ, ‘निर्दोष तरुण नेतालाई पक्राउ गरी फसाउन झुठा प्रपन्च रच्ने षडयन्त्रकारी प्रहरीहरुलाई हदैसम्मको कारबाही गर्न, बरामद गरिएको भनिएको हतियारमा फिङ्गर प्रिन्ट तत्काल जाँच गरी सत्यतथ्य बाहिर ल्याउन नेपाल तरुण दल जोडदार माग गर्दछ ।’ नेपालगञ्ज उपमहानगरपालिका १३ निवासी सन्दीपसहित दिनेशकुमार शाही, राघव शाह, पृतम थापा, माधव नेपाली र यामबहादुर बुढामगरलाई बिहीबार राति साढे आठ बजे लोड गरिएको आधुनिक पेस्तोलसहित कोहलपुर प्रहरीले पक्राउ गरेको थियो ।

निर्माण व्यवसायीसमेत रहेका शाह नेपाल तरुण दल नेपालगञ्ज नगरका अध्यक्ष हुन् । यसैबिच शुक्रबार नै नेपाल तरुण दल बाँकेले समेत एक विज्ञप्ति जारी गरेर पक्राउ परेकाहरुलाई बिना शर्त रिहा गर्न माग गरेको छ । तरुण दल बाँकेका अध्यक्ष बिरेन्द्र बहादुर शाह र सचिव बिनोद रिजालद्धारा जारी गरीएको विज्ञप्तीमा घटना योजनावद्ध रुपमा घटाईएको उल्लेख गरिएको छ । वली सरकारको निर्देशनमा काँग्रेस निकट युवाहरुलाई फसाउने क्रम बढेको दाबी विज्ञप्तीमा गरिएको छ ।

विज्ञप्तीमा उख्लेख गरिएको छ, ‘अहिले देशभर नेपाली काँग्रेसका युवाहरुलाई विभिन्न झुठा आरोप तथा षडयन्त्र मुलक तरीकाले फसाउनु सरकारको लज्जास्पद हार हो ।’ नगर सभापती शाह सहितका युवाहरुलाई बिनासर्त रिहा गर्न माग गर्दै विज्ञप्तीमा भनिएको छ, ‘तरुण दलका नगर सभापती संदिपजंग शाह लगायत सम्पूर्ण कार्यकर्ताहरुलाई बिनासर्त रिहाईको जोडदार माग गर्दछौं । अन्यथा यसै विज्ञप्ती मार्फत थप आन्दोलनका कार्यक्रम गर्ने चेतावनी सहित जानकारी गराईन्छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ कात्तिक १६ गते शनिबार