विपन्न दलित परिवारलाई बाख्रा उपहार



कोहलपुर/  बाँकेको बैजनाथ गाउँपालिका स्तरिय दलित संञ्जालले विपन्न दलित वर्गलाई बाख्रा उपहार कार्यक्रमलाई तिव्रता दिएको छ ।

संजालले आईतबार बैजनाथ गाउँपालिकाको वडा नं ३ बैरहवाका १२ घर विपन्न दलितहरुलाई बाख्रा उपहार प्रदान गरेको छ । बाख्रा उपहार कार्यक्रममा बोल्दै वडा नं ३ का वडाध्यक्ष राम चरण थारुले संञ्जालले गरेको काम निकै राम्रो र उदाहरणीय भएका कारण आगामी वर्षमा थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

आय आजर्न सुधार समितिका संयोजक दिल विश्वकर्माले गाउँपालिका भित्रका सबै विपन्न वर्गका दलितहरुलाई बाख्रा वितरण गर्ने र यसका कार्यक्रमले उनीहरुको आयआर्जनमा सुधार आउने विश्वास व्यक्त गरे ।

संजालकी कोषाध्यक्ष सम्झना परियारले यस अघि वडा नं १ मा २० वटा वडा नं २ मा १३ वटा बाख्रा उपहार प्रदान गरिसकेको बताईन् । बैजनाथ गाउँपालिका स्तरिय दलित संञ्जालकी अध्यक्ष खगीसरा सुनारको सभापतित्वमा भएको कार्यक्रममा वडा नं ३ का वडा सदस्य भागीराम थारु, दलित महिला सदस्य कृष्णा सार्की लगायतको उपस्थिती रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७५ असार ४ गते सोमबार