विपद जोखिम न्युनीकरणका लागि विद्यालयमा सचेतना



कोहलपुर/  जिल्लामै सबैभन्दा बढि बाढी आउने, आगलागी हुने तथा भुकम्प जस्ता विपद्को अत्याधिक जोखिममा रहेको राप्तीसोनारी गाउँपालिकाका विभिन्न विद्यालयका बालबालिका, अभिभावक र शिक्षकहरुलाई विपद् जोखिम न्युनीकरणबारे सचेतनामूलक अभियान संचालन गरिएको छ ।

राप्तीसोनारी गाउँपालिकाका संभावित जोखिममा रहेका विभिन्न विद्यालयका बालबालिकालाई आगलागी, भूकम्प र बाढी आएको बेला कसरी जोगिने र अरुलाई पनि जोगाउने भन्ने तालिम दिने उद्देश्यका साथ कृतिम घटना अभ्यास गराएर उनीहरुलाई सचेत बनाउने कार्य भइरहेको छ ।

सो क्रममा राप्तीसोनारी–६ स्थित नेपाल राष्टिय आधारभूत विद्यालय गुलरी र सुकमैया प्राथमिक विद्यालय कमैयाडाँडामा अध्ययनरत बालबालिकालाई आगलागि र भूकम्पको कृतिक घट्ना अभ्यास गराएर सचेत पार्ने कार्य गरिएको हो ।

सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा बाँके युनेस्को क्लबद्धारा संचालन गरिएको बाढी प्रभावित बालबालिकाहरुका लागि शिक्षा पुनस्र्थापना कार्यक्रम अन्तर्गत कृतिम घट्ना अभ्यास गराएर सो सचेतना अभियान संचालन गरिएको हो ।

सो अभियानबाट विद्यालयमा अध्ययनरत सयौं बालबालिका, उनका अभिभावक र शिक्षकहरु सचेत हुनुका साथै त्यस्तो समय आएमा कसरी जोगिने र जोगाउने भन्ने तरिका उनीहरुले सिकेको बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकीले बताए ।

यसैक्रममा राप्तीसोनारी–६, गुलरीस्थित नेपाल राष्टिय आधारभुत विद्यालयमा आगलागीका बारेमा कृतिम घटना अभ्यास गरिएको थियो । आगलागी मान्छेकै कमजोरीले लाग्ने, त्यसलाई रोक्न तथा कथमकदाचित आगो लागि हाले सो बाट बच्ने उपायका बारेमा नाटक गरेर देखाइएको थियो ।

विद्यालयमा आगलागी भयो भने कसरी बाँच्ने, आगो लाग्न नदिन के–के गर्ने, आगलागी हुँदा हुने नोक्सानीका बारेमा विद्यार्थी र स्थानीयवासीलाई राखेर कृतिम घटना अभ्यास गरिएको थियो ।

सोही प्रकारले राप्तीसोनारी–६, कमैयाडाँडास्थित सुकमैया प्राथमिक विद्यालयमा भूकम्प आएमा कसरी जोगिने अनि कसरी बाहिर निस्कने तथा कोही घाइते भएमा कसरी उपचार गर्ने गराउने बारेमा कृतिम घट्ना अभ्यास गराइएको थियो ।

दुबै विद्यालयमा संचालन गरिएको कृतिम घट्ना अभ्यासमा बालबालिका, अभिभावक र शिक्षक गरेर करिब ४ सय ५० बढीको सहभागिता रहेको थियो ।

विद्यालयमा पहिलो पटक गरिएको उक्त अभ्यासबाट बालबालिकाले धेरै कुरा सिक्ने अवसर पाएको र सो अभ्यास तथा कार्यक्रम निकै उपलब्धीमूलक रहेको राप्तीसोनारी–६, कमैयाडाँडास्थित सुकमैया प्राथमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष पूर्ण बहादुर पुनले बताए ।

यस्तो कृतिम अभ्यास र सचेतनामूलक अभियानले विद्यार्थी र अभिभावकलाई विपदबाट जोगिन ठुलो सहयोग पुग्ने राप्तीसोनारी गाउँपालिकाका प्रमुख लाहुराम थारुले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७५ असार २४ गते आइतबार