नरैनापुर (बाँके)/ नरैनापुर गाउँपालिकाले आर्थिक वर्ष ०७५/७६ को बजेट तथा कार्यक्रम पारित गरेको छ ।
गाउँपालिकाको सोमबार बसेको दोस्रो गाउँसभाले बजेट तथा कार्यकम पारित गरेको हो । गत असार १० गते प्रस्तुत नीति तथा कार्यक्रममा आधारित रहेर बजेट पारित गरिएको प्रमुख प्रशासकीय अधिकृत दल बहादुर बस्नेतले बताए ।
गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले प्रस्तुत गरेको रु ४० करोड ४ लाख ३१ हजार आय र ४२ करोड ४ लाख ३१ हजार व्ययको बजेट गाउँसभाले पारित गरेको हो ।
आयको तुलनामा २ करोड बढी व्यय भई न्यून भएको रकम संघीय सरकार र प्रदेश सरकारसँग माग गरी तथा आन्तरिक स्रोत परिचालन क्षमतामा अभिवृद्घि गरी पूर्ति गरिने बजेट बक्तव्यमा उल्लेख छ ।
पूर्वाधार विकास, गरिबी न्यूनीकरण, शिक्षा, स्वास्थ तथा सरसफाई, कृषिको आधुनिकीकरण, विविधिकरण, व्यवसायीकरण, उत्पादन र उत्पादकत्व वृद्धि, वातावरण संरक्षण, मौलिक संस्कृतिको संरक्षण, सामाजिक सुरक्षा तथा लक्षित कार्यक्रम, सार्वजनिक प्रशासन र सेवा प्रवाहमा सुधारलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको छ ।
पूर्वाधारमा कुल बजेटको २६ प्रतिशत अर्थात् ११ करोड रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै सौर्य उर्जाका लागि ३ करोड, स्वास्थ्यमा ८२ लाख, कृषि र पशुका लागि ६२ लाख, विद्यालयको भौतिक सुधारका लागि १ करोड २० लाख, लैंगिक समानता तथा समावेशीकरणका लागि रु १ करोड रुपैयाँ विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत बस्नेतले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्