सुदीप अधिकारी । बर्दिया ।
जिल्लाको गेरुवा गाउँपालिकामा असन्तुष्ट जनप्रतिनिधीहरुले आइतबार तालाबन्दी गरेका छन् । असन्तुष्ट जनप्रतिनिधीहरुले विशेष गाउँपालिकाको माग राख्दै तालाबन्दी गरेका हुन् । गाउँपालिकाका वडाध्यक्ष र सदस्यहरुले संयुक्तरुपमा प्रेस विज्ञप्ती जारी गर्दै गाउँपालिकामा तालाबन्दी गरेको जनाएको छन् । गाउँपालिकाका वडा नं १, ४ र ६ नम्बर वडाका वडाध्यक्ष र गाउँपालिकाका १२ वडा सदस्यहरुले सयुक्त विज्ञप्ती जारी गरि ५ र ६ गते विरोधस्वरुप गाउँपालिकामा तालाबन्दी गरिएको जनाएका हुन् ।
उनीहरुले गाउँपालिका कार्यकारी अधिकृत र शिक्षा शाखामा तालाबन्दी गरेका छन् । चालू आर्थिक वर्ष २०७६÷०७७ को निती तथा कार्यक्रम र बजेट झुक्याएर पास गरिएको, गाउँपालिकाको शिक्षा कार्यविधि थाहा नदिएरै निर्माण गरि पास गरिएको, अन्य निर्णयहरु छलफल नै नगरि पास गराएको उनीहरुले आरोप लगाएका छन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलगाएत अन्य कर्मचारीको सेवासुविधा अनावश्यकरुपमा थप गरिएको, गाउँपालिकाले शिक्षक नियुक्ति गर्दा अनावश्यक शिक्षक र विषय थप गरि शिक्षक विज्ञापन गरिएको भन्दै यसको विरोधस्वरुप तालाबन्दी गरिएको विज्ञप्तीमा जनाइएको छ ।
जनप्रतिनिधीहरुले आुफसँग कुनै करै तथा सल्लाह नगरेरै एक्कासी गाउँपालिकामा तालाबन्दी गरेको गेरुवा गाउँपालिकामा अध्यक्ष जमानसिंह केसीले बताए । गाउँसभाले जनताको इच्छा र चाहना विपरित कुनै पनि कार्य नगरेको अध्यक्ष केसीले बताए ।









प्रतिक्रिया दिनुहोस्