सामुहिक गाई गोरु मृत्यु प्रकरण, व्यवस्थापन गर्न खोज्दा दुर्घटना भयो : मेयर राणा



नेपालगञ्ज ।

गत बिहीबार राती सुर्र्खेतमा मृत भेटिएका गाई गोरुको बारेमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शमसेर राणाले मुख खोलेका छन् । उपमहानगरपालिकाले दैलेख पठाएका गाई गोरुहरु सुर्खेतका विभिन्न स्थानमा मृत अवस्थामा फेला परेपछि नगर प्रमुख राणाको आलोचना हुँदै आएको थियो । उनले छाडा पशु चौपायाको व्यवस्थापन गर्न खोज्दा दुर्घटना हुँदा उक्त घटना हुन पुगेको बताएका छन् ।

मंगलबार पत्रकारहरुसँग कुरा गर्र्दै नगर प्रमुख राणाले व्यवस्थापनका लागि धेरै काम गर्दागर्दै यो दुर्घटना हुन गएको बताए । ‘छाडा पशु चौपायाको व्यवस्थापनका लागि धेरै काम गर्दागर्दै आज यो दुर्घटना हुन पुग्यो’ उनले भने, ‘राम्रो होस् भनेर गरेको काममा यस्तो नतिजा आयो । अहिले नेपालगञ्जको यो बिषयले देशभर प्राथमिकता पाएको छ ।
यसको समाधान कसरी गर्ने भन्ने बिषयमा तपाईबाट सल्लाह सुझाव आवश्यक छ ।’ नगर प्रमुख राणाले नगरका छाडा पशु चौपाया नियन्त्रणको लागि धेरै प्रयास गर्दा समेत सफल हुन नसकेको दाबी गरे । ‘यहाँका छाडा पशु चौपाया नियन्त्रण गर्नको लागि धेरै उपायाहरु अगाडि बढायौं’ उनले भने, ‘जती उपाया लगाउँदा पनी अझैसम्म सफल हुन सकिएको छैन ।’
‘यहाँका नागरिकहरुको सहयोग समेत लिएर गाई व्यवस्थापनमा काम गरेकै थियौं ।’ नगर प्रमुख राणाले भने, ‘एक्लो प्रयासमा नसकिने रहेछ ।’ बर्दियाको बाँसगढी नगरपालिका लगायतले पहाडी जिल्लामा गाई पठाएको थाहा पाएपछि आफुहरुले पनि गाई दैलेख पठाएको प्रस्ट पारे । ‘कार्यकारी प्रमुखले पत्र लेख्नुभयो ।

सम्बन्धित ठाउँमा कुरा गर्नुभयो । हाम्रो नगर प्रहरी निरीक्षककै अगुवाईमा गाई पठाइएको हो ।’ ‘त्यसै पनि बिरामी गाई । कान्जीहाउसमा बसेका । यहाँबाट ट्रकमा लैजादा त्यही भित्र मरे छन् । गाई मरेको देखेपछि आत्तिए जंगलमै छाडे  छन् ।’ नगर प्रमुख राणाले भने । उनले गौहत्या नभई दुर्घटना भएको भन्दै खण्डन गरे । गाई भिरबाट नखसालेको स्पष्ट पार्दै उनले भने, गाई मरेपछि आत्तिएर छाडेको रहेछन् । ‘यस बाहेक भिरबाट खसालेर मारेको शतप्रतिशत गलत हो’ नगर प्रमुख राणाले भने, ‘यो सोंच्न नसकिने कुरा कहाँबाट आयो ? बुझ्न सकिएन ।’ प्रदेश ५ सरकारलाई छाडा चौपाया नियन्त्रणका लागि आग्रह गरेपनी कुनै सहयोग प्रदेश सरकारले नगरेको उनले बताए ।

‘स्थानिय सरकार भन्दा माथिल्लो सरकार प्रदेश सरकार भएकोले छाडा पशु चौपायाको समस्या लिएर मन्त्रालय पुगेका थियौं’ उनले भने, ‘मुख्यमन्त्रीले यो बिषयमा म केही गर्न सक्दिन र केही गर्दिन भन्नुभयो ।’ नगर प्रमुख राणाले यो समस्या समाधानका लागि सामुदायिक वनमा पनि पशु लगेर छोड्ने प्रयास गरेको तर बन कार्यालयले त्यसको अनुमती नदिएको दाबी गरे । गाई गोरु मृत भेटिएको बारे छानविन गर्न उपमहानगरपालिका, गृह मन्त्रालय र कर्णाली प्रदेश प्रहरीले छानविन समिती समेत गठन गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले पाँच ट्रक र ७ चालक तथा सहचालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ भदौ १८ गते बुधबार