उपभोक्ता समितिको कार्यालयमा तालाबन्दी



कोहलपुर,१ असार/   बाँके राष्ट्रिय निकुञ्जको ढकेरी मध्यवर्ती उपभोक्ता समितिको कार्यालयमा बिहिबार नेकपाका कार्यकर्ताहरुले तालाबन्दी गरेका छन्।

वडामा योजना निमार्णका गर्नका लागि ढुङ्गा तथा बालुवा निकासी गर्न उपभोक्ता समितिलाई पटक पटक आग्रह गर्दा पनि समितिले निकुञ्जलाई सिफारिस नगरेको भन्दै तालाबन्दी गरिएको नेकपाका दल बहादुर खड्काले बताए ।

आफूहरुले समितिलाई सिफारिस गर्न पटक पटक अनुरोध गरेतापनि समितिका अध्यक्ष तथा कर्मचारीले नमानेको र मोवाईल स्वीच अफ गरेर सम्पर्कमा नआएकोले बाध्य भएर तालाबन्दी गर्नु परेको खड्काको भनाई छ ।

साथै उनीहरुले समितिले रोयल्टीमा वृद्धि गरेको संस्थाको आयव्यय सार्वजनिक नगरेको वडामा निमार्ण गरिने योजनाहरुको ढुङ्गा तथा बालुवा निकासीका लागि निकुञ्जलाई समयमा सिफारिस नगरेको समेत आरोप लगाएका छन् ।

बिहीबार दिउँसो ३ बजे नेकपाका दल बहादुर खड्का र दशरथ वलीको अगुवाईमा २२÷२३ जना सहितको समुहले तालाबन्दी गरेको थियो । यता राप्तीसोनारी गाउँपालिका वडा नं. ९ ढकेरीका अध्यक्ष महाविर वलीले तुरुन्तै तालाबन्दी गर्नु भन्दा दुवै पक्षले छलफल गरेर गएको भए समस्या समाधान हुन सक्ने बताए । यसबारे बुझ्न खोज्दा ढकेरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष शिव कुमार रानासँग सम्पर्क हुन सकेन ।

  • No tags available
प्रकाशित मिति : २०७५ असार १ गते शुक्रबार