जिल्ला युवा समितिद्वारा युवा प्रतिभा पुरस्कार प्रदान



कोहलपुर/  राष्ट्रिय युवा परिषद अन्र्तगत रहेको जिल्ला युवा समिति बाँकेले युवाका क्षेत्रमा काम गर्ने बिभिन्न संघ–संस्था तथा व्यक्तिहरुलाई सम्मान प्रदान गरेको छ । नेपालगञ्जमा आयोजित एक कार्यक्रमबीच उक्त सम्मान प्रदान गरिएको हो ।

जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीबास्तवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा युवा प्रतिभा सम्मान पुरस्कार भ्रष्टाचार विरुद्ध विगत १७ वर्षदेखि क्रियाशिल बास नेपालगन्जलाई प्रदान गरिएको छ । बासलाई नविनतम तथा सृजनशिल कार्य विद्यामा सम्मान प्रदान गरिएको हो ।

पत्रकार राकेश मिश्रालाई प्रविधि, सञ्चारका क्षेत्रबाट र साहित्य विद्याबाट मो. असफाक जसगढलाई युवा प्रतिभा पुरस्कार प्रदान गरिएको हो ।

यसैगरी युवा उद्यमी प्रोत्साहन सम्मान नेपालगन्ज वडा नम्वर १९ की अमृता चौधरी, वडा नम्बर १८ की उमा वर्मा र बैजनाथ गाउँपालिका– ८ स्थित टिटिहिरिया बाख्रापालन समूहलाई प्रदान गरिएको छ ।

सम्मानति हुनेहरुलाई जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तव र बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले सम्मानपत्र र नगद पुरस्कार प्रदान गरेका थिए ।

कार्यक्रममा जिल्ला युवा समितिका कार्यालय प्रमुख रामसुरेश यादवले कार्यक्रमको उद्देश्य माथि प्रकाश पारेका थिए ।

 

  • No tags available
प्रकाशित मिति : २०७५ असार ३१ गते आइतबार