‘बिरमी–चन्द्र अक्षयकोष’बाट दुई छात्रा पुरस्कृत



नेपालगन्ज ।
‘बिरमी–चन्द्र अक्षयकोष’ बाट दुई जना छात्रा पुरस्कृत भएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ तथा प्रदेश नम्बर ५ की सांसद कृष्णा केसी ‘नमुना’ले आफ्ना स्वर्गीय बुबा आमाको नाममा स्थापना गरेको ‘बिरमी–चन्द्र अक्षयकोष’ बाट दुई जना छात्रालाई पुरस्कार प्रदान गरिएको हो । शुक्रबार एक कार्यक्रमका बिच ‘बिरमी–चन्द्र अक्षयकोष’ बाट राप्तीसोनारी गाउँपालिका ९ ढकेरीमा रहेको गणेश माध्यामिक विद्यालयमा अध्ययनरत दुई जना छात्रालाई पुरस्कार प्रदान गरिएको थियो ।

विद्यालयको ५५ औं वार्षिक उत्सव एवं अभिभावक भेलाको अवसरमा कक्षा ११ मा अध्ययनरत जेहेन्दार छात्राहरु लक्ष्मी खत्री र चेतना ओलीलाई जनही तीन तीन हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो । दुवै जनालाई प्रदेश सांसद नमुनाले पुरस्कार प्रदान गरेकी थिइन । स्वर्गीय आमा बिरमी खत्री र बुवा चन्द्र बहादुर खत्रीको नामबाट गत वर्ष आफुले पढेको उक्त बिद्यालयमा १ लाख ११ हजार १ सय १५ रुपैयाँको अक्षयकोष स्थापना उनले गरेकी थिईन ।

गरिब तथा जेहेन्दार बिद्यार्थीको सहयोगका लागि अक्षय कोष स्थापना गरिएको सांसद नमुनाले जानकारी दिइन् । सांसद केसीले आफ्ना स्व.आमा बुवाको नामबाट ‘बिरमी–चन्द्र ग्रामिण पत्रकारीता पुरस्कार’ को पत्रकारिता अक्षयकोष समेत स्थापना गरेकी छन् । उक्त पुरस्कारबाट अन्नपुर्ण दैनिकमा कार्यरत शंकर प्रसाद खनाल र काँचुली खबरका गजेन्द्र गुरुङ पुरुस्कृत भइसकेका छन् । सांसद नमुनाले आफ्ना बुवा आमाको नाममा स्थापना गरिएका दुवै अक्षय कोषको रकम आगामी दिनका बढाउदै लैजाने बताइन् ।

गणेश मावि ढकेरीमा आयोजित बिद्यालयको वार्षिक उत्सव कार्यक्रमको अध्यक्षता बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनबहादुर ओलीले गरेका थिए भने वडा नम्बर ९ का वडा अध्यक्ष महाबिर ओली, राजनीतिक दलका अगुवा तथा समाजसेवीलगायतको सहभागिता रहेको बताइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ वैशाख १ गते आइतबार